ताजा अपडेट »
नियात्रा-१

सम्झनामा : नबिर्सिने यात्रा

सोमबार, १९ कार्तिक २०८१, ०९ : ४८
368 Shares
सोमबार, १९ कार्तिक २०८१
368 Shares

बाग्लुङ्ग ढोरपाटन, पूर्वी रुकुम, पश्चिम रुकुम, सल्यान, दाङहुँदै पाल्पा, दोभानसम्मको यात्रा 

‘शनि नछुट्नू, मंगल नजुट्नू भन्थे !’ वन, वातावरण र जैविक विविधता संरक्षणमा लागेका हामी संरक्षणकर्मीहरुलाई त्यो भनाइले कानमा बतास लाएन । साथीहरु बुटवलबाट बटुलिदै पाल्पा, तानसेन आउँदा नौ बज्न आँटेको थियो । म भने काम विशेषले अघिल्लै दिनै तानसेन बास बस्न आइपुगेको थिएँ । तिनाउ गाउँपालिकाका संस्थापक अध्यक्ष ओमबहादुर घर्तिमगरकहाँ गाँस, बासको उचित प्रवन्ध थियो । शनिवार विहानै पाल्पा, क्षेत्र नं.२ का संघीय माननीय ठाकुरप्रसाद गैरेसँग जनतासँग जनप्रतिनिधिहरुको सम्बन्ध, सहकार्य र सहयात्रा कस्तो हुने विषयमा क्षणभर कुराकानी गर्ने अवसर जुर्यो । 

khula mausam

चियाको चुस्कीसँगै चिन्ता : 
तानसेनको श्रीनगर मिष्ठान्न भण्डारमा शिक्षाप्रेमी एवम् पर्यटनका जानकार आदरणीय मनमोहन श्रेष्ठ सरसँग चिया गफ चल्यो । तानसेन, पर्यटनकीय दृष्टिले कमजोर बन्दै गएको, शैक्षिक हबका रुपमा विकास हुन नसकेको तानसेनलाई अब कसरी माथि उठाउने उनको चिन्ता चियाको चुस्कीसँगै सुन्दै गएँ । त्रिभुवन बहुमुखी क्याम्पस, तानसेनको क्याम्पस प्रमुख समेत बनेका श्रेष्ठ सरसँग बसेर घण्टौं कुरा गर्दा पनि मेरो धीत मर्दैन । उनीसँग पटकपटक भेट भएपनि पर्यटनको कुरा गरेर तुरिन्न । उनको बोलीमा दम छ । मैले उनीबाट आश गर्दैगर्दा उनको उमेरसँग उनलाई दाँज्न मन लाग्दैन । उमेर त अंकको गणना हो जस्तो लाग्छ । सीटी भ्यू होमस्टे चलाएर बस्दै आएका रैथाने नेवार मनमोहन सरले आफूलाई सिंगो पाल्पाको पर्यटनदूत बनाउन सकेमा उत्तम हुने थियो । 

टुप्लुकिए, जिल्ला अस्पताल, पाल्पाका अध्यक्ष गुराँस आत्रेय पनि । त्यतिञ्जेल वन, वातावरण र जैविक विविधतासम्बन्धी अवलोकन भ्रमणको मोटर तानसेन, टुंडीखेल आउनै लागेको सूचना सामुदायिक वन समन्वय समिति, तिनाउनका वरिष्ठ उपाध्यक्ष प्रेम पाण्डेयले दिएपछि गुराँसको मोटरसाइकिलमा हुँइकिएर आउँदा साथीहरु मलाई पर्खिदै रहेछन् । 

