ताजा अपडेट »
“वल्ड बुक अफ रेकर्ड्स”मा नेपालकाे नाम

बिमलले लेखाए नेपालकाे नाम “वल्ड बुक अफ रेकर्ड्स”मा

नेपाल देखि भारत सम्मका संगीतकारहरूकाे गर्छन हार्मोनियमको काम

सोमबार, २६ कार्तिक २०८१, ०७ : ५८
278 Shares
सोमबार, २६ कार्तिक २०८१
278 Shares

बुटवल । काठमाण्डौंका कुशल हार्मोनियम मर्मतकर्ता तथा ट्युनर बिमल साहले हार्मोनियमको डिजिटल ट्युनिङमा विश्व कीर्तिमान राख्दै देशको नाम विश्चवमै चम्काएका छन् । उनले दुई दशक बढीको अथक मिहिनेतपछि विश्वकै पहिलो हरमोनियमको डिजिटल ट्यूनिंग बिशेषयज्ञको रूपमा विश्व कीर्तिमान राख्न सफल भएका हुन् । उनलाई बेलायतकाे संस्था “वल्ड बुक अफ रेकर्ड्स” (World Book of Records) ले उनलाइ परम्परागत बाद्धय सामाग्रीलाई विशेष दक्षताका साथ ट्रयून सेटीङ गरी विश्व कीर्तिमान राख्न सफल भएकाे भन्दै सम्मन तथा उपाधि प्रदान गरेकाे हाे । 

lond

काे हुन बिमल साह ?

सर्लाहीमा जन्मिएका बिमलकाे यहाँ सम्मको आफ्नो यात्रा त्यति सजिलो थिएन। कामकै सिलसिलामा काठमाडौँ आएका उनले प्रारम्भमा, उनले  सामान्य हार्मोनियम मर्मत गर्दै आफ्नो करियरकाे सुरुवात गरेका थिए। विमलले आफ्नो व्यावसायिक यात्रा सन् २०७३ सालमामा ३० हजार रुपैयाँ लगानीमा काठमाडौँको डौं पशुपति क्षेत्रमा सानो हार्मोनियम मर्मत पसलबाट सुरु गरेका हुन । उनले हार्मोनियम सफा गर्ने र पेच कस्ने कामहरू गर्दै गर्दा कुनै दिन संसारमै ख्याती कमाउने छु भन्ने कुरा उनले कहिल्यै सोचेका थिएनन्।

साधारण हर्माेनियम सफा गर्ने कामबाट सुरु गरेको उनको यात्राले आज उनलाई असाधारण उपलब्धि दिलायो, जसमा उनको आफ्नै मेहनत र लगावले मुख्य भूमिका खेलेको छ। अहिले, उनीसङै हार्मोनियमको ट्युनिङ गराउनका लागि कलाकारहरूको लाम लागेको छ। उनको नाम नै ब्रान्ड बनेको छ जसले हार्मोनियमको मर्मत, निर्माण, र ट्युनिङलाई समेटेको छ। उनले हार्मोनियमलाई डिजिटल रूपान्तरण गरेर साङ्गीतिक क्षेत्रमा क्रान्ति नै ल्याएका छन्।

Bimalko-Harmoniamka-lagab

काठमाडौँको रत्न राज्य क्याम्पसबाट  प्लस टु सम्मको अध्ययन गरेका बिमलको मूल थलो सर्लाहीको ईश्वरपुर नगरपालिका–१३ मा हो । आमा राधिकादेवी साह तथा  बुबा सत्यनारायण साहकाे छाेराका रूपमा जन्मीएका उनी किशोरावस्था देखि नै सृजनशील र रचनात्मक थिए । उनले सङ्गीत क्षेत्रमा आबद्ध भई लामो अनुभव बटुलेका छन् । आम युवा हरूको धारभन्दा बिलकुल फरक  रूपमा पहिचान बनाएका साह आफ्नो कर्तव्यलाई सर्वोपरि राख्दै कर्तव्य पथमा अग्रसर छन् ।  उनले सङ्गीत क्षेत्रमा लामो समयदेखि पूर्णकालीन तथा व्यावसायिक रूपमै लागेका नेपाल मात्र हाेइन भारतका समेत अनुभवी साधक कलाकारहरूको हार्मोनियमको टुयुनिंङ गर्ने गरेका छन्।

