ताजा अपडेट »

एनपिएलका लागि पोखराले छान्यो पहिलो आइकनिक प्लेयर

शनिबार, ०१ मंसिर २०८१, ०८ : २१
130 Shares
शनिबार, ०१ मंसिर २०८१
130 Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को सबैभन्दा महंगो टिम पोखरा एभेन्जर्सले ट्यालेन्ट हन्टमार्फत आइकनिक खेलाडी छनौट गरेको छ । 

गण्डकी प्रदेशका लागि भएको ट्यालेन्ट हन्टमा नवलपुरका सुदिप अर्याल आइकनिक खेलाडी छनौट भएका हुन् । अलराउन्डर रहेका अर्याल ट्यालेन्ट हन्टबाट छनौट भएर एनपीएल खेल्न पाउने पहिलो आइकनिक प्लेयर बनेका छन् । पोखरा एभेन्जर्सका अध्यक्ष सुबोध त्रिपाठीका अनुसार टिमले गण्डकी हिरोज टिमका लागि उत्कृष्ट पाँच खेलाडी छनौट गरेको छ । जसमध्ये उत्कृष्ट हुँदै आइकनिक खेलाडी बनेका अर्यालले एनपिएल खेल्ने अवसर पाएका हुन् । 

अर्यालसँगै स्याङ्जाका सन्दिप खत्री, कास्कीका कृष्ण पौडेल र सोहेल कुँवर र तनहुँका सन्दिप पराजुली गण्डकी हिरोजका रुपमा छनौट भएका छन् । ‘स्थानीय क्रिकेट र युवा खेलाडीको विकासका लागि हामीले गण्डकी हिरोजको अवधारणा अघि सारेका हौँ। । पोखरा एभेन्जर्स अन्तर्गत रहने गण्डकी हिरोजले स्थानीयसँगै प्रदेश स्तरबाट विभिन्न प्रतियोगितामा वर्षभरीनै प्रशिक्षण र प्रतिष्पर्धामा सहभागी हुनेछ,’ अध्यक्ष त्रिपाठीले भने ।

पोखरा एभेन्जर्सका प्रबन्ध निर्देशक मनोबल श्रेष्ठ घरेलु क्रिकेटको विकासका लागि गण्डकी हिरोजको अवधारणले टेवा पु¥याउने बताउँछन् । ‘गण्डकी हिरोजका रुपमा छनौट भएका खेलाडीलाई हामी प्रशिक्षित गर्दै स्थानिय खेलाडीको स्तर वृद्धिमा जोड दिनेछौँ,’ श्रेष्ठले भने ।
आगामी मंसिर १५देखि पुस ६ सम्म काठमाडौंमा आयोजना हुन गइरहेको एनपीएलमा पोखराका लागि नेपाली राष्ट्रिय टोलीका ओपनर कुशल भुर्तेल मार्की छन् । 

टिमका सल्लाहकार एवम् परामर्शदाताका रुपमा दक्षिण अफ्रिाकाका लेजेन्ड खेलाडी जोन्टी रोड्स अनुबन्ध भइसकेका छन् । त्यस्तै चेन्नई सुपरकिंग्सका ब्याटिङ र फिल्डिङ प्रशिक्षक रहेका राजिव कुमार मुख्य प्रशिक्षकका रुपमा अनुबन्ध भइसकेका छन् ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।