ताजा अपडेट »
‘पूर्णबहादुरको सारङ्गी’ ले बनाएका दुर्लभ रेकर्ड

कस्ता छन ‘पूर्णबहादुरको सारङ्गी’ ले बनाएका दुर्लभ रेकर्डहरू

मंगलबार, २७ कार्तिक २०८१, ०७ : ४५
114 Shares
मंगलबार, २७ कार्तिक २०८१
114 Shares

बुटवल । गन्दर्भ जातिकाे कथामा बनेकाे तथा विजय बरालले मुख्य भूमिका निभाएको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’काे अहिले नेपाली सिने जगतमा निकै नै चर्चा छ। भुइमान्छेकाे कथामा बनेको यस चलचित्रले बक्स अफिसमा नयाँ नयाँ रेकर्डहरू बनाइरहेको छ। हुनत यो वर्ष नेपाली चलचित्र लाई राम्रै संग फापेको देखिन्छ। वर्षकै सुरुआतदेखि असारसम्म प्रर्दशनमा आएका चलचित्रले राम्रै व्यापार गर्न सफल भए।

नयाँ वर्षको अवसरमा रिलिज भएको डिग्री माइलादेखि बोक्सीको घर, फर्की फर्की, पूजार सार्की तथा घरज्वाइँसम्मका चलचित्र लाइ दर्शकले निकै रुचाए । साउन र भदौमा बक्स अफिसमा दर्शकको खडेरी देखिएको भए पनि असोजमा रिलिज भएको ‘खुस्मा’ ले पुनः हलमा दर्शक फर्कायो । घटस्थापनाबाट रिलिज भएको ‘बेहुली फर्म मेघौली’ ले सर्वाधिक शोको कीर्तिमान रचेको थियो। पहिलो दिन ३ सय ४० सो पाएको ‘बेहुली फर्म मेघौली’ ले पहिलो साता राम्रै व्यापार गरेको थियो।  निर्माता निश्चल बस्नेतले चलचित्रले राम्रो अकुपेन्सी पाउँदा पाउँदै हलवालाले प्रयाप्त सो नदिएकाे भनी हलबाट उतारेर ओटीटीमा  चलचित्र रिलिज गरे।

फूलपातीमा रिलिज भएका ‘छक्का पञ्जा ५’ देखि ‘१२ गाउँ’ ले पनि दर्शकको अत्यधिक साथ पाए। बिराज भट्टका छोरा समीर भट्टले डेब्यू चलचित्र ‘१२ गाउँ’ बाटै निकै तारिफ बटुले। अझ कतिपयले त अब एक्सन जनराको चलचित्र चल्ने ट्रेन्ड सुरु भएको समेत भन्न भ्याए।  त्यस्तै कात्तिक १५ गतेबाट रिलिज भएको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ ले त नेपाली चलचित्र क्षेत्रमा तरङ्ग नै ल्याइदिएको छ। यस चलचित्रले बक्स अफिसमा बनाएको कीर्तिमान  नेपाली सिने उद्योगमा दुर्लभ छ।  ‘पूर्णबहादुरको सारङ्गी’ ले बनाएको रेकर्डहरू सहज छैन।

प्रदर्शनका सुरुआती दिनमा यसकाे व्यापार निकै सुस्त रहेकाे थियो। रिलिजका समयमा ‘छक्का पञ्जा ५’ र ‘१२ गाउँको सर्वाधिक दबदबा, त्यसमाथि भोलिपल्ट बाटै बलिउडका दुई ठुला चलचित्र ‘सिंगम अगेन’ र  ‘भूलभुलैया ३’काे  रिलिज का कारण तीन दिन चलचित्रले खासै राम्रो व्यापार गर्न सकेन। तिन दिन मध्यम व्यापार गरेको चलचित्रले भने चौथो दिनबाट दर्शकहरूको बलियो वर्ड अफ माउथ पाउँदा बिस्तारै पिक अप लिन थाल्यो।

दर्शकले निकै मनछुने सिनेमा भन्दै सामाजिक सञ्जालमा लेख्न थाले। टिकटकमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ हेरेर रोएका भिडिओ भाइरल हुन थाले। त्यसपछि त सिनेमा हलमा दर्शकको बाढीनै लाग्यो। सिनेमा घरहरूमा दशर्ककाे चाँप यति बढ्रयाे की ३-४ दिन पछाडी ससम्मका सिटहरू बुकिङले फुल हुन थाले । हलहरूले  बिहान ४ बजेदेखि राति ११ बजेसम्मका शाे हले पनि सबै साेहरू हाउसफुल हुन थाले।

