ताजा अपडेट »

आजदेखि पाल्पाको तिनाउमा सत्यवती मेला : विगतमा भन्दा फरक के छ ?

मंगलबार, २७ कार्तिक २०८१, ०७ : १५
562 Shares
मंगलबार, २७ कार्तिक २०८१
562 Shares

बुटवल । पाल्पाको तिनाउ गाउँपालिका–४ सत्यवती ताल तथा मन्दीरमा आजदेखि मेला सुरु भएको छ । कार्तिक शुक्ल पूर्णिमाको अवसर पारी हरेक वर्ष आयोजना हुँदै आएको मेलामा यस वर्ष करिब २ लाख भक्तजनले दर्शनले अनुमान गरिएको छ । 

कार्तिक ३० गतेसम्म सञ्चालन हुने मेलाका लागि सम्पूर्ण तयारी पूरा गरी भक्तजनलाई सहज पहुचका लागि यातायात तथा सुरक्षा व्यवस्थालाई विशेष ध्यान दिइएको सत्यवती ताल तथा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दानबहादुर गाहाले जानकारी दिए । मन्दिर परिसरमा लाइटिङको व्यवस्था तथा ठाउँ–ठाउँमा सिसिटिभी क्यामेरा जडान गरिनुका साथै यस वर्षदेखि मन्दिर क्षेत्रमा मदिराजन्य पदार्थलाई निषेधित गरिएको उनले जानकारी दिए । 

भाडादरमा एकरुपता ल्याउँदै मन्दिरसम्म पुग्नका लागि सिद्धार्थराजमार्ग अन्तरगत पानीमिलदेखि मन्दिरसम्म जानका लागि सार्वजनिक सवारीमा २ सय रुपैयाँ भाडा दर कायम गरिएको छ भने मन्दिरबाट फर्किने भक्तजनलाई झुम्सासम्म २ सय भडादर कायम गरिएको तिनाउ गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले जानकारी दिए । मेला अवधिमा हुन सक्ने सडक दुर्घटनालाई रोक्न ठाउँ–ठाउँमा ट्राफिक प्रहरी तथा सुरक्षाकर्मी तैनाथ गरिएको उनले बताए । सो अवधिमा कुनै पनि सार्वजनिक सवारीले तोकिएकोभन्दा बढी भाडा असुली गरेको पाइएमा, सवारीको क्षमता भन्दा बढी यात्रु बोकेको पाइएमा तथा कुनै पनि ट्राफिक नियम उल्लंघन गरिएको पाइएमा कारबाही गरिने समेत उनले बताए । यस वर्ष मेलालाई विशेष बनाउन साँस्कृतिक कार्यक्रमहरु समेत आयोजना गरिएको उनले जानकारी दिए ।

पाल्पाका प्रमुख जिल्ला अधिकारी तोय नारायण अधिकारीले मेलालाई सभ्य र भव्य बनाउन आवश्यक सुरक्षा गस्तिको व्यवस्था गरिएको जानकारी दिए । मेला अवधिमा भक्तजन स्वयम्ले समेत सजगता अपनाउनु पर्ने र भिडभाडमा हराउन सक्ने भएकाले बहुमुल्य सामान तथा गरहँना नल्याउन आग्रह गरे । मेलालाई व्यवस्थित गराउन मन्दिर दर्शन गर्न जाने भक्तनका लागि सिद्धार्थ राजमार्ग अन्तरगत पानी मिलदेखि सार्वजनिक यातायातको व्यवस्था गरिएको छ भने फर्किनेहरुलागि झुम्सासम्म यातायातको व्यवस्था रहेको छ । भिडभाड व्यवस्थापन र दुर्घटना न्युनिकरणका लागि एकतर्फी बाटो सञ्चालन गरिने उनले बताए ।  

परम्परादेखि नै यहाँ चिच्याएर बर माग्ने अनौठो मेला लाग्ने गर्दछ । यस वर्ष जोग परेका कारण विगतका वर्षभन्दा भक्तजनको सङ्ख्या बढी हुने समितिका अध्यक्ष गाहाले बताए । तिहारपछिको पूर्णिमामा सत्यवती मेला लाग्ने गर्दछ भने उक्त पूर्णिमा कार्तिक महिनाभित्र परेमा जोग परेको मानिने प्रचलन रहेको छ । उक्त प्रचलन अनुसार जोग परेको समयमा मन्दिरमा पूजा गरेर वर मागेमा सत्यवती बजैले पूरा गरिदिने जनविश्वास रेहेको छ । परापूर्व कालमा सत्यवती बज्यै घना जङ्गलकोबीचमा आई तपस्या गरेपछि शक्ति प्राप्त गरेको किमबदन्तीमा उल्लेख छ ।

सत्यवती बज्यै कानले नसुन्ने बहिरी भएकाले भक्तजनले सत्यवती ताल नजिकै पुगेर चिच्याएर मनमा चिताएको बर मागेमा बज्यैले पूरा गरिदिने जनविश्वास रहेको छ । यही विश्वासका कारण यहाँ हरेक वर्ष तिहारपछिको पूर्णिमामा मेलामा हजारौँ भक्तजन बर माग्ने मेलामा सहभागी हुने गर्दछन् ।

बर माग्ने भक्तजनले बाँस, निगालो, साल आदि जातका लिङ्गो लिएर रातिको समयमा तालमा गाड्ने र आफूले गाडेको लिङ्गो भोलिपल्ट चिनेर त्यही पूजा गरेपछि घरमा फर्कने परम्परा रहेको छ । ताल नजिकै रहेको मन्दिरमा बोका, पाठी लगायतको बली चढाउनुका साथै परेवा उडाउने प्रचलन रहेको छ ।

यहाँ परापूर्व कालदेखि नै बर माग्नका लागि नेपालका विभिन्न जिल्लासहित भारतबाट समेत भक्तजन आउने गरेको स्थानीयहरु बताउँछन् । यो वर्ष दुई लाखभन्दा बढी भक्तजन बर माग्नका लागि मेलामा सहभागी हुने अपेक्षा मेला व्यवस्थापन समितिले गरेको जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।