ताजा अपडेट »
व्यवसायिक तरकारी खेती

तरकारी खेतीबाटै वार्षिक सात लाख आम्दानी

विहीबार, २२ कार्तिक २०८१, २१ : ३२
84 Shares
विहीबार, २२ कार्तिक २०८१
84 Shares

 


रामपुर (पाल्पा) । रामपुर नगरपालिका–६ स्थित प्याक्लुकका गङ्गा बस्यालले विसं २०७२ देखि व्यावसायिक तारकारी खेती गर्दै आएका हुन । करिब १२ रोपनी क्षेत्रफलमा गरेकाे तरकारी खेतीबाट उनले वार्षिक  सात लाख आम्दानी गर्दै आएका छन ।

आजभन्दा एक दशकअघि तरकारी खेतीबाट जीविकोपार्जन होला भन्नेमा बस्याल विश्वस्त हुन सकेका थिएनन् । सदरमुकाम तानसेनबाट टाढा रहेको रामपुर बजार ग्रामीण सहरका रुपमा चिनिन्छ । तरकारीले बजार नपाए नोक्सानी हुने चिन्ताका बीच उनी व्यवसाय विस्तार गर्दै जाने योजनासहित तरकारीखेतीमा लागेका हुन ।

अहिले तरकारीखेतीले बजार पाएपछि यसबाटै जीविकोपार्जन भइरहेको बस्याल बताउछन् । वार्षिक रुपमा सबै खर्च कटाएर तरकारी बिक्रीबाट सात लाख आम्दानी हुने गरेको उनले जानकारी गराए। उनले स्थानीय बजारको अवस्था र ग्राहकको माग अनुसार तरकारी लगाउने गर्छन ।  आलु, काउली, बन्दा, गोलभेँडालगायत जातका तरकारीले राम्रो बजार पाउने भएपछि सो जातका तरकारी उत्पादनमा  उनले जाेड दिने गरेकाछन ।

बस्यालले हाल १२ रोपनी क्षेत्रफलमा तरकारीखेती गर्दै आएका छन । दश रोपनी जग्गा १० वर्षका लागि वार्षिक रु ५० हजार बुझाउने गरी भाँडामा लिएको बताउँदै स्थानीय बजारमा तरकारीको खपत हुन थालेपछि व्यवसाय विस्तार गरी १२ रोपनी पुर्याएको उनले जानकारी दिए ।

तरकारी खेतीबाट परिवारको सबै खर्च र छोराछोरीको पढाइ खर्चसमेत व्यवस्थापन हुँदै आएको बस्यालले बताए। ठूला सहर तथा बजार पुग्ने सडक जोडिए पनि पक्की र व्यवस्थित सडक नहुँदा र रामपुर गाउँ भएकाले बजार सानो भएकाले  केही समस्या भने हुने उनको भनाइ छ ।

“भविष्यमा यो व्यवसायलाइ आयआर्जनको बलियो माध्यम बनाउन सकिन्छ भन्ने सोचका साथ तरकारीखेती सुरु गरेँ, तरकारीबाट सोचेजस्तै आम्दानी भइरहेको छ”, बस्यालले भने, “हाम्रो परिवारको जीविका राम्रैसँग चलेको छ, यस व्यवसायबाट हामी सन्तुष्ट  नै छौँ ।”

पहिले स्याङ्जाको वालिङ, गल्याङलगायत विभिन्न बजारमा लगेर तरकारी बिक्री गरेको स्मरण गर्दै उनले अहिले भने उत्पादित तरकारीले रामपुरमा नै खपत भइरहेको जानकारी गराए।

व्यवसायमा उनकी श्रीमती राधिका बस्यालले  ,समेत सघाउदै आएकी छन । श्रीमान् श्रीमती दुवैजना तरकारी खेतीमा आबद्ध छन । उनीहरुको यो व्यवसाय देखेर अहिले गाउँघरका छिमेकीले पनि व्यवसायिक तरकारी लगाउन थालेका छन् । रामपुका बारी हरिया तरकारीले ढाकिएका छन् । उनको बारीमा अहिले काउली, बन्दा, आलु, सागमुला, धनियालगायत सागसब्जी तयार हुँदैछन् ।

गत भदौमा मात्रै एक रोपनी जग्गामा लगाएको काँक्राबाट  एक लाख आम्दानी भएपछि व्यवसायमा हौसला थपिएको राधिकाले बताइन । “तरकारीखेती थालेपछि वरिपरि हरियाली भएको छ । गाउँमा विस्तारै पहिचान पनि बन्दै गएको छ । अहिले बजारको समस्या छैन, व्यापारीले घरमा आएर खरिद गरेर तरकारी लैजान्छन”, उनले भनीन् ।

आफुहरूले बर्सेनि तरकारीका साथै बिरुवासमेत उत्पादन गर्न थालेको राधिकाको भनाइ छ । उनका अनुसार करिब एक रोपनी जग्गामा मौसमी तथा बेमौसमी जातका तरकारीका बिरुवा उत्पादन भइरहेका छन् ।

पछिल्लो समय यहाँको बजार बढ्दै गएपछि निर्वाहमुखी खेती गर्ने किसानले पनि व्यावसायिक तरिकाबाट खेती गर्न थालेका रामपुर नगरपालिकाका कृषि शाखा प्रमुख नारायणप्रसाद गैरेले बताए । व्यावसायिक खेतीमा जोड दिने किसानलाई नगरपालिकाले खेती गर्ने प्रविधिसम्बन्धी तालिम, गोष्ठी, बिउबिजन, उपकरण तथा प्राविधिक सेवाहरू दिँदै आएको  पनि उनले जानकारी गराए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।