चौतर्फी तारिफ  बटुलेको यस चलचित्रले दोस्रो हप्तामा  नयाँ रेकर्ड बनाउन सफल भयो। ‘बेहुली फ्रम मेघौली’को रेकर्ड तोड्दै गत बिहीबार ‘पूर्णबहादुरको सारङ्गी’ देशभरिका ८९ हलबाट ३८० सोसहित प्रदर्शन भयो। दर्शकको चाप बढेसंगै फेरि सो थपिँदै जाँदा यतिखेर यस चलचित्र ४ सय ७० बढी सोसहित प्रदर्शनरत छ। जुन शोको संख्या साँच्चिकै दुर्लभ हो। यो कुल शोको लगभग ७० प्रतिशत हिस्सा हो।

त्यसै गरी, शुक्रवार र शनिवार यस चलचित्रले बक्स अफिसमा अर्को नयाँ कीर्तिमान रचेको छ। दोस्रो साताको शुक्रवार २ करोड ९९ लाख र शनिवार ३ करोड ८९ लाख कमाउँदै  चलचित्रले एक दिनमा सर्वाधिक कमाइ गर्ने नेपाली चलचित्रको नयाँ रेकर्ड कायम गरेको छ।यसअघि सर्वाधिक कमाइ गर्ने चलचित्रको रेकर्ड ‘कबड्डी ४’ ले कायम गरेको थियो। यस चलचित्रले पहिलो दिन २ करोड ९० लाख ग्रस कलेक्सन गरेको थियो।  त्यो रेकर्ड अब ‘पूर्णबहादुरको सारङ्गी’ले तोडेको छ।

सधैँ सहायक भूमिकामा देखिँदै आएका कलाकार विजय बराल यस चलचित्रमा लिड रोलमा जमेका छन्। विजयको  अभिनयको पनि यतिखेर निकै तारिफ भइरहेको छ। व्यापारको यो गति हेर्दा यस चलचित्रले सर्वाधिक कमाइ गर्ने चलचित्रको नयाँ रेकर्ड पनि बनाउन सक्ने देखिन्छ। प्रदर्शनको १० दिनसम्म ‘पूर्णबहादुरको सारङ्गी’ले घरेलु बक्स अफिसमा १७ करोड ९८ लाख कमाइसकेको छ।

अहिले पनि चलचित्रको शोहरू हाउस फुल छन्। दर्शकलाई टिकट पाउनै मुस्किल छ। न कुनै ठुलो चर्चित ब्यानर, न कुनै चर्चित निर्देशक / लेखक, न कुनै चर्चित  ठुला सेलीब्रेटी कलाकारको बाहुल्यता तर पनि ‘पूर्णबहादुरको सारङ्गी’ ले दर्शकको मन जित्यो। भुईँ मान्छेकाे सरल कथामा बनेको चलचित्रमा विजयले पहिलो पटक मुख्य भूमिका निभाएका छन्। यसरी हलमा यो किसिमको क्रेज देखिनुलाई नेपाली सिनेमाको स्वर्णिम कालको रूपमा व्याख्या गर्न पनि थालिएको छ।

रीलिज अगावै सारङ्गी बजाउने व्यक्तिमा आधारित चलचित्र भनेर चर्चामा रहेको यस चलचित्रमा बाबुछोराको कथा  भनिएको छ। यस चलचित्रमा विजयसहित बुद्धि तामाङ, प्रकाश सपुत, अभिनेत्री अञ्जना बराइली, देशभक्त खनाल, अलिशा बास्कोटा, मुकुन भुसाल, भोलाराज सापकोटा लगायतको उम्दा अभिनय रहेको छ।

सरोज पौडेलको कथा र निर्देशन रहेको चलचित्रलाई विनोद पौडेल र प्याट्रिक सुवेदीले निर्माण गरेका हुन्। चलचित्रको पटकथा र संवाद महेश दवाडीले लेखेका हुन्। सेभेन सिज सिनेमाको प्रस्तुति रहेको यो चलचित्र एक करोड ३० लाख लागतमा  तयार भएको हो।

 

 

 

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।