ताजा अपडेट »

रविको बयान विहिबार पनि जारी रहने, बुधबारको बयानमा के भने ?

बुधबार, २८ कार्तिक २०८१, २१ : ४८
276 Shares
बुधबार, २८ कार्तिक २०८१
276 Shares

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेसँग रुपन्देही प्रहरीले बुधबार ९ घण्टा लामो लिखित बयान लिएको छ । जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीमा मँगलबार मौखिक बयान लिइएको थियो भने बुधबार लिखित बयान लिइएको हो ।  बुधबार विहान सवा १० बजेदेखि साँझ ७ बजे बयान लिइएको हो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी लक्ष्मी खनालका अनुसार उनीसँगको बयान नसकिएकाले भोलि विहिबार पुनः जारी रहने छ । मँगलबार अदालतबाट बाहिरिँदे गर्दा पत्रकारसँग बोलेपछि बुधबार कडा सुरक्षा निगरानीमा घेरेर बाहिर निकालिएको थियो । पत्रकारलाई पनि उनको फोटाभिडियो खिच्न दिइएको थिएन । उनलाई निकाल्ने समयमा रास्वपाका समर्थकहरुले नाराबाजी गरेका थिए ।

उनलाई जिल्ला प्रहरी कार्यालयमै राखिने भएको छ । मँगलबारको बयानमा उनले सहकारीको रकम ठगीमा इन्कारी बयान दिएका थिए । स्रोतका अनुसार, बुधबार भने रविले केही ठाउँमा बाझिने प्रकारका अभिव्यक्ति दिएका छन्। सुरूमा थाहा छैन भनेका कुरा पछि गएर अन्य सवालमा केही तथ्यहरू खुलाएका छन्। 

खासगरी उनका नाममा २ करोड रूपैयाँ सुप्रिम सहकारीबाट निकासा भएको यसअघि नै अदालतमा दायर अभियोगपत्रमा उल्लेख गरिएको थियो। तर, त्यतिखेर रविलाई प्रतिवादी बनाइएको थिएन। 

रविले उक्त रकम आफूले आवेदन दिएर नलिएको बताए पनि आफू सम्बद्ध खातामा कसरी जम्मा भयो भन्ने विषयमा केही विरोधाभासपूर्ण अभिव्यक्ति दिएका छन्। साथै जुन ठेगाना उल्लेख गरिएको छ, त्यो रवि लामिछाने को हो त भन्ने विषयमा पनि उनले फरकफरक कुरा बताएका छन्।

सुप्रिम सहकारीबाट सवा १४ करोड रूपैयाँ गोर्खा मिडियामा गएको छ। त्यसबाहेक रविको नाममा मात्र थप २ करोड रूपैयाँ अनियमित तरिकाले निकासा गरिएको प्रहरी अनुसन्धानबाट देखिएको छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।