ताजा अपडेट »

लगानीका क्षेत्र र सम्भावना हुँदाहुँदै बैंकमा पैसा थुपारेर ब्याज खाने प्रवृत्ति बढ्यो

बुधबार, २८ कार्तिक २०८१, १६ : ३१
136 Shares
बुधबार, २८ कार्तिक २०८१
136 Shares

बुटवल । उद्योग, वाणीज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले निजी क्षेत्रलाई उत्पादन क्षेत्रमा लगानीका लागि आह्वान गरेका छन् । लगानीका क्षेत्र र सम्भावनाहरु प्रसस्त हुँदाहुँदै पनि बैंकमा पैसा जम्मा गरेर राख्ने प्रवृत्ति हाबी भएको बताउँदै उनले पूँजीलाई उत्पादनको क्षेत्रमा लगानी गर्न आग्रह गरे । 

नेपालका ठूला उद्योगीहरुनै निजी बैंकको सञ्चालक रहेको बताउँदै उनले राष्ट्र बैंकमा पैसा थुपारेर ब्याज उठाउने प्रवृत्ति बिकास हुँदै गएकोप्रति दुःख व्यक्त गरे । सरकारले लगानीमैत्री वातावरण निर्माणका लागि आवश्यक नीति परिवर्तन गर्ने प्रयासमा रहेको बताउँदै उनले उत्पादनका क्षेत्रमा लगानी गर्न निजी क्षेत्रलाई आह्वान गरे । वर्तमान सरकारले अघिल्लो सरकारले ल्याएका नीति, कार्यक्रम तथा बजेटलाई नै कार्यान्वयन गरिरहेका कारण धेरै कुराहरु असहमति र सुधार गर्नुपर्ने आश्यकता समेत रहेको उल्लेख गरे । नीतिगत रुपमै सुधारका लागि संविधान संसोधनसम्मको एजेण्डा लिएर वर्तमान सरकार निर्माण भएको उनले उल्लेख गरे ।  

रुपन्देही ब्यापार संघको २५ औं वार्षिकोत्सव तथा रजत महोत्सवको अवसरमा बुधबार बुटवलमा आयोजित कार्यक्रममा बोल्दै उनले स्वदेशी उत्पादनमा जोड दिए । सरकारले नेपाली उत्पादनलाई प्रवर्द्धन गर्नका लागि सकारकारी कार्यालयहरुमा अनिवार्य प्रयोगका लागि कार्यविधि ल्याउने तयारीमा रहेको उल्लेख गरे । ‘यहाँ केही पनि छैन भनेर विदेश पलायत हुने भाष्य निर्माण भएको छ । कुण्ठा बोकेर विदेश पलायन तथा त्यतै सम्भावना देखेर युवाहरु बुवा–आमालाई नेपाल छाडेर बस्ने प्रचलन आएको छ ।’–मन्त्री भण्डारीले भने, अब नेपालमै सम्भावना छ भन्ने वातावरण निर्माणका लागि सरकारले प्रयास गरेको छ । 

यसैगरी रुपन्देहीमा खुला भारतीय सीमानाकाबाट हुने गतिविधिका बारेमा सरकारले गम्भिर रुपमा लिएको बताउँदै आफ्नो मन्त्रालयले चाडैनै आवश्यक निर्णय लिएर कार्यान्वयन गर्ने बताएका छन् । सरकारले सामान्य ऐन संशोधन गरेपछि भैरहवाको विशेष औद्योगिक क्षेत्र सेजमा समेत उद्योगीहरुको आकर्षण बढ्दै गएको बताउँदै उनले थप सुधारका लागि सरकार लागिरहेको उल्लेख गरे । मातीपुर औद्योगिक क्षेत्रसहित सरकारले घोषणा गरेका औद्योगिक क्षेत्रहरुको सञ्चालन गरिने उनले बताए । शिलान्यासको समयमा ढुङ्गा–मुढा गरेर मोतिपुर औद्योगिक क्षेत्रको निर्माणमा भएका अबरोध बारे स्मरण गर्दै उनले अब विवाद नरहेको क्षेत्रबाट सञ्चालनको कार्यलाई अघि बढाइने बताए । 

यसैगरी लामो समयदेखि विवादित बन्दै आएको ट्रंक लाइन र डेडिकेटेड लाइनका बारेमा छानविन गर्न बनेको लाल आयोगको प्रतिवेदन प्रत्येक जनताले हेर्न पाउने गरी सरकारले सार्वजनिक गरेको बताउँदै उनले अब छिट्टै समस्याको समाधान हुने विश्वा व्यक्त गरे । विभिन्न बहानामा औद्योगिक क्षेत्र तथा निजी क्षेत्रमाथि भएका प्रहारका बारेमा सरकार गम्भिर रहेको बताउँदै उनले लगानी मैत्री वातावरण बनाउने पक्षमा सरकार रहेको उल्लेख गरे । मुलुकको आर्थिक बिकासका लागि सरकार निजीक्षेत्रसँग अघि बढ्ने प्रतिवद्धता गरे । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।