ताजा अपडेट »
नियात्रा-२

सम्झनामा : नबिर्सिने यात्रा

मंगलबार, २० कार्तिक २०८१, ०८ : ५७
104 Shares
मंगलबार, २० कार्तिक २०८१
104 Shares

रुकुमतिरको रुट समाउँदा :
हाम्रो संस्थाका कोषाध्यक्ष बिनोद बस्यालको पेट सुमसुम्ती फुलियो । बेलौतीले हो कि हिजो राति खाएको भटमास नपचेर हो थाहा भएन तर उनलाई बुर्तिबाङ्गको एउटा क्लिनिकमा तीनवटा इन्वेक्सन नसामा लगाएपछि राहत मिल्यो नत्र हाम्रो अध्ययन, अवलोकन भ्रमण पूर्वी रुकुम नभई पाल्पाको दोभानतिर सोझिनु पर्ने बाध्यता हुन पनि सक्थ्यो । संस्थाका महासचिव गणेश रास्कोटी, सदस्य हरिकला,कार्यालय सचिव सरिताका मन आत्तिएका थिए । कतै विनोद जीको पेट सञ्चो नभएमा रुकुमतिरको रुट क्यान्सिल त हुने हो कि भनेर ? 
निसीखोला गाउँपालिका हुँदै हामी आफ्नै यात्राको लयमा थियौं । पूर्वी रुकुम र बाग्लुङ्गको सीमाना भेट्न पनि हामीलाई धेरै बेर लाग्यो । यो मध्यपहाडी, पुष्पलाल लोकमार्गमा पर्दोरहेछ । बाटो राम्रो रहेछ । बाटाभरि ट्राफिक चेकिङ्ग, मोटर रोकेको मौकामा भूमे गाउँपालिकाको लुकुम  (मगरभाषामा शिरानी) गाउँलाई इन्सेटमा राखेर फोटो खिचियो । यो गाउँ खासगरी लामा, झाँक्री गाउँको नामले चिनिने रहेछ । प्रत्येक घरमा लामा,झाँक्री हुने कुरा सुनियो । यहाँका बासिन्दाहरुले प्रकृतिलाई पूजा गर्दा रहेछन् । साउने सक्रांन्तिमा लूतो फाल्ने चलन, यहाँको विशेष हुँदोरहेछ । विशेष रुखहरुलाई काट्न नपाइने चलन रहेछ ।  गाउँ हेर्दै मनमोहक र रहर लाग्दो रहेछ । यहाँका बारेमा धेरै कुरा जान्न, सिक्न र बुझ्न मन थियो तर घडीको सूई सुइँकियो बेस्सरी । 

तकसेरातिर मोबाईल तेर्साउँदा :
हामी पूर्वी रुकुमको काँक्री पुग्दा दिउँसोको २ बजेर ४० मिनेट गएको थियो । काँक्री गाउँ, भूमे गाउँपालिकामा पर्दोरहेछ । यही सानोबजारबाट उत्तरपूर्व हान्निएपछि करिव १८ किलोमीटर दूरीमा पुथा उत्तरगंगा गाउँपालिकाको तकसेरा गाउँ पुगिदो रहेछ । हामीलाई त्यहाँ पुग्न करिव डेढघण्टा लाग्यो । कच्ची, साँघुरो र घुम्तीबाटो देख्दा मनै जिरिङ्ग हुन्थ्यो । हामीले तकसेरा गाउँलाई टाढैबाट खुबै नियालौं । उतैतिर मोबाईल तेर्साएर फोटो खिच्यौं तर उत्तरगंगालाई भने तरेनौं । मगर जातिकोमात्र बसोबास रहेको अनि मगर खामभाषा बोलिने तकसेरा, नेपालकै नमूना जातीय बस्ती समेत हो । एउटा घरको छत अर्काको घरको आगन हुने रहेछ यहाँ । सो कुरा मैले पढेर, फिल्ममा हेरेर थाहा पाएको थिएँ । घरज्वाइँ र खुस्मा फिल्म यही नै छायाँकन भएको कुरा थाहा पाएपछि त्यतै जान, मनमा हुटहुटी लागेको थियो । पशुपालनमा अब्बल तकसेरा, यतिबेला देशकै पर्यटकीय गन्तव्य बनेको छ । रुकुम मैकोटमा पुग्न नपाउँदा हाम्रा सदस्य लालकुमार श्रेष्ठले नाक खुम्चाए । 

