ताजा अपडेट »
स्थानीय तहको उपचिर्वाचनको चटारो

लुम्बिनीमा उपनिर्वाचनः तीन दलकै प्रतिस्पर्धा, रुकुम पूर्वमा कांग्रेस-एमालेको गठबन्धन !

शुक्रबार, २३ कार्तिक २०८१, १६ : ०४
616 Shares
शुक्रबार, २३ कार्तिक २०८१
616 Shares

बुटवल । स्थानीय तहका रिक्त पदमा आगामी मंसिर १६ गते उपनिर्वाचन हुँदैछ । लुम्बिनीमा रिक्त रहेका ६ पदमा तीन ठूला दलबीच प्रतिस्पर्धा हुने देखिएको छ ।

रिक्त ६ पदमा यसअघिको निर्वाचनमा नेपाली कांग्रेसबाट ४ जना र माओवादीबाट २ जना निर्वाचित भएका थिए । ती सबै पदमा नेकपा एमालेले उम्मेदवार टुङ्गो लगाइसकेको छ भने नेपाली कांग्रेस र माओवादी केन्द्रले केही स्थानमा टुङ्ग्याएका छन् । 

लुम्बिनीमा हुने उपनिर्वाचनका पद मध्य रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकालाई प्रमुख दल कांग्रेस, एमाले र माओवादीले विषेश चासोका साथ हेरेका छन् । राष्ट्रिय स्वतन्त्र पाटी रास्वपाले उपनिर्वाचनमा भाग लिने तयारी गरे पनि अहिलेसम्म उम्मेद्वारको घोषणा गरेको छैन् । 

लुम्बिनीमा कुन कुन ठाउँ हुँदैछ उपनिर्वाचन ?
लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका अनुसार एक गाउँपालिका उपाध्यक्ष र ५ वटा वडाध्यक्षको लागि निर्वाचन हुने छ । यस्तै सोही गाउँपालिकाको वडा नम्बर २ को वडाध्यक्ष, गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर १ मा वडाध्यक्ष, रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नम्बर ४, बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर ४ र कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नम्बर १ को वडाध्यक्ष पदमा पनि निर्वाचन हुँदैछ ।

गत भदौ २८ गते सवारी दुर्घटनामा परी रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाकी उपाध्यक्ष भूपेन्द्रा बुढा मगरको मृत्यु भएको थियो । उनी २०७९ को निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट उम्मेदवार भइ निर्वाचित भएकी थिइन् । उनको मृत्यु पछि रिक्त रहेको उपाध्यक्ष पदमा निर्वाचन हुन लागेको हो । 

यस्तै सोही गाउँपालिकाको वडा नम्बर २ को वडाध्यक्षका अध्यक्ष पनि सोही सवारी दुर्घटनामा परी मृत्य भएको थियो ।  स्थानीय तह निर्वाचन ऐन, २०७३ मा जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, नगरपालिका प्रमुख, उपप्रमुख र वडाध्यक्षको पदावधि समाप्त नहुँदै निजको पद कुनै कारणले रिक्त भएमा र एक वर्षभन्दा बढी पदावधि बाँकी रहेको अवस्थामा बाँकी अवधिका लागि उपनिर्वाचनद्वारा पदपूर्ति हुने व्यवस्था अनुसार उपनिर्वाचनको तयारी गरिएको हो । 

यी रिक्त पदहरुमा एमालेले उम्मेद्वारको टुङ्गो लगाइसकेको छ । एमालले रुकुमपूर्वको पुथा उत्तरगंगाको उपाध्यक्षमा केशकुमारी तुलाचन, वडा नं २ को अध्यक्षमा जीवन रोका, गुल्मी मुसिकोट नगरपालिका वडा नं १ को अध्यक्षमा दलबहादुर थापा, बर्दिया ठाकुरबाबा नगरपालिका वडा नं ४ मा विष्णुप्रसाद सापकोटा, कपिलवस्तु शुद्धोधन गाउापालिका वडा नं १ मा अब्दुल मोजिन खाँ, रोल्पा रुन्टिगढी गाउँपालिका ४ को अध्यक्षमा बेगम पुनलाई उम्मेदवार बनाइएको एमाले लुम्बिनीका लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कडेँलले बताए ।  

कांग्रेस र माओवादीले अझै औपचारिक रुपमा उम्मेद्वारको घोषणा गरेका छैन् । कांग्रेस र माओवादीले अबको १/२ दिनमा नै उम्मेदवार टुङ्गाउने बताएका छन् । रास्वपाले उपनिर्वाचनमा भाग लिने बताए पनि अहिलेसम्म उम्मेद्वार घोषणा भने गरेको छैन् । 

यस्तो थियो , २०७९ को मतपरिणाम  
 २०७९ को निर्वाचनमा रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्ष माओवादी केन्द्रले जितेको थियो । तत्कालिन अवस्थामा गाउँपालिका उपाध्यक्षमा माओवादी केन्द्रका भुपेन्द्रा बुढा ४ हजार ५९ मत पाएर निर्वाचित भएकी थिइन् ।

