ताजा अपडेट »

डेडिकेटेड तथा ट्रंक लाइनका विषयमा उद्योगीहरूले ब्ल्याकमेलिङ गरे : कुलमान घिसिङ

बुधबार, २८ कार्तिक २०८१, १५ : ०१
106 Shares
बुधबार, २८ कार्तिक २०८१
106 Shares

काठमाडौं  । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले डेडिकेटेड र ट्रंक लाइनका उद्योगीहरुले बक्यौता तिर्नु भन्दापनि बक्यौतालाई  विवादित र बढि राजनीतिकिकरण गर्ने गरेको बताएका छन् । 

प्राधिकरणमा पत्रकार सम्मेलन गर्दै उनले ट्रंक लाइनका उद्योगीहरुले सामानहरु विक्री हुँदैन, बेरोजगार बढाइयो र नेपालको अर्थतन्त्र तहसनहस गराइयो भन्ने भाष्य सिर्जना गर्ने गरेको बताएका हुन् । उनले भने, ‘डेडिकेटेड र ट्रक लाइनका उद्योगीहरुले सधैं नै बक्यौंता तिर्नु भन्दापनि बक्यौतालाई झन झन विवादित बनाउने र  बढी राजनीतिकिकरण गर्ने कामहरु उहाँहरुले गरिरहनु भएको छ । किनभने उहाँहरुले जुनबेला लाइन काटिन्छ काट्नु अगाडि जतिपनि वस्तुहरु उत्पादन गरिएको हुन्छ । १० देखि १५ दिनसम्म पुग्नेगरी उत्पादित वस्तुहरु उहाँहरुसँग हुन्छ । कुनैपनि कम्पनी फुल क्यापासिटिमा सबै चलेको हुँदैन । करिव ५०, २०, ३० प्रतिशतमा मात्र चलेको हुन्छ । तर जबसम्म उहाँहरुको उत्पादित वस्तु विक्री हुँदैन तबसम्म डेडिकेटेड र ट्रक लाइनका उद्योगीहरु लाइन जोड्न अगाडि आउँदैनन् । लाइन काटिएको १०-१५ दिन भएपछि उनीहरु भाष्य सिर्जना गर्छन् । बेरोजगारी बढायो, अर्थतन्त्र डुब्यो तहसनहस नै भयो भन्ने इमोसनल ब्ल्याकमेल गर्न खोज्नुहुन्छ र बाध्य भएर सरकारले केही न केही निर्णय गर्नुपर्ने हुन्छ । यो राम्रो कुरा होइन । सरकारले सबैलाई हेर्नुपर्छ तर तिनुपर्ने सबैले तिनुपर्छ ।’

साथै उनले डेडिकेटेड र ट्रंकलाइन सुविधा लिएका उद्योगीहरुले पहिले दिइएको बिलअनुसार नै १५ दिनभित्र बक्यौता रकम तिर्नुपर्ने अडान लिएका छन् । प्राधिकरणले टीओडी मिटरको डाटा अनुसार नै बिल दिएकाले त्यो सही भएको उनको भनाइ छ । सरकारले १५ दिनभित्र उद्योगीहरूको बक्यौता असुल गर्ने निर्णय गर्दै उनीहरूलाई टीओडी मिटरको बिल दिन प्राधिकरणलाई निर्देशन दिएको थियो । मन्त्रिपरिषद्को निर्णय अनुसार १५ दिनभित्र बक्यौता उठाइने घिसिङले बताए ।

बक्यौता नतिरे फेरि लाइन काट्ने संकेत गर्दै उनले भने, ‘यदि १५ दिनभित्र बक्यौता नतिरे प्राधिकरणले फेरि आफ्नो प्रक्रिया सुरु गर्छ । हामीले दिएको बिललाई अदालतले पनि सही ठहर्याइसकेको छ । उद्योगीहरूले दिएका ९० वटा मुद्दा खारेज भएका छन् । कुनै पनि प्रशासनिक निकायबाट बिल ठिक छैन भन्न सक्ने अवस्था छैन ।’
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।