ताजा अपडेट »

अर्थमन्त्री पौडेल भन्छन् : गौतमबुद्ध विमानस्थल ‘राम्रोसँग चल्छ, धेरै राम्रोसँग चल्छ’

आइतबार, ०२ मंसिर २०८१, ०८ : ५४
138 Shares
आइतबार, ०२ मंसिर २०८१
138 Shares

बुटवल । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन हुने बताएका छन् । सरकारको पछिल्लो निर्णय आंशिकरूपमा कार्यान्वयन हुँदा अन्तर्राष्ट्रि उडान नियमित हुन थालेको बताउँदै उनले भएका निर्णयहरु पूर्ण रुपमा कार्यान्वयन भएको अवस्थामा विमानस्थल पनि पूर्ण क्षमतामा सञ्चालन हुने दाबी गरेका छन् । 

सामाजिक सञ्जाल फेसबुकमा तस्विर सार्वजनिक गर्दै पौडेलले कतिपयले 'बनाउनु हुँदैन, चल्दैन' भनेको विमानस्थल चल्न थालेको उल्लेख गरेका छन् । अनेकन अबरोध छिचोल्दै विमानस्थल निर्माण भएको र हाल सञ्चालनमा आएको उल्लेख गर्दै उनले यसको उज्जवल भविष्यका लागि सबैबाट सकारात्मक प्रस्तुति र सहयोगको समेत अपेक्षा व्यक्त गरेका छन् । रुपन्देही क्षेत्र नम्बर २ बाट संघीय निर्वाचनमा पटक-पटक निर्वाचित हुँदै आएका पौडेलले रुपन्देहीलाई बिकासको रोलमोडलको रुपमा परिचित गराउने योजना रहेको बताउने गर्छन् । भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल, बुटवलमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र तथा प्रदर्शनीस्थल, सिद्धबाबा सुरुङमार्ग, बेलबास बेथरी सडक बिस्तार, तिनाउ-दानव कोरिडोर तथा कालीगण्डकी-तिनाउ डाइभर्सन लगायतका योजनाहरु उनले ड्रिम प्रोजेक्ट बताउँदै आएका छन् । उनले उल्लेख गरेका ड्रिम प्रोजेक्टहरु केही पूरा भएका छन् भने केही निर्माणाधिन तथा केही योजनाहरु निर्माणको प्रक्रियामा अघि बढेका छन् ।  

अर्थमन्त्री पौडेलले लेखेका छन् :
‘गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, सिद्धार्थनगर ! 
कतिपयले बनाउन हुँदैन भन्थे, बनाउने निर्णय भयो । 
बन्दैन भन्थे, ढिलो भए पनि बन्यो । 
चल्दैन भन्थे, चल्न थालेको छ । 
अझै भन्दैछन्, राम्रोसँग चल्दैन । 
म भन्छु, चल्छ, राम्रोसँग चल्छ, धेरै राम्रोसँग चल्छ । 
जसरी अनेक अबरोध छिचोल्दै बन्यो, त्यसैगरी बाधा पन्छाउँदै चल्छ । 
यस विमानस्थल सञ्चालन गर्ने नेपाल सरकारको पछिल्लो निर्णय आंशिकरूपमा कार्यान्वयन हुँदा यस रूपमा चलेको छ, उक्त निर्णय पूर्णरूपमा कार्यान्वयन हुँदा पूर्ण क्षमतामा चल्छ। 
यस विमानस्थलको उज्जवल
भविष्य देख्न चाहने सबैबाट सकारात्मक प्रस्तुति र सहयोग भने अपेक्षित छ ।

त्रिभुवन विमानस्थलमा उडान कटौती भएपछि स्वदेशी तथा विदेशी अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले भैरहवालाई वैकल्पिक विमानस्थल बनाउन थालेका छन् । भैरहवा विमानस्थलबाट ४ वटा विमान कम्पनीले हाल सातामा १७ वटा उडान गर्दै आएका छन् । क्षमता विस्तारका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा ९राति १० बजेदेखि बिहान ८ बजेसम्म० बन्द हुने भएपछि अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरू भैरहवा उडान गर्न तयार भएका हुन् । यसअघि त्रिभुवन विमानस्थलमा दैनिक २१ घण्टा उडान हुने गरेकोमा २३ कात्तिकदेखि १४ घण्टामा सीमित भएको छ । जसले गर्दा अन्तर्राष्ट्रिय उडान ३० प्रतिशत र आन्तरिक उडान ३५ प्रतिशत कटौती भएका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।