bajar

दालचिनीको बेर्ना उपहार : 
रानीमहललाई दाहिने पारेर अघि जाने निर्णय गरियो । रुरुक्षेत्रमा पुगेपछि तीनमुखे पुललाई इन्सेटमा राखेर साथीहरुका बीच फोटो खिचियो । रुद्रबेनीमा ताजा खाना खाइयो । बडिगाड (पश्चिममा बोलिने खाम मगर कुरामा बडि भनेका सबभन्दा ठूलो र गाड भनेको खोला) लाई हेर्दै मन शित्तल भयो । त्यहाँबाट १५ किमी दूरीमा रहेको गुल्मी, खैरेनीमा सत्यवती गाउँपालिकाका अध्यक्ष टीकाराम पाण्डेय र प्रमुख प्रशासकीय अघिकृतसँग बाटैमा भेट भइयो । उनीहरुसँग हार्दिकतामात्र साटेनौं बरु हामीले हाम्रो संस्थाको परिचयात्मक डायरी र दुई वटा दालचिनीको बेर्ना उपहार दियौं । उनीहरु मख्ख परे । चिया खाऔंभन्दै थिए तर हतारोले मोटर अघि गुड्यो । बाग्लुङ्गको बुर्तिबाङ्ग पुग्नु अघि, मुसीकोट नगरपालिकाको आलिसान भवन देखियो बाटोबाटै । मेयर साहेव जीवन खरेलसँग फोनमा कुरा भयो । तर, सशरीर साक्षात्कार हुन सकिएन । 

बाग्लुङ्गको बुर्तिबाङ्ग पुगेपछि हामी बुर्तिबाङ्ग सबडिभिजन वन कार्यालयका  अधिकृत विजय सुनारसँग भेट्यौं । उनले आफ्नो सवडिभिजन वन कार्यालयभित्र पर्ने ९३ वटा सामुदायिक वन उपभोक्ता समूहहरु बरे सुनाए । त्योमध्ये ढोरपाटन नगरपालिकामा ४९ वटा सावउस र बाँकी सावउस निसीखोला गाउँपालिकामा पर्ने उनले सुनाए । खोटेसल्ला, खयर, उत्तिस, सुगन्ध कोकिला, सालका रुखहरु आफ्ना सावउसहरुमा पाइने कुरा बताए । जिल्लाभरि पाँच सय ३५ वटा सावउस जिल्लामा रहेको र ५७.५१ प्रतिशत् वनले ओगटेको तथ्यांक पनि सुनाए । रामरेखा सावउस नै जिल्लाको पहिलो सावउस रहेको इतिहासको फेहरिस्त लगाए । हामीले संस्थागत परिचयात्मक डायरी र दालचिनीको बेर्ना उपहार दिएर बिदा भयौं । 

दूरी नजिकै भएपनि कच्ची बाटो, भुजीखोलालाई दाहिने पारेर ढोरपाटन पुग्नुअघि हामीले एक हजार, सात सय ५० मीटर उचाईमा रहेको बोबाङ्ग गाउँ समेत पार गरेका थियौं । गाउँका घरका छतहरुमा फर्सीहरु पल्टिएका थिए । कलात्मक तरिकाले मकैका झोत्ता हालिएका थिए । फूलहरु फुलेको देख्दा तिवार नजिकै आइरहेको संकेत दिन्थ्यो । हामीले ती सुन्दर दृश्यहरु आँखामा सजाउँदै, मनमा सिउँरेर अघि बढ्दै गर्दा करिव पाँच वजेतिर ढोरपाटन उपत्यकालाई अंगाल्न पुग्यौं । जाडोउस्तै थियो । ढोरपाटन चिनारी गेष्ट हाउसमा बास बस्ने व्यवस्थापन भू-गर्भशास्त्री प्रेम पौडेल र उनका मामा चन्द्र अर्यालले गरिदिएकोमा हार्दिक कृतज्ञता प्रकट गर्दै बसियो । 

