ताजा अपडेट »

अन्नपूर्ण आधार शिविर र पदमार्गमा गरियो सरसफाइ

शनिबार, ०१ मंसिर २०८१, ११ : ११
36 Shares
शनिबार, ०१ मंसिर २०८१
36 Shares

म्याग्दी । अन्नपूूर्ण गाउँपालिका–४ मा रहेको मौरिस हर्जोग पदमार्ग र संसारको दशौँ अग्लो अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा सरसफाइ गरिएको छ ।

अन्नपूर्ण गाउँपालिका–५ शिखको न्यू कान्छी बाराही युवा क्लबका नौ जना र वडा नम्बर–४ गाडपारको जनगारण युवा क्लबका १२ जनाको टोलीले आधार शिविर र नारच्याङको हुुमखोलादेखि त्यहाँसम्म पुग्ने पदमार्गमा पर्यटकले फालेको फोहर व्यवस्थापन गरेका हुन् ।

कुहिने फोहरलाई खाडल खनेर गाड्ने र नकुहिने फोहरलाई सङ्कलन गरी केही तल ल्याएर व्यवस्थापन गरिएको कार्यक्रमको अगुवाइ गरेका एसई प्रोडक्सनका सञ्चालक सुरेन गुरुङले जानकारी दिए । गत कात्तिक २७ गते आधार शिविर पुगेको टोलीले सङ्कलन गरेर ल्याएको तीन बोरा सिसाजन्य फोहर शुक्रबार गाउँपालिकामा बुझाएको थियो ।

मौरिस हर्जोग पदमार्गको हुमखोला, फुतफुते झरना र आधार शिविरमा जानकारी दिने सूचना बोर्ड राखिएको छ । सरसफाइ र सूचना बोर्ड राख्न अन्नपूर्ण गाउँपालिका–७ घराम्दी घर भइ हाल बेलायतमा रहेका धनकुमार पाइजाले रु एक लाखभन्दा बढी सहयोग गरेका छन् ।

“पदमार्ग र आधार शिविरमा प्लास्टिक, कागज, कपडा, स्टिल र सिसाले फोहर भएको थियो”, उनले भने, “यहाँको सुन्दरतालाई असर पर्न नदिन कुहिने फोहरलाई खाडलमा गाड्ने र नकुहिनेलाई बोकेर तल झारेका छौँ ।”

रेखा मेमोरियल ट्रष्टको सहयोगमा फुतफुते झरना र आधार शिविरमा दुई थान डस्टबिन पनि राखिएको गुरुङले जानकारी दिए । यसअघि पाइजाको सहयोगमा घराम्दीको पेरीभारानी युवा क्लबको १९ जनाको टोलीले गत असोजको तेस्रो साता र अन्नपूर्ण गाउँपालिका–४ नारच्याङका वडासदस्य श्याम पुर्जाको अगुवाइमा कात्तिक पहिलो हप्ता सरसफाइ गरिएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।