ताजा अपडेट »

‘स्थायी बासस्थानको आशामा बित्यो बाढीपहिरो पीडितको एक महिना’

शुक्रबार, १६ कार्तिक २०८१, १३ : ०७
64 Shares
शुक्रबार, १६ कार्तिक २०८१
64 Shares

धुलिखेल । अविरल परेको वर्षाका कारण रोशी खोलामा आएको बाढीले बस्ने घर र खाने अन्न फलाउने खेत सबै बगाएपछि पनौती नगरपालिका वडा नं १२ रोशी बजारका गीता केसी छिमेकीको घरमा बस्दै आएकी छिन्।

भएको घरबार, लत्ताकपडा अनि पकाएर खाने भाँडाकुँडा सबै बगाएपछि राज्यले केही गरिदिन्छ कि भन्ने आशामा बस्दै दिनगन्ति गरेको एक महिनाभन्दा बढी भयो। राज्यले बासस्थान बनाइदिने भन्ने कुराले मनमा आश पालेर बसेका बाढीपहिरो पीडितको एक महिना त्यत्तिकै बितेको छ। तर अहिलेसम्म उचित व्यवस्थापन समेत नगरेको उनको गुनासो छ।

पाँच रोपनी जग्गामा लहलह झुलेको धान सबै सखाप हुनेगरी नजिकै रहेको घरबारसँगै बाढीले बगाएपछि अहिले उनीहरु छिमेकीको घरमा रात बिताउँदै आएका छन्। ‘खोलाको बाढीले ल्याएर थुपारेको ढुंगा, दाउरा र काठ पन्छाएर भएपनि अन्न फलाउने खेत त बनाउनै पर्‍यो।’ यत्रतत्र छरिएका काठ र दाउरा टिप्दै उनले भनिन्, ‘आफ्नो भएको जग्गा नै यही हो, अरु विकल्प केही छैन।’


खाद्यान्न चाहीँ अलिअलि पाइरहेको र केही दिन अगाडि जस्तापाता बाँडेकोले लिएर राखेको उनले सुनाए। सरकारले छिट्टै बास बस्ने ठाउँको उचित व्यवस्थापन गरिदिए बाढीले बगाएर खोलासंगै धमिलिएको मन केही भएपनि सफा हुने उनी बताउँछिन्।

बाढीले ढलाएको घर हेर्दै खोलाको बगरमाथि त्रिपालमा सुकाएको धान सफा गर्दै रहेका माथिल्लो रोशी बजारका मनकुमारी तामाङले खाने र बस्ने स्थानको सुनिश्चितताको आशामा दिन बितिरहेको बताइन्। पनौतीमा कोठा लिएर बस्दै आएका उनीहरु बस्ने घर नै नभएपछि त्यहीको नजिक रहेको जस्ताको सानो टहरामा धान भित्र्याउने सुरसारमा छन्।

‘सधैँ त कोठा लिएर बस्न सकिँदैन’, उनले भनिन्, ‘अब कसरी बनाउने भन्ने चिन्ताले सताइरहेको छ।’ खेती किसानी गरेर जीविका चलाउँदै आएका परिवारको आम्दानीको रुपमा रहेको फर्निचरसमेत घरसंगै बाढीले बगाएपछि एक महिनादेखि घर न कामको जीवन बिताइरहेको उनले बिताइरहिन्।

अर्का स्थानीयबासिन्दा मैना तामाङले घर ढलेको पीरसँगै खल्लो गरी विताएको दशैँपर्व सकिएलगतै तिहारनजिक आए पनि घरबार र खाने कमाउने कुनै टुंगो नभएको सुनाइन्।

सोही ठाउँका नवराज गुरुङ गाउँका युवाहरुलाई ज्यालामा लगाएर बाढीले थुपारेको गेग्रानहरु पन्छाउन थालेका छन्। यसअघि खोलाको बाढी र काम गर्ने मान्छे पनि नपाएको अवस्था रहेकोमा बिस्तारै पुरिएको बासस्थान व्यवस्थित गर्न गालेको उनले बताइन्। ‘बल्ल मान्छेहरुलाई केही फुर्सद हुन थालेपछि पुरेको ठाउँलाई सफा गरेर भल कटाउने ठाउँ बनाउन थालेको हुँ’, उनले भनिन्।

दुईतले घर बगाएपछि बिचल्लीमा रहेको शंकर तामाङ छिमेकीको घरमा बस्दै आएका छन्। बस्ने घर बनाउन पैसा नै नभएको र खाने अन्नपात संघ संस्थाले वितरण गरेकोबाट चलाईरहेको उहाँ राज्यले सुरक्षित बस्ने ठाउँको व्यवस्थापन गरिदिने आशामा रहेको बताउँछन्।