pahad

खिमासँग खिचिक्क फोटो : 
ढोरपाटन शिकार आरक्ष कार्यालयमा पुगेर रेञ्जर खिमा महतारासँग कुराकानी गरियो । उनले २०४४ बैसाख १ गते राजपत्रमा प्रकाशित एक हजार तीन सय २५ वर्ग किमी क्षेत्रमा पूर्वी रुकुम (६० प्रतिशत्), बाग्लुङ्ग (२६ प्रतिशत्) र म्याग्दी जिल्ला (१४ प्रतिशत्) मा फैलिएको शिकार आरक्षका बारेमा जानकारी दिइन् । यो आरक्षमा दुई हजार मीटरमा रहेको तकसेरा गाउँदेखि सात हजार, तीन सय ७१ मीटर उचाइँमा रहेको चुरेन हिमालसम्मको भाग रहेको उनले सुनाइरहँदा हामीले गजवले सुनिरह्यौं । सातवर्ष भयो रे ! उनले जागिर थालेको तर उनका कुरा सुन्दा सत्तरी वर्षकी पाकी महिलाकोजस्तै । पश्चिम रुकुमकी खिमालाई हाम्रो संस्थाकी सदस्य माया थापाले दालचिनी उपहार दिइन् । त्यतिबेला खिमासँग खिचिक्क फोटो खिचियो । मन फुरुङ्गै भयो ।  यो आर्थिक वर्षभित्र दुई सिजनमा नाउर, घोरल, झारल गरेर २० वटाको शिकार खेल्ने अनुमति रहेछ । नाउरलाई शिकार गर्दा एउटाको करिव १८ लाख राजस्व सरकारलाई तिर्नुपर्ने रहेछ । झारल  र घोरलको राजश्व कम रहेछ । नेपालीहरुले यहाँ आएर अहिलेसम्म वैधानिक शिकार खेल्नका लागि राजस्व तिरेको इतिहास नरहेको खिमाले सुनाइन । विदेशीहरुलेमात्र यस क्षेत्रमा शिकार गरेका रहेछन् । यस आरक्षमा करिव एक हजार दुई सय नाउर, ६ सय बढी झारल र घोरल रहेको समेत उनले जानकारी गराइन् । यतिकुरा हामीले प्रत्यक्ष रुपमा कहिलेपनि सुन्ने अवसर पाएका थिएनौं । वन, वातावरण र जैविक विविधता संरक्षणमा लागेका हामीलाई यो सूचना नौलो थियो । प्रभावकारी थियो । 

सास फेर्न सकस : 
चिनारी गेष्ट हाउसमा आउँदा मन, मुटु जाडोले काँपिरहेको थियो सबैका । क्यामफायर गरियो । एकछिन सांस्कृतिक कार्यक्रम गरियो । हाम्रो संस्थाका पाका पुराना (पापु जी) पदम कार्की र जगबहादुर क्षेत्री सर मज्जाले नाँचे उनीहरुको नृत्य अत्यन्तै सुन्दर र प्रभाकारी थियो । हामीले पनि नाँचेर साथ थिइयो   खाना खाएर तुर्नेबेला मलाई सास फेर्न सकस भयो । एकछिन त अत्तायो । त्यस्तै समस्या त प्रेम पाण्डेय र हाम्रो संस्थाका कार्यालय सचिव सरितालाई पनि भएको विहानपख थाहा लाग्यो । सायद लेक लागेको संकेत हुन सक्छ । सिरक ओढेर समस्या भएको हो कि भनेर सिरक फालेर शरीर तनाक तुनुक गरें । अहँ, हुँदै भएन । त्यतिबेला सम्झिनुपर्ने सबैलाई सम्झिएँ । कतै जीवनको अन्त्य यतै हुने त होइन भनेर मनले मलाई प्रश्न गर्यो । 

bheda

ढुङ्ग्रे चिया सुर्काउँदा : 
अर्को दिन अर्थात् कार्तिक ११ गते सखारै हामी तिब्बतीयन बस्तीतिर गयौं । करिव ५०/६० घर रहेछन्, तिब्बतीय शरणार्थीहरु । उनीहरुले आआफ्ना व्यवसाय गरेर जीवन गुजारेका रहेछन् । ढोरपाटन वडा नं. ९ को पाखाथरमा अनिता होटलकी अनिता साहुनीले ढुङ्ग्रोमा फिटेको चिया पियौं । घ्यू, नून, दूध हालेर फिटिएको उक्त ढुङ्ग्रे चिया प्रतिगिलासको ४० रुप्पे पर्दोरहेछ । मिठो गरी सुर्काएँ मैले तर केही साथीहरुले दुई सुरुप पारेर कुनातिर सुर्काइ दिएका रहेछन् ।   