कलाकारहरू उनलाई हार्मोनियमको डाक्टर भनेर सम्बोधन गर्न मन पराउँछन् । गायन क्षेत्रका दिग्गजहरूको पहिलो रोजाईकन रूपमा नै विमल परेका छन्। नेपालका चर्चित सङ्गीतकार शम्भुजीत बाँस्कोटादेखि गायक सङ्गीतकार दीप श्रेष्ठ, कुन्ती मोक्तान, टीका भण्डारी, रामकृष्ण ढकाल, मनोजराज, सन्तोष श्रेष्ठ, शिव परियार, राजेश पायल राई, अन्जु पन्त, प्रमोद खरेल, विश्व नेपाली, राज सिग्देल लगायत नेपालमा चर्चित थुप्रै गायक गायिकाले विमलबाट हार्मोनियममा ट्युनिङ गराई सकेका छन् ।

5

सङ्गीत प्रशिक्षणमा नेपालमै सर्वाधिक चर्चित चन्दनकुमार श्रेष्ठ, स्व.गुरुदेव कामत, चण्डीप्रसाद काफ्ले लगायतका दिग्गज कलाकारहरूको उनले हार्मोनियम ट्युनिङ गरीसकेका छन् ।  भारतीय कलाकारहरू उदित नारायण, दीपनारायण, सोनु निगम, कुमार सानु र अनु मलिक लगायतका कलाकारहरूको पनि हार्मोनियम ट्युनिङ गर्ने माैका पाएको अनुभव विमल सुनाउँछन्। 

आफ्नो काम इमानदारी र लगनका साथ गरेरै यहाँ सम्म पुग्न सफल भएको हु । उनी भन्दछन् , ’सबैले अपार स्नेह दिनुभएको छ, विश्वास गर्नु भएको छ जुन मेरा लागि ठुलो सम्पत्ति हो भन्ने ठान्दछु म ।’ वाद्य मिस्त्री का रूपमा कहलिएका बिमल साहको हार्मोनियम मर्मत कारखाना भने अहिले काठमाडौँको सिनामंगलमा रहेको छ । यस कारखानामा दर्जनौँ सङ्गीतकार आफ्नो समस्याको समाधान खोज्न आउने गर्दछन ।

8

चर्चित गायक राजेश पायल राईले त उनलाई सुरका बादशाह भनेर लेखेका छन् भने लोक प्रिय गायक प्रमोद खरेलले साहलाई हार्मोनियम मेकर भन्न मन पराउँछन् । वरिष्ठ गायक दीप श्रेष्ठले वन्डरफुल हार्मोनियम मेकर एण्ड फाइन ट्युनरका रूपमा सम्बाेधन गरेका छन्। क्लासिक सिंगरका रूपमा चिनएका कलाकार स्व.गुरुदेव कमातले त उनलाई नेपालकै वरिष्ठ हार्मोनियम मेकर भन्ने गर्दथे ।

लामो समयदेखि थला परेको हार्मोनियम बिमल  साहको हर्माेनियम अस्पतालमा ल्याई स्वस्थ बनिदिँदा कलाकारहरू प्रफुल्लित मात्रै होइन, उनीप्रति कृतज्ञ तथा नतमस्तक नै हुने गरेका छन् । गायक तथा सङ्गीतकार जितलाल श्रेष्ठले त आफ्नो १०० वर्षभन्दा पुरानो हार्मोनियमलाई बिमलकहाँ ल्याई पुनः बजाउन मिल्ने बनाएको अनुभव सामाजिक सञ्जालमा पोस्ट नै गरेका छन् । बिमलको कीर्तिमानसँगै अहिले बिमल ब्रान्डको हार्मोनियमले अहिले बजारमा निकै चर्चा बटुलेको छ ।

1
के हो  हार्मोनियममा डिजिटल ट्युनिङ 
हार्मोनियममा डिजिटल ट्युनिङ भनेको हार्मोनियमकाे परम्परागत स्वर (सुर) मिलाउने प्रक्रियालाई डिजिटल उपकरण र प्रविधिको सहयाेग मार्फत सटीक र शुद्ध बनाउने प्रक्रिया हो। यसमा विशेष गरी ध्वनि (सुर)को आवृत्ति (Frequency) सन्तुलन र स्थायित्वको लागि डिजिटल ट्युनिङ उपकरणहरूको प्रयोग गरिन्छ, जसले सुरलाई स्थिर र परिष्कृत बनाउँछ। डिजिटल ट्युनिङको प्रयोगले परम्परागत ट्युनिङमा आउने असमानता, सुरको अस्थिरता र बारम्बार ट्युन गर्नुपर्ने आवश्यकतालाई कम गर्ने गर्दछ।

