ताजा अपडेट »

भैरहवाबाट अन्तर्राष्ट्रिय उडान: उत्साहभन्दा बढी आशंका

सोमबार, २६ कार्तिक २०८१, ०८ : २७
10.31K Shares
सोमबार, २६ कार्तिक २०८१
10.31K Shares

बुटवल । भव्य संरचना बनेर पनि अलपत्रजस्तै बन्दै आएको भैरहवास्थित गौतम बुद्ध विमानस्थलमा शनिबारदेखि अन्तर्राष्ट्रिय उडान पुनः सुचारु भए पनि यहाँका पर्यटन व्यवसायी भने उत्साहित हुन सकेका छैनन् । निजी क्षेत्र तथा पर्यटन व्यवसायीहरुले विमानस्थल चलायमान हुन लागेकोमा केही उत्साह भए पनि निरन्तरता पाउनेमा आशङ्का व्यक्त गरेका छन् । 

सातामा १७ वटा अन्तर्राष्ट्रिय उडान तालिका रहेको विमानस्थलमा तीन वायुसेवा कम्पनी कुवेतको जजिरा एयरवेज, युएईको फ्लाई दुबई र नेपाल वायुसेवा निगमले उडान भर्दै आएको भैरहवा विमान स्थलका महा प्रबन्धक प्रताप तिवारी बताउँछन् । केही दिनमै कतार एयरवेजले उडान भर्ने बताउँदै त्यसपछि सातामा २४ वटा उडान हुने उल्लेख गरे । भैरहवा विमानस्थल अन्तर्राष्ट्रिय उडानका लागि सम्पूर्ण रूपमा तयार र सक्षम रहेको बताउँदै उनले अब थप गुलजार बन्दै जाने विश्वास व्यक्त गरे । यसको प्रचार–प्रसार र निरन्तरतासँगै हवाई कम्पनीहरूले यहीबाट यात्रुहरू पाउने भएपछि विमानस्थल चल्न समस्या नरहने उनले बताए । 

यहाँका पर्यटन व्यवसायी तथा निजी क्षेत्रले भने भैरहवाबाट नियमित रूपमा अन्तर्राष्ट्रिय उडान हुनेमा अझै शंका व्यक्त गरेका छन् । सरकारले काठमाडौँ बाहिर भैरहवा र पोखराको अन्तर्राष्ट्रिय विमानस्थललाई सञ्चालनमा ल्याउनका लागि गत साउन २६ गतेको मन्त्रिपरिषद् बैठकमा विभिन्न निर्णयहरू गरे पनि उक्त कुराहरू हालसम्म कार्यान्वयन नहुँदा शङ्का व्यक्त गर्ने ठाउँ रहेको छ । 

यी दुई विमानस्थल सञ्चालन गर्नका लागि श्रम कार्यालयको स्थापना, वैदेशिक रोजगारीमा जानेहरुकालागि मेडिकल रिपोर्टको सर्टिफिकेट उपलब्ध गराउने व्यवस्था, भिजा कार्यालयको स्थापना, आकस्मिक रूपमा पासपोर्ट रिन्यु तथा जारी गर्नका लागि कार्यालय स्थापना लगायतका संरचनाहरू तयार नहुँदासम्म नियमित उडान सम्भव नभएको बताउँछन् पर्यटन व्यवसायी तथा सिद्धार्थ होटल एसोसिएसनका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठ ।  उनी भन्छन- भैरहवाबाट अन्तर्राष्ट्रिय उडान हुन थालेपछि ‘सर्वप्रथम त सरकारलाई धन्यवाद दिन चाहान्छौं । तर, यसले निरन्तरता पाउँछ भन्नेमा हामी विश्वस्त छैनौँ । सबैभन्दा पहिला काठमाडौँदेखि हुने गरेकाे सिन्डिकेट अन्त्य हुन जरुरी छ ।’ अहिलेको उडानले यहाँको माहोललाई अलिकति खुसी ल्याएको भए पनि सरकारले पूर्वाधार निर्माण नगर्दासम्म चलायमान हुन्छ जस्तो आफूलाई नलागेको उनले उल्लेख गरे । 

यसैगरी लुम्बिनी होटल व्यवसायी संघका अध्यक्ष गोविन्द ज्ञवालीले अन्तर्राष्ट्रिय उडान पुनः सुरु हुँदा उत्साह थपिएकाे भए पनि निरन्तरताको चिन्ता कायम नै रहेको उल्लेख गरे । ‘अझै पनि केन्द्रीकृत राजनीति र सोचले गर्दा यहाँको विकास हुन सकेको छैन । काठमाडौँमा केही परेर केही महिनाका लागि यहाँको विमानस्थल सञ्चालनमा ल्याउँदैमा चलायमान हुन्छ भन्ने छैन ।’ ज्ञवालीले भने, ‘हामी पर्यटन व्यवसायी चलायमान हुनका लागि लेबर कन्ट्रीबाट उडान भएर मात्रै हुँदैन, जति सक्छौं लुम्बिनी घुम्न आउने पर्यटकहरू ल्याउन सक्यौँ भने त्यो हामीलाई फाइदा छ । विमानस्थल सञ्चालनमा आउँदैमा यहाँका होटल तथा रेस्टुरेन्टमा अकुपेन्सी बढ्ने भन्ने पनि हुँदैन । व्यवसायीमा उत्साहभन्दा बढी निरन्तरताको चिन्ता छ ।’ 