साथीहरुले आलु सोधे । संस्थाकी हरिकला कुमाल, टिकटक बनाउनका लागि खच्चरमा चढिन् । नैना क्षेत्रीले उनलाई साथ दिन खोज्दा दुबैजना खच्चरबाट बाटोमा घोप्टिए । चोट लाग्यो कि भनेर साथीहरुले उनीहरुलाई उठाए । लादीमा पोख्खिएका रहेछन् । खासै दुर्घटना ठूलो भएन । पछि पछ्छारिएको भाग दुखेर हरिकलाले सिमामोटल खानु पर्यो । 

बुकीले बोलाउँदा  ः 
ढोरपाटन सुन्दर उपत्यका हो । यहाँ जनैपूर्णिमामा ठूलो मेला लाग्छ । उत्तरगंगा नदीमा नुहाएर र उत्तरगंगा ढोरवराहको थानमा पूजा गर्नेहरुको लर्को लाग्छ । थानमा पाइला राख्ने ठाउँ हुन्न । उत्तरगंगामा नुहाउनेहरुको लाइन विहान १ बजेदेखि लाग्ने कुरा स्थानीयहरुले बताउँदै थिए । थानको छानो छैन । यसको पनि आफ्नै कहानी रहेछ । रुद्रताल, छेन्तुङ्ग एक खुट्टेको गुम्बा, छोर्तेन र तल्लो जलजलाबाट देखिने धवलागिरी हिमश्रृङ्खलाले त्यहाँ पुग्ने हर पर्यटकहरुलाई आफूतिर तानिरहन्छ । बुकी फूलको राजधानीजस्तै लाग्यो ढोरपाटन । बुकीले सबैलाई बोलाएजस्तै भान भो ।  

मैले नि पहिलोपटक हरिकलाको मोबाईलबाट टिकटक बनाएँ । धाराबाट पानी शिरमा राखेर थानको मान राख्दै बनाएको टिकटकले मनै उल्लास बनायो । पवित्रभूमिमा पाईला राख्न पाउँदै खुसीले उम्लिएँ म । हुन त यो ठाउँको दर्शन २०७९ को जेठ महिनामा गरिसकेको थिएँ । तैपनि करिव दुई हजार नौ सय मीटर उचाइमा रहेको ढोरपाटन यात्रा र भू–दृश्यले मनै चङ्गा भो । पर्यटकको सुविधालाई मध्यनजर गरेर स्थानीयहरुले सामुदायिक होमस्टे र २२ वटा होटल, रिसोर्ट र लजहरु चलाएका रहेछन् । मौसमी यात्रा गर्न मिल्ने यो उपत्यका पुग्नभने कठिन छ । हिउँदमा त ठिकै हो, वर्षामास् समस्या हुने गर्छ ।

hotel

बगरै बगर, कतै सल्लाका कोणघारी जंगल, कतै बुकी फूल्ने डाँडो । फागुनेभीर हेर्दा त शिरको टोपी भूइँमा । रमाईलो कति हो कति । विहान झुल्किएको घामले बालुवाका कणहरु टल्किएर सुनजस्तै, मोतीजस्तै । अहा ! कसरी बयान गरुँ ? छाडेर आउनै मानेको थिएन मनले तर छाड्नै पर्यो । ढोरपाटनलाई छाड्दा प्रिय मायालुलाई छाड्दा चिरिने मुटुजस्तै भएको थियो मुटु । 

ढोरपाटनबाट बुर्तिवाङ्ग करिव २६ किलोमीटर दूरीमा रहेपनि ओरालो झर्दा पनि करिव साढेतीन घण्टा लाग्यो । १२ बजे हामीले ढोरपाटनमा रहेको थकाली होटलमा अर्गानिक, सादा खाना खायौं । सो कुराको प्रवन्ध ढोरपाटन नगरपालिकाका उपविजेता मेयर चन्द्र अर्यालले मिलाई दिएका थिए । उनीसँग उनकै भाञ्जा प्रेम पौडेलको हवाला दिदै बात मारियो । अत्यन्तै सहयोगी उनीसँगको भेट फलदायी बन्यो । 

rukumkota


 

दलबहादुर गुरुङ
लेखकको बारेमा
दलबहादुर गुरुङ
स्तम्भकार