ताजा अपडेट »
नवौं लुम्बिनी राष्ट्रिय महोत्सव

भैरहवामा मंसिर २० देखि  ‘नवौं लुम्बिनी राष्ट्रिय महोत्सव’ हुने

आइतबार, २५ कार्तिक २०८१, २२ : ३२
162 Shares
आइतबार, २५ कार्तिक २०८१
162 Shares

भैरहवा । सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले  भैरहवामा  यही मंसिर २० गतेदेखि ‘नवौँ लुम्बिनी राष्ट्रिय महोत्सव–२०८१’  आयोजना गर्ने भएको छ । मंसिर २० देखि पुस १ गतेसम्म  सञ्चालन हुने यस महोत्सव बारे सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले आइतबार पत्रकार सम्मेलनकाे आयाेजना गरी जानकारी गराएको हो। 

वि.सं. २०६१ सालदेखि प्रत्येक दुई वर्षमा 'पर्यटन, उद्योग, कृषि र व्यापार, राष्ट्रिय समृद्धिको आधार' भन्ने  मूल नाराका साथ भैरहवामा महोत्सवको आयोजना गरिँदै आएको सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष तथा महोत्सव आयोजक मूल समितिका संयोजक ठाकुर कुमार श्रेष्ठले बताए ।महोत्सवले रुपन्देहीलाई पर्यटकीय, औद्योगिक तथा व्यापारिक केन्द्रको रूपमा विस्तार गर्न, यस क्षेत्रका विभिन्न जातजातिका कला–संस्कृतिको पनि संरक्षण गर्दै आन्तरिक तथा बाह्य पर्यटनलाई प्रवर्द्धन गर्ने, विभिन्न जिल्लाका मौलिक तथा विशिष्टता पहिचान भएको वस्तु तथा उत्पादनहरूको विशेष प्रदर्शनी गरीने तथा महिला उद्यमीहरूको महोत्सवमा विशेष सहभागिता रहने उनले बताए ।

‘नवौँ पटक आयोजना गर्न लागिएको यस महोत्सवले स्वदेशी एवं गुणस्तरीय वस्तु तथा सेवाहरू बारे आम उपभोक्ताहरूलाई जागरूक बनाई  स्थानीय र सीमावर्ती बजारमा पाइने सामानहरू बिचको तुलनात्मक मूल्यका बारेमा उपभोक्ताहरूलाई जानकारी गराउने, स्थानीय स्तरमा उत्पादित विभिन्न उत्पादनहरू, घरेलु तथा हस्तकलाजन्य सामग्रीको बजारलाई प्रवर्द्धन गर्ने विश्वास आफूहरूले लिएको अध्यक्ष तथा संयोजक श्रेष्ठको भनाई  रहेको छ । मेला अवधिमा करिब  १० करोड बराबरको व्यावसायिक कारोबार हुने आफुहरूकाे अनुमान रहेको  पनि उनले बताए ।

स्थानीय विभिन्न उद्योग तथा व्यापारिक प्रतिष्ठान, विभिन्न घरेलु तथा साना उद्योगहरू, महिला उद्यमी तथा व्यवसायीहरू लगाएतकाे सहभागिता रहने यस महोत्सवमा कुल ३ सय वटा स्टलहरू रहने  आयोजकले जनाएका छन् । यस पटक स्टलको संरचना फरक र आकर्षक रहने पनि बत्ताइएको छ ।

‘लुम्बिनीमा बाह्य तथा आन्तरिक पर्यटकहरूको चासोलाई सम्बोधन गर्ने खालको  महोत्सव सान्दर्भिक प्रस्तुतिहरू,  स्थानीय सीप र साधनको प्रयोग हुने घरेलु उत्पादनको प्रवर्द्धनको लागि विभिन्न सराकोरवाला हरु बिच एकै स्थलमा छलफल तथा गोष्ठीको आयोजना, यस क्षेत्रका विद्यालयहरूका विद्यार्थीहरू बिच विभिन्न प्रतियोगिता हरुका माध्यमबाट महोत्सवसँग जोडिने  र आकर्षित गर्ने खालका कार्यक्रमहरू समेत आयोजना गरिने  आयोजकले बताएका छन् ।

 महोत्सवका लागि हालसम्म १५० वटा स्टल बुक भइसकेको  सिद्धार्थ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नेत्र प्रसाद आचार्यले जानकारी गराए । उनले यस महोत्सव लाई सफल पार्न सबैको साथ र सहयोग आवश्यक रहेको बताउँदै सबैको साथ रहने विश्वास व्यक्त गरे । त्यस्तै  लुम्बिनी प्रेस क्लब, रुपन्देहीका कार्यवाहक अध्यक्ष कमल रायमाझीले यो महोत्सवले पर्यटन प्रवर्द्धनका साथै बजार चलायमान बनाउने बताउँदै  यस्तो परिस्थितिमा महोत्सवलाई निरन्तरता दिनु नै ठुलो कुरा रहेको समेत बताए ।  

पत्रकार सम्मेलन सिद्धार्थ उद्योग वाणिज्य संघका भैरहवाका सचिव एवं महोत्सवको प्रचार प्रसार समिति संयोजक समेत रहेका मङ्गल भण्डारीको स्वागत तथा संघका महासचिव कृष्ण प्रसाद घिमिरेको सञ्चालनमा सम्पन्न भएको थियो । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।