रूपन्देहीका पर्यटन व्यवसायी सञ्जय बजिमय भने भैरहवाबाट अन्तर्राष्ट्रिय उडान सुरु भएपछि निकै आशावादी भएको बताउँछन् । साटाे नेपालका संस्थापक तथा निवर्तमान अध्यक्षका साथै नेपा ट्राभल्सका सञ्चालक बजिमयले भैरहवाबाट अन्तर्राष्ट्रिय उडानसँगै पर्यटन क्षेत्रमा सङ्ख्यात्मक भन्दा पनि गुणात्मक विकास हुने विश्वास व्यक्त गरे । ‘अब लुम्बिनीलाई बुद्धिष्ट कम्युनिटीहरूसँग जोड्दै धेरै भन्दा धेरै देशसँग कनेक्टिभिटी जोडिने छ । भारत र चीनसँग पनि हामी डाइरेक्ट कनेक्टिभिटीको प्रयासमा छौं ।’–बजिमयले भने, ‘व्यवसायीहरूमा उत्साह छाएको छ । अब यहाँबाट निरन्तर अन्तर्राष्ट्रिय उडान हुँदा यस क्षेत्र गुलजार बन्दै जाने छ । ’रुपन्देहीमा १५० बढी टुर एण्ड ट्राभल्सहरू सञ्चालनमा रहेका छन् भने हवाई टिकटका क्षेत्रमा ५०/६० संस्थाहरुले मात्रै काम गर्ने गरेका छन् । 

भैरहवामा यसअघि थाई एयर एसियाले १८ कात्तिकदेखि नै बैंकक–भैरहवा–बैंकक सातामा दुई वटा उडान थालेको थियो । त्यस्तै, कतार एयरवेजले २७ कात्तिकदेखि दोहा–भैरहवा–काठमाडौँ–दोहा दैनिक एक उडानको तयारी गरेको छ । कतारले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) मा पेस गरिसके पनि काठमाडौँमा अवतरण गर्ने समय नमिलेर तालिका स्वीकृत हुन नसकेको क्यानले जनाएको छ । सातामा तीन उडान भर्ने जजिराले भैरहवामा सिधा उडान सुरु गरेको छ । नेपाल वायुसेवा निगमले काठमाडौँ–भैरहवा–दुबई तथा फ्लाई दुबईले दुबई–भैरहवा–काठमाडौँ–दुबई उडान सुरु गरेको क्यानले जनाएको छ । 

त्रिभुवन विमानस्थलमा उडान कटौती भएपछि स्वदेशी तथा विदेशी अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले भैरहवालाई वैकल्पिक विमानस्थल बनाउन थालेका छन् । भैरहवा विमानस्थल उद्घाटनको दिन २ जेठ ०७९ देखि केही महिना उडान गरेर बन्द गरेको जजिराले पुनः उडान थालेको हो ।  क्षमता विस्तारका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा (राति १० बजेदेखि बिहान ८ बजेसम्म) बन्द हुने भएपछि अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरू भैरहवा उडान गर्न तयार भएका हुन् । यसअघि त्रिभुवन विमानस्थलमा दैनिक २१ घण्टा उडान हुने गरेकोमा २३ कात्तिकदेखि १४ घण्टामा सीमित भएको छ । जसले गर्दा अन्तर्राष्ट्रिय उडान ३० प्रतिशत र आन्तरिक उडान ३५ प्रतिशत कटौती भएका छन् ।

भैरहवा विमानस्थलका महा प्रबन्धक तिवारी भन्छन् ‘लो कष्ट बजेट एयरलाइन्स, बौद्ध मार्गी देशका एयरलाइन्सका लागि भैरहवाको विमानस्थल उपयुक्त छ । फ्लाई दुबईको युरोपदेखि अमेरिकासम्म कनेक्टिभिटी छ, दुबई आफैँमा लिजर टुरिस्ट डेस्टिनेसन हो, एसियाकै बिजनेस हब पनि हो ।’ भैरहवामा फ्लाई दुबईले उडान गर्नु खुसीको कुरा भएको बताउँदै उनले काठमाडौंलाई पनि कनेक्टिङ गरेको हुँदा यात्रुको पनि अभाव नहुने उल्लेख गरे । ‘बौद्ध मार्गी देश थाइल्यान्ड र बुद्धको जन्मस्थल लुम्बिनी सीधा उडानबाट जोडिएको छ । लुम्बिनी आउने बुद्धिस्ट पर्यटकलाई उसले ल्याउनेछ । एयर एसिया विश्वकै नम्बर एक बजेट एयरलाइन्स हो, थाई एयर एसिया उसैको भगिनी कम्पनी हो ।’–तिवारीले भने, ‘थाई एयर एसियाले बैंकक–भैरहवा–बैंकक उडान गर्दा थाई पर्यटक मात्र आउँदैनन्, कम्बोडिया, भियतनामका बौद्ध मार्गी पर्यटक पनि आउने अपेक्षा छ ।’

खाडी मुलुकका यात्रु बोक्ने हुनाले भैरहवामा जजिराको भविष्य पनि राम्रो रहेको तिवारीको भनाइ छ । पश्चिम नेपालबाट खाडी मुलुकमा काम गर्न जाने धेरै छन् । जजिराले भैरहवा विमानस्थल उद्घाटन गरेकै दिनदेखि सातामा तीन दिन उडान गरेकोमा केही महिनामै रोकेको थियो । सरकारले भैरहवा र पोखरामा अन्तर्राष्ट्रिय उडान आकर्षित गर्न ल्यान्डिङ, पार्किङ, नेभिगेसन, ग्राउन्ड ह्यान्डलिङ (५० प्रतिशत छुट), यात्रुसेवा शुल्क, हवाई टिकटमा भ्याट छुट, हवाई इन्धनमा सहुलियतलगायत विशेष सहुलियत उपलब्ध गराएको छ । 

डि. बी. सुस्लिङ
लेखकको बारेमा
डि. बी. सुस्लिङ

सुस्लिङ ग्लोबल आवाज अनलाइनका समाचार संयोजक हुन् ।