डिजिटल ट्युनिङका फाइदाहरू:

  • सुरको सटीकता : डिजिटल उपकरणले सुरलाई अत्यन्तै सटीक तरिकाले मिलाउँछ, जसले गर्दा स्वरमा कुनै असमानता रहँदैन।
  • समय बचत: परम्परागत हार्मोनियमलाई हातले ट्युन गर्दा समय लाग्छ, तर डिजिटल ट्युनिङले यो काम छिटो र प्रभावकारी रूपमा पूरा गर्न मद्दत पुर्‍याउँछ।
  • ध्वनिको स्थायित्व: एक पटक डिजिटल रूपमा ट्युन गरिएको हार्मोनियमले लामो समयसम्म सुरलाई स्थिर राख्छ, जसले बारम्बार ट्युन गरीरहन गर्नुपर्दैन।
  • सङ्गीत शैलीहरूमा उपयुक्तता: डिजिटल ट्युनिङले हार्मोनियमलाई विभिन्न प्रकारका सङ्गीत शैलीहरू जस्तैः क्लासिकल, लोक संगीत, वा आधुनिक संगीतमा प्रयोग गर्न सहज बनाउँछ । 

याे प्रविधिले परम्परागत हार्मोनियमको स्वरूपलाई आधुनिकतासँग जोड्दै यसको प्रयोगलाई अझ सहज र प्रभावकारी बनाएको छ।

हार्मोनियमको डिजिटल ट्युनिङमा नयाँ क्रान्ति
बिमल साहले हार्मोनियमको परम्परागत निर्माण र स्वर ट्युनिङमा सुधार गर्दै नयाँ प्रविधिको प्रयोगमार्फत डिजिटल ट्युनिङको प्रणालीलाई स्थापित गरेका छन्। हार्मोनियमको स्वरको शुद्धता, ध्वनि गुणस्तर, र सङ्गीतमा प्रयोग हुने सन्तुलनलाई उनले उच्च स्तरमा पुर्‍याएका छन्। परम्परागत हार्मोनियममा रहेका स्वर ट्युनिङको कठिनाइ र ध्वनिको अस्थिरता जस्ता समस्या उनले डिजिटल विधि प्रयोग गरेर समाधान गरेका छन्। यस प्रविधिको विकास र परिष्कृत प्रक्रियाले हार्मोनियमलाई अझ विश्वसनीय र प्रयोगकर्तामैत्री बनाएको उनको दाबी छ।
1731240191-FPlzB
वल्ड बुक अफ रेकर्ड्समा नामः

बिमल साहको हार्मोनियमसँगको सृजनशीलता र समर्पणले उनलाई आज विश्वसामु चिनाएको छ। हार्मोनियमको डिजिटल ट्युनिङमा उनको योगदानलाई कदर गर्दै “वल्ड बुक अफ रेकर्ड्स” (World Book of Records) ले बिमल साहलाई विश्व कीर्तिमान राख्न सफल भएको घोषणा गरेको हो। यो सम्मानले नेपाली साङ्गीतिक क्षेत्रमा मात्रै होइन, अन्तर्राष्ट्रिय सङ्गीत जगतमा पनि नेपालको पहिचानलाई माथि उठाएको छ। बिमल साहको नाम वर्ल्ड बुक अफ रेकर्ड्स लन्डनमा २०२४ अक्टोबर २८ मा समावेश गरिएको हो।

हार्मोनियम संग २० वर्षको निरन्तर साधना
हार्मोनियमसँगको बिमलकाे यात्रा दुइ दशक लामो छ। करिब २० वर्षको निरन्तर मेहनत र अभ्यासले उनलाई आज यो स्थानमा पुर्‍याएको हो। हार्मोनियमको गुणस्तर सुधार गर्न उनले विभिन्न खालका प्रयोगहरू गरेका छन्। उनले हार्मोनियमको पुरानो शैलीमा आधारित समस्याहरूलाई समाधान गर्दै, डिजिटल प्रणालीको उपयोगबाट स्वर शुद्धता र सङ्गीतको सन्तुलनमा सुधार गरेका हुन।

