ताजा अपडेट »
भाइटिका

बर्षमा १ दिन मात्रै खुल्ने रानीपाेखरीकाे बालगोपालेश्वर मन्दिरमा भाइटिका लगाउनेकाे घुइचाे

आइतबार, १८ कार्तिक २०८१, २३ : २२
30 Shares
आइतबार, १८ कार्तिक २०८१
30 Shares

काठमाडौँ। प्रत्येक वर्ष भाइटीकाका दिनमा मात्र खुल्ने काठमाडौँस्थित रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरमा हजारौँ भक्तजनले पूजा आराधना गरी प्रसाद लगाएका छन् । दिदीबहिनी एवं दाजुभाइ नहुनेहरु भाइटीकाका दिन यसै मन्दिरमा गई पूजाआजा एवं दर्शन गरी टीका लगाउने गर्दछन् ।

आज पनि दिदीबहिनी र दाजुभाइ नहुने भक्तजन बिहान ६ बजेअघिदेखि नै मन्दिर प्रवेश गरेका थिए । मन्दिर बिहान ६ बजे अघिदेखि नै खुला गरिएको रानीपोखरी एवं मन्दिर क्षेत्रको व्यवस्थापन गर्दै आएको काठमाडौँ महानगरपालिकाका प्रवक्ता एवं वडा नं १७ का अध्यक्ष नवीन मानन्धरले जानकारी दिए । मन्दिरमा आज भक्तजन आएसम्म खुला गरिने पनि उनले बताए ।

HariramBhetuwal_KTM_RSS_18_IMG_1947

बिहान ६ बजेदेखि नै मन्दिर क्षेत्रमा स्वयंसेवीका रुपमा काम गरेकी   सामुदायिक प्रहरी पुरानो बसपार्क कार्य समिति सदस्य दीपा केसी बिहानदेखि बेलुकीसम्म नै मन्दिरमा भक्तजनको घुइँचो लागेको बताउछिन । विगतका वर्षमा भन्दा यस पटक भाइटीकाकाे अवसरमा मन्दिरमा आउने भक्तजन बढेको उनले बताए ।

भाइटीकाका दिनमा मात्र खुल्ने उक्त मन्दिरमा दाजुभाइ तथा दिदीबहिनी नहुनेहरु भाइटीका लगाउने गर्छन् । सामुदायिक प्रहरी पुरानो बसपार्ककै कार्य समिति सदस्य निशा अलि खानले विगत वर्षमा भन्दा यसपटक मन्दिर आउने भक्तजन बढेको बताउइन । मन्दिर आउने धेरैजसो भक्तजन खाली निधार आई यहाँ आएर टीका लगाई फर्केका छन् ।

मन्दिरमा काम गर्दै आएका रमेश कपाली भक्तजनको सङ्ख्या धेरै भएकाले मन्दिरमा दिनभर नै घुइँचो लागेको बताउछन । केही महिलाले मन्दिर परिसरमा बसेर दाजुभाइ नभएका दिदीबहिनी र दिदीबहिनी नभएका दाजुभाइलाई टीका लगाएर प्रसाद दिएका थिए । मन्दिर क्षेत्रमा दिनभर सामुदायिक प्रहरी कार्यसमितिका सदस्यहरुले स्वयंसेवीका रुपमा काम गर्नुका साथै महानगर प्रहरी र नेपाल प्रहरीले पनि सुरक्षा दिएक थिए ।

खञ्जनेश्वरमा पनि भक्तजनको घुइँचो

यसैगरी जयवागेश्वरीमा रहेको खञ्जनेश्वर महादेव मन्दिरमा पनि आज दिदी बहिनी एवं दाजुभाई नहुनेले पूजा तथा दर्शन गरी टीका लगाएका छन् । यहाँ पनि पहिलेदेखि नै दिदीबहिनी एवं दाजुभाइ नहुनेले पूजा आराधना गरी टीका लगाउने चलन रहेको संस्कृतिविद् एवम् पशुपति क्षेत्र विकास कोषका पूर्वसदस्य सचिव डा गोविन्द टण्डनले  जानकारी दिनुभयो । यहाँ पनि आज बिहानैदेखि भक्तजनको भीड लागेको थियो ।

“विसं २०३५ अघि रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिरमा प्रवेशका लागि पोखरीमा मानिस हाम फाल्ने समस्या रहेकाले बन्द गरिन्थ्यो, त्यसबेला जयबागेश्वरीको खञ्जनेश्वर महादेव मन्दिरमा दिदीबहिनी नहुने दाजुभाइ र दाजुभाइ नहुने दिदीबहिनीको घुइँचो लाग्थ्यो, अहिले पनि यहाँ भाइटीकाका दिन भक्तजन आउँछन्,” उहाँले भन्नुभयो ।

विसं २०३५ पछि नियमित रुपमा रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिर खुल्न थालेको हो । भाइटीकाको दिनलाई नेवार समुदायले किजापूजाका रुपमा मनाउँछन् । नेवार समुदायका केहीले भने शनिबार नै किजापूजा गरेका थिए ।
–––

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।