सोही गाउँका अर्का रविन्द्र नगरकोटीले बाढीपहिरो गएको एक महिना बितिसक्दा पनि के कस्तो समस्या छ र खाने बस्नेको अवस्था के कस्तो छ भनेर स्थानीय सरकार एक पटक पनि सोध्न नआएको गुनासो गरे। सबैचिज बगाएपछि बालबालिकाहरुको पढ्ने ठाउँ र बस्ने स्थानको सुनिश्चितता नभएर समस्यामा परेको उनको भनाइ छ।

स्थानीय राजेन्द्र केसीले व्यक्तिको घरबारी र खेत सबै बगाएपछि विचल्लीमा परेका नागरिकलाई सुरक्षित ठाउँमा आवासको व्यवस्थापन गर्न अपरिहार्य रहेको बताए। ‘विपद्पछि उद्धार र राहतसँगै बाटोघाटो त बन्यो, तर उहाँहरुलाई त्यसले खासै छोएको छैन’, उनले भने, ‘सुरक्षित तरिकाले बस्ने आवास छैन, कमाइ खाने ठाउँ छैन। राज्यले यहीको भूगोललाई छनौट गरेर एकीकृत रुपमा बस्ने आवासको बस्ति व्यवस्थापन गर्न आवश्यक छ।’

बस्ने घर नै नहुँदा बालेको विजुली, पुर्‍याएको मोटरबाटो र खानेपानी कसरी उपभोग गर्नेरु ति सबैले नछोएको मनलाई सुरक्षित आवासले मात्रै छुनसक्ने भएकाले राज्यले अब त्यसमा ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिए।

पनौती नगरपालिका वडा नं। १२ का वडा अध्यक्ष जयराम केसीले यहाँका नागरिकको लागि बगरमा बाढीको र डाँडापाखामा पहिरोको डर भएकाले व्यवस्थित एवं एकीकृत बस्ती विकासतर्फ नै सोच्दा उचित हुने देखिएको कारण संघीय सरकारको सहयोगको अपेक्षामा रहेकोले नागरिकको आवास व्यवस्थापनमा ढिलाइ भइरहेको बताए।

अब वडाले बासस्थानको लागि उचित ठाउँको अभाव भएको कारण तिहारपछि जनप्रतिनिधिको बैठक बसेर आवास व्यवस्थापनको लागि आवश्यक कदम चाल्ने उनले बताए।

वडाभित्रमा ५ जनाको मृत्यु भएको र ३ सयभन्दा बढी घरहरुको पूर्ण क्षति भएको जनाएको छ। जसमा ७० भन्दा बढी गाईभैंसी, पाँच हजारभन्दा बढी कुखुरा र २ सयभन्दा बढी खसीबोकाहरु पुरिएको छ। अझै विवरणहरु संकलन भइरहेको र सडक, विद्युत, खानेपानी लगायतका कामलाई व्यवस्थित गर्दै अगाडी बढिरहेको वडा कार्यालयले जनाएको छ।

पनौती नगरपालिका प्रमुख रामशरण भण्डारीले पहिलो आवश्यकता आवास भएकाले बस्ने ठाउँको व्यवस्थापन गर्न सकेको अवस्थामा बस्तुभाउ पालेर पुनःजीवनयापनलाई विस्तारै पुरानै लयमा फर्काउन सकिने भएको त्यसको आवश्यक व्यवस्थापन गर्ने तयारीमा जुटिरहेको बताए।

अहिलेको पीडिले विपत्ति सहेको र अर्को पीडिले विपत्ति सहन नपरोस् भन्नका लागि पनि राज्यले सुरक्षित रुपमा बसोबासको व्यवस्थापन गर्न आवश्यक रहेकाले त्यसमा संघीय सरकारबाट नै सहयोग गर्न आवश्यक रहेकोमा जोड दिए।

जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक समेत रहनुभएका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले तत्कालका लागि खाद्यान्न लगायतका आवश्यक व्यवस्थापनका लागि विभिन्न संघरसंस्थाहरुले वितरण गर्ने नगद सहयोगमा वितरणमा ५ जनासम्मको परिवार भएकोलाई १५ हजार र त्यसभन्दा बढी भएको परिवारलाई २० हजारका दरले एकरुपता हुने गरेर वितरण गर्ने निर्णय भएको जनाएको छ।

बासस्थान निर्माण गर्ने विषयमा जोखिमयुक्त बस्तिको भौगोलिक अवस्था अध्ययनका लागि राष्ट्रिय जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरण सहरी विकास तथा भवन कार्यालयलाई अनुरोध गर्ने निर्णय भएको छ।

विपद्पछिको एक महिनामा नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्प कमल दाहाल ९प्रचण्ड०, गृहमन्त्री रमेश लेखक, स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल र उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहलगायतले बाढीपहिरो प्रभावित क्षेत्र पनौती १२ रोशी बजार क्षेत्र कलाँती भूमिडाँडाको स्थलगत निरीक्षण गरिसकेका छन्।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।