ताजा अपडेट »
पत्रकार हत्या प्रकरण

केलालीका पत्रकार भुलको हत्यामा संलग्नलाई कारबाहीकाे माग

शुक्रबार, ३० कार्तिक २०८१, ०५ : ५३
40 Shares
शुक्रबार, ३० कार्तिक २०८१
40 Shares

कैलाली । कैलालीमा बाख्राकाे निहुमा कुटपिटबाट हत्या गरिएका ३० वर्षीय सुरेश भुलको घटनामा संलग्नलाई कारबाहीको माग गरिएको छ । स्थानीय सुदूरपाटी अनलाइनमा काम गर्दै आएका गौरीगंगा–११, कान्तिपुर टोलका भुलको सामूहिक कुटपिटबाट हत्या भएको थियाे ।

नेपाल पत्रकार महासंघसहित विभिन्न संगठनले उक्त घटनामा संलग्नलाई कारबाहीको माग गरेका छन् ।  नेपाल पत्रकार महासंघ  कैलालीकाअध्यक्ष हिमाल जोशीले विज्ञप्ति जारी गर्दै दलित पत्रकार संघ कैलालीका सहसचिवसमेत रहेका भुलको हत्यामा संलग्नलाई तत्काल कारबाहीको दायरामा ल्याउन माग गरेका छन् । यस्तै, प्रेस चौतारी सुदूरपश्चिमका महासचिव शिवराज भट्टले पनि घटनाका दोषीलाई कारबाहीको मागसहित विज्ञप्ति जारी गरेका छन् ।

सूचनाको हकका लागि राष्ट्रिय महासंघ कैलालीका अध्यक्ष दीपक उपाध्यायले दोषीलाई तत्काल कारबाहीको दायरामा ल्याउन माग गरेका छन् । भुल सूचनाको हकका लागि राष्ट्रिय महासंघ कैलालीका सदस्य पनि थिए ।

उक्त कुटपिट प्रकरणमा संलग्न रहेकाे आराेपमा जिल्ला प्रहरी कार्यालय कैलालीले दुई महिलासहित सात जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गाैरीगंगा-११ की ३४ वर्षीया रमा रावल, ६५ वर्षीय जंग भुल, एक १८ वर्षीय किशोर, २३ वर्षीय विशाल विक, ३० वर्षीय धर्म विकसहित सात जनालाई पक्राउ गरिएको प्रहरीले जनाएकाे छ । 

यसरी भएको थियो घटना
यही कार्तिक २० गते गौरीगंगा नगरपालिका-११, कान्तिपुर टोलकी विष्ना भुलको बाख्रा हराएको थियो । प्रहरीका अनुसार बाख्रा हराएको तीन दिनपछि मृतक सुरेशले वडा कार्यालयको शौचालयनजिकै एउटा बाख्रा बसिरहेको देखे । वडा कार्यालयनजिकै सुरेशको मेडिकल थियो । उनले उक्त बाख्रा विष्नाको हुन सक्ने भन्दै मेडिकलनजिकै ल्याएर बाँधेका थिए । तर, उनले उक्त जानकारी विष्नालाई भने गराइसकेका थिएनन् । केही समयमा सुरेशको मेडिकलमा बाख्रा बाँधेको खबर विष्ना र उनका आफन्तले पाए । 

उनीहरू प्रहरी चौकी मसुरिया पुगे । प्रहरीमा खबर पुगेपछि सुरेशकी श्रीमती, आफन्त र बाख्रा मालिकका आफन्तबीच सुरेशले ३० हजार रकम र बाख्रा पनि दिने सहमति भयो । एसपी विष्टका अनुसार उक्त सहमति उनीहरूले प्रहरीको अनुपस्थितिमा गरेका थिए । ‘३० हजार रकम दिने सहमति भएको थियो भनेर अहिले हामीलाई जानकारी आएको छ,’ एसपी विष्टले भने, ‘तर, सुरेशले रकम दिएका रहेनछन् । सोही कारण २४ कात्तिकको साँझ उनीमाथि कुटपिट भएको हो भन्ने उनका आफन्तले बताएका छन् ।’

सुरेशका आफन्त करनका अनुसार बाख्रा चोरेको भन्दै मेडिकलमै आएर उनीमाथि मरणासन्न हुने गरी कुटपिट गरिएको थियो । कुटपिटबाट घाइते भएका भुलको सोमबार बिहान धनगढीस्थित निसर्ग अस्पतालमा मृत्यु भएको हो । सूचनाको हकका लागि राष्ट्रिय महासंघ कैलालीका अध्यक्ष दीपक उपाध्यायले भने बाख्रा चोरीको निहुँ मात्रै भएको र सुरेशको हत्या अन्य कारणले नै गरिएको बताउछन् ।

कुटपिटपछि अस्पताल भर्ना भएका सुरेशले साथीहरूसँग ह्वाटसप म्यासेजमा आफूमाथि वडाअध्यक्ष तथा प्रहरीस हितको मिलेमतोमा अन्याय भएको बताएका थिए ।  ‘भोलि जिल्ला अदालतमा मुद्दा दिन्छु’ भनेका सुरेश भोलि देख्न नपाउँदै अस्ताए ।

conversation-ss

‘सुरेश गौरीगंगा नगरपालिका, त्यहाँका वडा कार्यालय, सामुदायिक वनलगायतलाई पटक-पटक सूचना माग गर्दै आएका थिए,’ उपाध्यायले भने, ‘तर, सूचना नदिएको गुनासो सुरेशले गर्थे । पटक-पटक विभिन्न व्यक्तिले धम्की दिएको पनि बताउने गरेका थिए । अहिले बाख्रा चोरीको निहुँ मात्रै बनाइएको हो ।’ सुरेशले केही दिनअघि लिखित रूपमा सूचना माग्दा पनि गौरीगंगा नगरपालिकाले नदिएको र जनप्रतिनिधिबाटै धम्की आएको फेसबुकमा स्टाटस पनि लेखेका  िथए। 

यस हत्या प्रकरणमा नेपाल पत्रकार महासंघ केन्द्रले पनि उछानबिनको लागि मिसन टोली खटाएको छ । केन्द्रीय सचिव हेमकर्ण विकको संयोजकत्वमा खटिएको मिसन टोलीले १५ दिनभित्र घटनाको सत्य तथ्यसहितको प्रतिवेदन पेश गर्नेछ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।