बाटाभरि ओखरका बोटहरु देखिन्थे । साथीहरुले ओखर टिपे । नैना र हरिकलाले दाँतले टोकेर हाडेओखर फुटाले । बाटामा अनेकथरिका बोटहरु भेटिन्थे । वनमारा त यता पनि प्रशस्तै रहेछन् । पर्यटकीय क्षेत्र तकसेरामा यहाँलाई हार्दिक स्वागत छ भनिएको गेटले फर्किदा बिदाई समेत गरेको थियो । पुथा उत्तरगंगा गाउँपालिकामा पर्ने तकसेरा,साविकको तक र सेरा गािवस रहेछ । हामी पुथा उत्तरगंगा गाउँपालिकामा हार्दिक स्वागत लेखेको गेटनिर पुग्दा भेडाहरु पाटनमा चरिरहेका थिए । त्यो सुन्दर दृश्यले जैविक विविधता झल्किन्थ्यो । अझ त्यी पाटनहरुमा यार्सागुम्बा समेत पाइदोरहेछ ।

 

रुकुमकोटमा गाँस र बास :
काँक्री बजार फर्केपछि चाउचाउ र चिया खायौं । अनि करिव २२ किमी दूरीमा रहेको जिल्ला सदरमुकाम रुकुमकोट पुग्दा साँझको साढे ६ बजिसकेको थियो ।  चाइना होटलमा गाँस र बासको प्रवन्ध साहित्यकार फत्तेकुमारी वलीले गरेकी थिइन् । त्यही हामीले उनलाई पनि भेट्यौं र प्रलेसका जिल्ला अध्यक्ष उपेन्द्र कामीसँग भेट्न अवसर समेत मिल्यो ।  खाना पाक्नु अघि रुकुमकोट बजार हेयौं । सानो,चिटिक्कको बजार घुमेपछि सामाजिक एवम् राजनीतिककर्मी केशकुमारी तुलाचनको पसलमा पुगियो म र भोजबहादुर छहरी । एकछिन उनकै माध्यमले लुम्बिनी प्रदेश माननीय सरिता पुनसँग टेलीफोन वार्ता गरियो । उनको माइती गाउँपनि तकसेरातिरै होइच । दसैंछेका विहे गरेकी उनलाई फोनबाटै बधाई पनि दिएँ । 

आरामदायी होटलमा सुत्नुअघि मिठो खाना खाइयो । कतिपय साथीहरुले विहान नुहाउन चिसो हुने भएकोले नै राति नै नुहाइधुवाइँ गर्न भ्याएको कुरा विहानपख मोटर चढ्दा बताउँदै थिए । विहान साढे ६ बजे हिड्ने तरखर गरियो । महिला साथीहरुले हल्का अबेला गरे । मैले भने केशकुमारी मेडमको दुकानबाट स्थानीय बेलौती, प्लाष्टिकको झोला भरि हालें । तौलिन खोज्दा उनले मान्दै मानिनन् । पैसा तिर्न नपाउँदा मनै कटक्क भयो । बुहानी नहुँदै उपहार भनेको ,बुहानी भइसक्यो भनेर जवाफ दिइन् । कमल दह एक्लै घुमें । एक हजार दुई सय ४१ मीटर यसको फेरो रहेछ । समुद्री सतहदेखि एक हजार पाँच सय ७२ मीटर उचाइँमा रहेको उक्त दहमा कमलको पातहरु थिए तर फूल भेट्न सिजनले साथ दिएन । खुसी मन लिएर कमल दह र रुकुमकोटको बोर्डमा फोटो खिचेर कैचीतिर झर्दा नन्दलाल वलीले बिदा गरे । हार्दिकतापूर्ण विदाईले उत्साह थप्यो यात्रामा । 

