ताजा अपडेट »

रवि लामिछानेको लिखित बयान आज

बुधबार, २८ कार्तिक २०८१, १० : १०
242 Shares
बुधबार, २८ कार्तिक २०८१
242 Shares

बुटवल । बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन आरोप लागेका पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको रुपन्देहीमा आज पनि बयान जारी रहेको छ । मङ्गलवारको बयानमा सहकारी रकम हिनामिनामा आफ्नो संलग्नता अस्वीकार गरेका लामिछानेसँग जिल्ला सरकारी वकिल कार्यालयले आज बुधवार पनि बयान लिने भएको हो । मङ्गलवार मौखिक प्रश्न सोधिएको उनलाई आज भने लिखित प्रश्न सोधिने भएको छ ।

जिल्ला सरकारी वकिल कार्यालयका न्यायाधिवक्ता प्रेमराज पौडेलसहितको टोलीले मङ्गलवार २० भन्दा बढी प्रश्न सोधिएकोमा अधिकांश प्रश्नमा इन्कारी बयान दिएका थिए । आज बुधवार बिहान सवा १० बजेदेखि नै बयान निरन्तर हुने जनाइएको छ ।

पोखराबाट विमानस्थलबाट १२ बजे विमानस्थल पुराइएका उनलाई सिधै सरकारी वकिलको कार्यालय पुराइएको थियो । प्रहरीले एकछिन आराम गर्न प्रस्ताव गरे पनि लामिछानेले सिधै बयानमा जान तयार भएपछि उनलाई बयानमा राखिएको थियो । मङ्गलवार साढे १२ बजे सुरु भएको बयान साँझ ६ बजे सकिएको थियो । आज सवा १० बजे छामिछानेको बयान लिइने जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी रञ्जित सिंह राठोरले जनाए ।

रवि लामिछानेलाई मङ्गलवार जिल्ला प्रहरी कार्यालय भैरहवामै राखिएको थियो । बयानमा सुप्रिम सहकारीको मुद्दा रहेको इलाका प्रहरी कार्यालय बुटवलका अधिकृतहरू बसेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेसँगको बयानमा इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी विजय पण्डित, जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलसहित केही अनुसन्धान अधिकृत सामेल छन् । मङ्गलवार सामान्य सोधपुछ भए पनि लिखित सोधपुछ आज हुने जिल्ला न्यायाधिवक्ता पौडेलले जानकारी दिए ।

बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको १४ करोड २९ लाख रुपैयाँ गोरखा मिडिया नेटवर्क प्रालिमा लगेर खर्च गरेको भन्दै लामिछानेविरुद्ध सङ्गठित ठगी गरेको आरोपमा अनुसन्धान भइरहेपनि बयानमा सहकारीबाट रकम नलगेको जिकिर गरेपछि प्रहरीलाई संकट परेको छ ।

सहकारीबाट आफ्नो नाममा गएको रकम कसले र कसरी लग्यो भन्नेबारे आफूलाई जानकारी नरहेको लामिछानेले बयानका क्रममा बताएको लामिछानेले आफूले सहकारीबाट रकम नलगेको र कसैलाई त्यस्तो आग्रह वा निर्देशनसमेत नदिएको जवाफ दिएको अनुसन्धानमा संलग्न स्रोतले जनाएको छ ।

सुप्रिम सहकारीको खाताबाट गोरखा मिडिया नेटवर्कको खातामा सिधै रकम ‘ट्रान्सफर’ भएको र रकम कर्मचारी रोशनी गुरुङले जम्मा गरिदिएको, रविको नाममा थप ९६ लाख रुपैयाँ प्रवाह भएको सहकारी रकम हिनामिनाबारे छानबिन गर्न गठित संसदीय छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ तर रविले यो विषयमा आफूलाई केही जानकारी नभएको जवाफ दिएका छन् ।

लामिछानेमाथि बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको १४ करोड २९ लाख ३६ हजार रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा सारेर सहकारी कानुनविपरीत खर्च गरिएको आरोप छ ।

संसदीय समितिको छानबिन प्रतिवेदनमा सुप्रिम सहकारीबाट १ करोड ९६ लाख लामिछानेको नाममा २ करोड ५० लाख, छविलाल जोशीको नाममा र साढे १२ करोड अन्य व्यक्तिहरूको नाममा गोर्खा मिडिया नेटवर्कमा गएको उल्लेख छ ।

लामिछानेलाई पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन सम्बन्धमा अनुसन्धान गर्न कास्की प्रहरीले कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरेको थियो । उनलाई पहिलो पटक कात्तिक ४ गते ६ दिनको म्याद थप गरेको थियो ।

दोस्रो पटक ७, तेस्रो पटक १० र चौथो पटक १३ दिनको म्याद थप भएर उनीमाथि अनुसन्धान भइरहेको छ । लामिछानेलाई मङ्गलवार दिउँसो १ बजे पोखरा विमानस्थलबाट भैरहवा हुँदै जिल्ला सरकारी वकिलको कार्यालय पुर्‍याइएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।