ताजा अपडेट »

सत्यवती मेलाको आज मुख्य दिन : १ लाख बढी भक्तजन भित्रिने अनुमान

विहीबार, २९ कार्तिक २०८१, १० : ०३
428 Shares
विहीबार, २९ कार्तिक २०८१
428 Shares

बुटवल । पाल्पाको तिनाउ गाउँपालिका-४ सत्यवती ताल तथा मन्दीरमा जारी सत्यवती मेलाको आज मुख्य दिन दर्शालु तथा भक्तजनको घुइचो लागेको छ । कार्तिक शुक्ल पूर्णिमाको अवसर मनाइने मेलामा विशेष गरी आज राती सत्यवती बजैसँग चिच्याएर वर माग्ने तथा पूजापाठ गर्ने प्रचलन रहेको छ । 

यही कार्तिक २७ गतेदेखि सुरु भएको मेलामा २ दिनको अबधिमा ४० हजार बढी भक्तजनले दर्शन गरेको सत्यवती ताल तथा मन्दिर बिकास समितिका अध्यक्ष दानबहादुर गाहाले दाबी गरे । आज विहिबारको राती मुख्य दिन भएकाले करिब १ लाख भक्तजनले दर्शन गर्ने अपेक्षा गरिएको उनले बताए । भोली शुक्रबार (पूर्णिमा)सम्म सञ्चालन हुने मेलाका लागि सहज पहुचका लागि यातायात तथा सुरक्षा व्यवस्थालाई विशेष ध्यान दिइएको अध्यक्ष गाहाले जानकारी दिए । परम्परादेखि नै यहाँ चिच्याएर बर माग्ने अनौठो मेला लाग्ने गर्दछ । यस वर्ष जोग परेका कारण विगतका वर्षभन्दा भक्तजनको सङ्ख्या बढी हुने गाहाले बताए । 

तिहारपछिको पूर्णिमामा सत्यवती मेला लाग्ने गर्दछ भने उक्त पूर्णिमा कार्तिक महिनाभित्र परेमा जोग परेको मानिने प्रचलन रहेको छ । उक्त प्रचलन अनुसार जोग परेको समयमा मन्दिरमा पूजा गरेर वर मागेमा सत्यवती बजैले पूरा गरिदिने जनविश्वास रेहेको छ । परापूर्व कालमा सत्यवती बज्यै घना जङ्गलकोबीचमा आई तपस्या गरेपछि शक्ति प्राप्त गरेको किमबदन्तीमा उल्लेख छ ।

सत्यवती बज्यै कानले नसुन्ने बहिरी भएकाले भक्तजनले सत्यवती ताल नजिकै पुगेर चिच्याएर मनमा चिताएको बर मागेमा बज्यैले पूरा गरिदिने जनविश्वास रहेको छ । यही विश्वासका कारण यहाँ हरेक वर्ष तिहारपछिको पूर्णिमामा मेलामा हजारौँ भक्तजन बर माग्ने मेलामा सहभागी हुने गर्दछन् ।

बर माग्ने भक्तजनले बाँस, निगालो, साल आदि जातका लिङ्गो लिएर रातिको समयमा तालमा गाड्ने र आफूले गाडेको लिङ्गो भोलिपल्ट चिनेर त्यही पूजा गरेपछि घरमा फर्कने परम्परा रहेको छ । ताल नजिकै रहेको मन्दिरमा बोका, पाठी लगायतको बली चढाउनुका साथै परेवा उडाउने प्रचलन रहेको छ ।यहाँ परापूर्व कालदेखि नै बर माग्नका लागि नेपालका विभिन्न जिल्लासहित भारतबाट समेत भक्तजन आउने गरेको स्थानीयहरु बताउँछन् । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।