पश्चिम रुकुमको साँख गाउँमा : 
 करिव नौ बज्दैगर्दा हामी साँख गाउँमा खाजा खान रोकियौं । बस्ती सुन्दर रहेछ । ताल,पहाड अनि कृषि भूमिसहितको बस्तीले खुबै आकर्षित गर्यो हामीलाई । चिया,पाउरोटी,परौडा र दही खाएर हामी रारा घुमी फर्केको पाल्पाली अर्को टीमसँग विदा भयौं । हामीले खाजा खाएको भूगोल, पश्चिम रुकुममा पर्दोरहेछ । विजुली,पानी,बाटो,सिंचाइ अनि फोर जी इन्टरनेट सेवाले पश्चिम रुकुमको यो गाउँले विकासको छनक दियो ।

कानेबाङ, दबाङ, भण्डारीकाँडा, ठाराढुंगा, सित्तलपोखरी,सोलाबाङ,खारा,झुल्नेटा,स्ल्यानटार, खरीबोट, बाघचौर, थारमारेहुँदै सल्यानको सारदा नगरपालिकाको ढोरचौरमा खाना खाइयो । साथीहरुले दालमा झण्डै जिम्दो साङ्ला उपहार स्वरुप खाएनन् । भ्रमणमा र चल्तीको होटलमा यस्तै हो भनेर चित्त बुझाइयो । अचारसँग भात रन्काइयो । पिसाव फेर्न जाँदा झण्डै १२ हात लर्केर मेरो ज्यान गएन । थरर जिउँ काँपेर मोटरमा चुप्रुक्क परेर बसें । 

माझीलाई माछा पाहुर :
राणागाउँमा कुनै मान्छेलाई नदेख्दै मोटर बेतोडले कुद्यो । लुहाम त्रिवेणी खोला तरियो । अनि कपुरकोट गाउँपालिका वडा नं. ३,मूलपानीमा रहेको मूलपानी वनस्पति पार्क एवम् वनस्पति अनुसन्धान केन्द्र,सल्यानको अवलोकन र केही कुरा सोही कार्यालयका प्रमुख मित्र पाठकबाट जानकारी प्राप्त भयो । उनले आफ्नो अनुसन्धान केन्द्रका बारेमा बताए । पुस्तक, ब्रोसियर र फ्लोरो समेत दिए । हामीले पनि आफ्नो उपहार दियौं । मालागिरी,रिठ्ठा,अशोगन्धा,चिउरी, टिम्बूरको वेर्ना समेत यही अनुसन्धान केन्द्रले तयार पार्दोरहेछ । हाम्रो दालचिनीको पाहुर उनीहरुलाई माझीलाई माछा पाहुरजस्तै भएछ । 

सो उद्यानमा ६६ प्रजातिका दुलर्भ एवम् लोपोन्मुख र साइटिसमा सुचीकृत वनस्पतिहरु संरक्षित छन् । रक गार्डेन,फिजिक गार्डेन( जडीबुटी बाटिका) र जलीय गार्डेन लगायतका गार्डेनहरु छन् । सुनाखरीहरु छन् । सिन्धुली र रुकुममामात्र पाइने हिउँ केराको आकर्षक बोट देख्दा अचम्मै लाग्यो । तर कोसा नलाग्दो रहेछ । यो अनुसन्धान केन्द्रले सचेतीकरण,संरक्षण,अनुसन्धान र मनोरञ्जन दिने रहेछ । मूलपानी वनस्पति उद्यान ,केन्द्रको फिल्ड वा प्रदर्शनी स्थल रहेछ । मित्र पाठक सरको लामो ज्ञानवद्र्धक जानकारी लिन लामो समय दिन सकेनौं । यो उद्यान र अनुसन्धान केन्द्र दिनभर हेरेर पनि हेर्न नभ्याइने र नथाकिने रहेछ । 

