ताजा अपडेट »

रविलाई आज बुटवल ल्याइँदै : रास्वपा तथा सहकारी पीडितद्वारा छुट्टा-छुट्टै प्रदर्शनको तयारी

मंगलबार, २७ कार्तिक २०८१, ०७ : २७
232 Shares
मंगलबार, २७ कार्तिक २०८१
232 Shares

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज मङ्गलवार बयानका लागि रुपन्देही ल्याइँदै छ । रुपन्देही ल्याउने प्रहरीको तयारी भएपछि रास्वपा र सहकारी पीडित दुवै पक्षले विरोध प्रदर्शनको तयारी गरेका छन् ।

सुप्रिम सहकारी पीडितले उनलाई बयान लिने सरकारी वकिलको कार्यालय तथा जिल्ला अदालत परिसरमा विरोध प्रदर्शनका लागि पीडित सदस्यहरूलाई सूचित गरेर बोलाएको छ भने रास्वपाले सबै कार्यकर्तालाई बिहानै लुम्बिनी गेटमा उपस्थितिका लागि निर्देशन गरेको छ । लुम्बिनीका नेता कार्यकर्ताका लागि जारी गरिएको सूचना अनुसार मङ्गलवार बिहान ७ः४५ बजेको उडानबाट लामिछानेलाई पोखराबाट भैरहवा ल्याउन लागिएको छ ।

मंगलवार नै बयान सकेर फर्काउने तयारी प्रशासनको रहेको सूचनामा उल्लेख गरिएको छ । लुम्बिनीका सबै जिल्लाका रास्वपाका शुभेच्छुकलाई बिहान ११ बजे बुटवल पुग्ने गरी हिँड्न सर्कुलर गरिएको छ ।

प्रहरीले बुटवलस्थित सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको १४ करोड २९ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर खर्च गरेको कसुरमा अनुसन्धान गर्न लामिछाने, जीवी राईसहित १२ जनालाई पक्राउ गर्न रुपन्देही जिल्ला अदालतबाट यसअघि नै अनुमति लिइसकेको छ । बुटवलस्थित सुप्रिम सहकारीबाट एक करोड ९६ लाख रवि लामिछानेकै नाममा र १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिमार्फत गोर्खा मिडिया नेटवर्कमा पुगेको संसदीय छानबिन विशेष समिति र प्रहरीको प्रतिवेदनमा उल्लेख छ ।

सूर्यदर्शन सहकारीको रकम अपचलनको अनुसन्धानका लागि कास्की प्रहरीको हिरासतमा रहेका उनलाई बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा बयानका लागि रुपन्देही लगिने भएको हो।लामिछानेलाई रुपन्देही ल्याइने भएपछि रास्वपाले मङ्गलवार भैरहवामा विरोधको तयारी गरेको छ। रास्वपाका अनुसार भैरहवाको लुम्बिनी गेटमा बिहान साढे ११ बजे प्रदर्शन गरिने छ।

रुपन्देही जिल्ला अदालतले रवि लामिछाने र छविलाल जोशीसहित १२ जनाविरुद्ध यसअघि नै पक्राउ पूर्जी जारी गरिसकेको छ। बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि उनीहरूविरुद्ध पक्राउ पूर्जी जारी भएको हो। विभिन्न सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा पुगेको भन्दै लामिछानेविरुद्ध अनुसन्धान जारी छ। आइतबार मात्रै कास्की जिल्ला अदालतले लामिछानेलाई थप १३ दिन हिरासतमै राख्न म्याद थपको अनुमति दिएको छ। यो चौँथोपटक म्याद थप गरिएको हो।

रविलाई कात्तिक २ गते काठमाडौंको वनस्थलीस्थित राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालयबाट पक्राउ गरिएको थियो। कात्तिक ४ गते जिल्ला अदालत कास्की पेस गरिएकोमा पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई सुरुमा ६ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको थियो।

त्यसपछि दोस्रोपटक ७ दिनको म्याद थपिएकोमा तेस्रोपटक १० दिन थपिएको थियो। लामिछानेलाई पक्राउको विरोधमा रास्वपाले भने देशभरि विरोध प्रदर्शन गरिरहेको छ। सुप्रिम सहकारी पीडितहरुले गठन गरेको संघर्ष समितिका संयोजक विजय नेपालले आफूहरुले कसैको विरोध र समर्थन भन्दापनि आफूहरुको रकम फिर्ताको मागको लागि आन्दोलन गरिने र यो विषयमा कसैसँग सम्झौता नहुने बताए ।

उनले सबै पीडितहरुलाई सांकेतिक विरोधका लागि सहभागिताका लागि बोलाएको बताए । यो समितिले छविलाल बन्जाडे जोशीलाई रुपन्देही ल्याउँदा पनि यसैगरी विरोध गरेको थियो । रुपन्देही जिल्ला प्रहरी प्रवक्ता डिएसपी लक्ष्मी खनालका अनुसार दुवै पक्षबाट प्रदर्शन गरिने सूचना पाएकाले प्रहरीले त्यहीअनुसार तयारी गरेको बताइन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।