2

हार्मोनियमप्रति विमलको यहि गहिरो प्रेम र लगावले गर्दा उनले यसलाई डिजिटल रूपमा रूपान्तरण गराएका हुन्। लामो समयसम्मको अभ्यास र साधनाले उनलाई यस उपलब्धिमा पुराएको हो। डिजिटल ट्युनिङ गरेर हार्मोनियमको धुनमा नयाँ जादु थपेका विमललाई धेरैले ‘हार्मोनियमका डाक्टर’ भनेर चिन्दछन्। उनको योगदानले सङ्गीतका पारखीहरूलाई नयाँ प्रेरणा प्रदान गरेको छ।
 
अन्तर्राष्ट्रिय सम्मान (Pride of the Nation)
बिमल साहको योगदानलाई कदर गर्दै उनलाई अमेरिकामा आयोजना गरिएको कार्यक्रममा “Pride of the Nation” (राष्ट्रको गौरव) सम्मानबाट पनि सम्मानित गरिएको छ। यो सम्मान हार्मोनियम ट्युनिङ र निर्माणमा गरेको  योगदानका लागि दिइएको हो। यस सम्मानले नेपाली सङ्गीतकर्मीहरूको अन्तर्राष्ट्रिय पहिचान बढाउने काम समेत गरेको छ।

bb42a080-9d4d-46a0-a1c8-60682f0dcc88

भविष्यमा सम्भावनाः
बिमल साहले हार्मोनियम निर्माण र ट्युनिङको क्षेत्रमा सुरु गरेको यो क्रान्ति केवल नेपाली सङ्गीतकलामा मात्र होइन, सम्पूर्ण विश्व सङ्गीतकला र सङ्गीतकर्मीहरूका लागि एक महत्त्वपूर्ण प्रेरणाको स्रोत समेत बनेको छ। उनले हार्मोनियमको सुधारिएको स्वरूपलाई विश्वभर पुर्‍याउन सक्ने सम्भावना देखाएका छन्। यसले नेपाली सांगीतिक विरासतलाई नयाँ उचाइमा पुर्‍याउने मात्र नभई हार्मोनियमको भविष्यलाई पनि नयाँ दिशा दिन सक्नेछ।

बिमल साहले हार्मोनियमको डिजिटल ट्युनिङमा गरेको विश्व कीर्तिमान उनको व्यक्तिगत सफलता मात्र नभइ यो नेपालको साङ्गीतिक परम्परालाई विश्वसामु चिनाउने महत्त्वपूर्ण अवसर पनि हो। साहको यो यात्रा र सफलता नेपाली सङ्गीतकर्मीहरू संगै सम्पूर्ण विश्वका सङ्गीतकर्मीहरूको लागि प्रेरणादायक रहेको छ।

युवा पुस्ताका लागि प्रेरणा
विमल साह आजको समयमा युवा पुस्ताका लागि एक प्रेरणाको स्रोत बनेका छन्। उनको संघर्ष, लगाव र काम प्रतिकाे इमानदारिताले गर्दा उनी यो स्थानमा पुगेका हुन्। बिमल साहको यो यात्रा कठिनाइ र संघर्षले भरिएको भए पनि उनले कति पिन हार मानेनन्। उनको मेहनत, लगनशीलता र हार्माेनियम प्रतिको प्रेमले उनलाई विश्व स्तरमा ख्याती दिलाएको छ। नेपालकाे मधेश क्षेत्रको एउटा युवा अाज विश्नामानै चर्चा कमाउन सफल भएकाे छ ।

उनले हार्मोनियमजस्तो साधारण ठानिएको वाद्ययन्त्रलाई उच्च स्थानमा पुर्याएका छन्। विमल साहले देखाएको यो यात्रा नेपाली सांगीतिक क्षेत्रका लागि प्रेरणाको स्रोत बन्नेछ। उनको यस अनुकरणाीय योगदानले नेपालको साङ्गीतिक क्षेत्रलाई सधैँ गर्व महसुस गराउने छ। देशमा केही गर्न सकिँदैन भनेर दिनभरि त्यसै समय खेरा फाल्ने युवाहरूका लागि बिमल साह एक जना सकारात्मक सन्देशका संवाहकका रूपमा देखिएका छन।

गौतम भूसाल
लेखकको बारेमा
गौतम भूसाल

भूसाल ग्लोबल आवाज अनलाइका प्रबन्ध सम्पादक हुन् ।