यहाँ रहेको अनुसन्धान केन्द्रले कर्णाली र लुम्बिनी प्रदेशलाई समेत हेर्ने रहेछ । हामीले पनि कार्यालय प्रमुख मित्र पाठकलाई हाम्रो संस्थामार्फत तिनाउ गाउँपालिकासम्म ल्याउने,  दालचिनी,अम्रिसोका बारेमा थप खोज,अध्ययन र अनुसन्धानमा जोड दिने सल्लाह पनि गरेका छौं । त्यतिमात्र होइन तिनाउको वनस्पति,जडीबुटीको पहिचान,खेती र बजारीकरणका बारेमा पनि बुझ्ने ,जान्ने र बुझाउन हाम्रो अध्ययन तथा अवलोकन भ्रमणले पक्कै सहयोग पुराउने छ । यस्तै उद्यान तिनाउमा पनि बनाउन सकिएमा हाम्रो अवलोकन भ्रमण फलदायी हुने थियो । 

संरक्षणमुखी हाम्रो यात्रा :
कपुरकोट तरकारीको नामी ठाउँ भनेर सुनेपनि गतिलो गरी हेर्न भ्याएनौं । तुलसीपुर बजारमा एकछिन भुलेर हामी ओरालो लागियो । घोराही बजार नजिकै रहेको हिसिला वलीको अल्लो उद्यम हेर्न नपाउँदै हामी लमही आइपुगियो । साथीहरुले लड्डु र केरा किने । मोटर हुँइकिएर सालझण्डी पुग्यो । त्रिमूर्ति होटलमा रातिको नौ बजे खाना खायौं । बुटवल आउँदा १० बज्यो । साथीहरु पाल्पा दोभानतिर म र विनोद, साथी बुद्धको मोटरमा नयाँमिल पुगियो । उनलाई छाडेर घरभित्र पस्दा ११ बजिसकेको थियो रातको । 

पाल्पा, तिनाउ गाउँपालिका वडा नं. ३ मा मुख्य कार्यालय रहेको सामुदायिक वन समन्वय समितिले वन,वातावरण र जैविक विविधता सम्बन्धी अध्ययन र अवलोकन गर्न तय गरेको तीन दिने उक्त भ्रमणबाट हामीहरुले धेरै कुरा सिक्ने,बुझ्ने र जान्ने अवसर प्राप्त गरेका छौं । अध्ययन र अवलोकनबाट सिकेका हाम्रा सिकाई हाम्रो क्षेत्रमा प्रयोग गर्ने र कार्यान्वयन गर्ने हामी मनसुवा छ । भ्रमणको संयोजन गर्ने संस्थाका वरिष्ठ उपाध्यक्ष प्रेम पाण्डेयको भूमिका राम्रो रह्यो । उपाध्यक्ष शेरबहादुर थापाले भ्रमण अवधिभर चुपचाप फोटो तथा भिडियो खिचि रहे । जो हाम्रो लागि सम्पत्ति बन्ने छ । सहभागी सबै साथीहरुको साथ, समर्थन र सहयात्रा उल्लेखनीय रह्यो । भ्रमणमा सहभागी हुन नसकेका साथीहरु पनि बिर्सिन नसक्ने यात्राका सम्झना बनेका छन् । सबैको साथ र सहयोगबाट वन,वातावरण र जैविक विविधता संरक्षणको यात्रामा सफलतातर्फ उन्मुख हुनेछौं । संरक्षणमुखी हाम्रो यात्रा निरन्तर चलिरहने छ । 

सम्झनामा : नबिर्सिने यात्रा

दलबहादुर गुरुङ
लेखकको बारेमा
दलबहादुर गुरुङ
स्तम्भकार