उनका निकटम प्रतिस्पर्धी कांग्रेसका कमला कुमारी मल्लले २ हजार १० मत र एमालेका धर्म घर्ती बुढाले १ हजार ८१२ मत पाएका थिए ।   यस्तै सोही गाउँपालिकाको वडा नम्बर २ का वडाध्यक्षको मृत्युपछि उपनिर्वाचन हुँदैछ । यहाँ पनि गत निर्वाचनमा माओवादी केन्द्रका जसबहादुर श्रीपाली २३४ मत पाएर यो वडाको वडा अध्यक्षमा निर्वाचित भएका थिए । उनका प्रतिस्पर्धी कांग्रेसका कर्णबहादुर बुढाले १७९ मत पाएका थिए ।

यता गुल्मीको मुसीकोट नगरपालिका वडा नम्बर १ मा वडाध्यक्ष मोहन घिमिरेको निधनका कारण यहाँ उपनिर्वाचन हुँदैछ । गत निर्वाचनमा कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित घिमिरेले १ हजार १८२ मत पाएका थिए । उनका प्रतिस्पर्धी एमालेका नारायण बहादुर थापाले १ हजार १४३ मत ल्याएका थिए ।

यता रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नम्बर ४ मा कांग्रेसका टंकबहादुर पुन ४८८ मत पाएर विजयी भएका थिए । उनका प्रतिस्पर्धी एमालेका वेगम पुनले ४८० र माओवादीका शिवलाल रोकाले २०३ मत पाएका थिए ।
बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर ४ वडाध्यक्ष सुर्यबहादुर विष्ट जिल्ला समन्वय समिति प्रमुखमा निर्वाचित भएपछि यहाँको वडाअध्यक्ष पद खाली भएको थियो । गत निर्वाचनमा विष्टले १ हजार २०९ मत पाएका थिए भने उनका प्रतिस्पर्धी एमालेका नारायण अधिकारीले ५८० मत पाएका थिए ।

यस्तै उपनिर्वाचन हुन लागेको कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नम्बर १ मा यसअघिको निर्वाचनमा कांग्रेसका तिलकराम यादवले १ हजार ३२ मत पाएर विजयी भएका थिए । उनका प्रतिस्पर्धी एमालेका अब्दुल मोजीव खाँले ८८९ मत पाएका थिए ।

रुकुममा माओवादीलाई हराउन कांग्रेस–एमालेको गठबन्धन!
लुम्बिनीका रिक्त पद मध्य रुकुम पूर्वको पुथाउत्तर गंगा गाउँपालिकाले प्रमुख पदमा सबै जित्ने दाउमा छन् । माओवादी केन्द्र बलियो भएकाले यहाँ सत्ता गठबन्धनका प्रमुख दल कांग्रेस र एमालले गठबन्धन गर्ने गरी भित्री रुपमा तयारी समेत गरेका छन् । तर, यी दल मध्य कसले उपाध्यक्ष पद पाउने भन्नेमा कुरा नमिल्दा निष्र्कषमा पुग्न सकेका छैनन् । 

यता माओवादीले अहिले पनि जित आफ्नो पक्षमा पार्न विप्लव नेतृत्वको नेकपा र एकीकृत समाजवादीसँग तालमेल गरेर जाने तयारीमा छ ।  नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिहं पुनले पुथाउत्तर गंगाको उपाध्यक्षमा एमालेसँग मिलेर जाने सम्भावना रहेको बताए । ‘यहाँ मिलेर जानु पर्छ भनेर हाम्रो विचमा छलफल पनि भइरहेको छ । सकेसम्म यहाँ हामी कांग्रेस र एमालले मिलेर नै जान्छौँ,’–सभापति पुनले भने । 

यस्तै नेकपा एमालेका लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कडेँलले पनि रुकुम पूर्वमा कांग्रेससँग मिलेर नै जान सकिने बताए । उनले पनि मिलेर जानु पर्छ भनेर विभिन्न चरणमा कांग्रेस एमालेको छलफल भएको र मनोनय हुने दिनसम्म भए पनि सहमति हुने उनले बताए । ‘हामीले उपाध्यक्षको उम्मेद्वार घोषणा गरेका छौँ । तर, पनि हामी अहिले पालिका उपाध्यक्षमा मिलेर जानु पर्छ भन्नेमा दुई दल एक मत नै छौँ । सकेसम्म हाम्रो विचमा छिट्टै सहमति हुन्छ,’–उनले भने । 

यता नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन वरालले रुकुम पूर्व र रोल्पामा कांग्रेस–एमाले पहिला पनि मिल्ने गरेको बताउँदै दुई दल मिले पनि यस पटक पनि जीत निकाल्ने गरी तयारी गरेको बताउँछन् । ‘रोल्पा र रुकुममा काग्रेस र एमाले विगतमा पनि मिल्ने नै गर्नु भएको छ । यसकारण अहिले पनि मिल्दा हामीले त्यस्तो चिन्ता गर्नु पर्ने विषय नै होइन्,’– अध्यक्ष बरालले भने ।

साथै अध्यक्ष बरालले रुकुममा विप्लव र नेकपा एससँग मिलेर जाने गरी छलफल भएको र छिट्टै निष्कर्षमा पुग्ने बताए ।   

बसन्त आचार्य
लेखकको बारेमा
बसन्त आचार्य

आचार्य ग्लोबल आवाज अनलाइनका डेस्क संयोजक हुन् ।