ताजा अपडेट »

‘सिन्धुली कलाघर’का कलाकार देउसी भैलो खेल्न पञ्चेबाजासहित बुटवलमा

मंगलबार, १३ कार्तिक २०८१, १६ : ३१
328 Shares
मंगलबार, १३ कार्तिक २०८१
328 Shares

बुटवल । कलामार्फत विश्वलाई जोडेर विश्व सङ्ग्रहालय नै बनाउने उद्देश्य लिएको सिन्धुली कला घरका कलाकार यस वर्षको देउसी भैलो खेल्नका लागि बुटवल आइपुगेका छन् । मेची–महाकाली अभियान अन्तरगत बुटवलमा देउसी भैलो नाचेर यस वर्षको तिहार मनाइने कला घरका अध्यक्ष सुमन थापा मगरले जानकारी दिए । 

‘सिन्धुली कला घर’ को टिमले नेपाली लोक संस्कृति र पञ्जेबाजालाई प्रोत्साहन गरिरहेको छ । यसका साथै गीती नाटक तथा देउसी भैलो नाचसहित ३ घण्टाको साँस्कृतिक कार्यक्रमको प्याकेज लिएर आएको अध्यक्ष थापा मगरले जानकारी दिए । यही कार्तिक १५ र १६ गते बुटवलको बसपार्क, होराइजन चोक लगायतका क्षेत्रहरुमा कम्तिमा ३ वटा देउसी भैलोको कार्यक्रम गरिने कला घरले जनाएको छ । देउसी भैलो कार्यक्रम तथा कला घरको अभियान बारे जानकारी गराउन मँगलबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा नौमति बाजा तथा गीति नाटक समेत प्रस्तुत गरिएको थियो । 

सिन्धुलीमाडीमा वि.स. २०७५ सालमा आयोजना गरिएको स्थानीय महोत्सवमा कला प्रस्तुत गरेर सुरु भएको यो संस्थाले २०७६ सालमा औपचारिक रुपमा दर्ता भई विभिन्न क्रियाकलाप गर्दै आएको छ । सिन्धुलीको कमलामाई नगरपालिका–३ चपौलीमा ४ रोपनी जग्गा खरिद गरेर राष्ट्रिय कला सङ्ग्राहालय स्थापना गरेको कला घरले थप जग्गा खरिद गरी आकाशाबाट हेर्दा नेपालको झण्डा आकार देखिने दुई वटा डाँडालाई जोडेर कलाहरुको संग्राहलय स्थापना गर्ने योजना अघि सारेको छ । 
कला घरका अध्यक्ष थापा मगरका अनुसार विश्वमा रहेका एक सय ९५ वटा मुलुकलाई १० वर्षभित्रमा कलाको स्वरुपमा उतार्ने कला घरको लक्ष्य छ । उक्त योजना अनुसार कला घरभित्र ती देशहरुका कम्तिमा १० वटा चर्चित स्थान तथा बस्तुहरुको प्रतिमा उतारिने छ । 

यसबाट पर्यटकको आगमनसँगै देशलाई आर्थिक रुपमा टेवा पुग्ने अपेक्षा कला घरको छ । १५ जना युवा कलाप्रेमीहरुले सञ्चालन गरेको कलाघर अहिले आन्तरिक तथा बाह्य पर्यटकका लागि अकर्षणको केन्द्र बन्दै गएको छ । यस परिसरमा अहिले पशुपतिनाथको सांस्कृतिक एवम् धार्मिक स्वरुपलाई चिनाउने कलाकृतिहरु, कलाकै स्वरुपमा धनुषाको जानकी मन्दिर, हेटौडाको युद्धगढी, बौद्धस्तुपादेखि लिएर जुनारको बोटसम्म छन् ।

नेपालकै नक्सामा समेटिएको कलाघरको आँगनको परिवेश, फरफराइरहेको झण्डा, मौलिक शैलीको खरको छानोसहितको घर, काठमाडौंको धरहरा, मादल, सारङ्गी, ट्याम्को, कर्नाल जस्ता विभिन्न मौलिक बाजाहरुको प्रतिमाहरुसँगै कलाघरमै रहेको चियाको किट्लीको स्वरुपले अझै पर्यटकको मन लोभ्याउँछ । कलाघरमा लोपोन्मुख परम्परागत सामग्रीहरु समेत संकलन गरी राखिएका छन् । 

कलाघरमा आउने पाहुनाहरुलाई पवित्रा रम्तेल लगायतका महिला कलाकारहरुले मौलिक पन्चेबाजाको लोकधुनले अझै मन्त्रमुग्ध बनाइरहेका छन् । रम्तेल कलाघरकी उपाध्यक्ष समेत हुन् । मौलिक पन्चेबाजाको लोक धुन लिएरै यो टोली देश तथा विदेशका विभिन्न कार्यक्रमहरुमा समेत पुग्ने गर्दछन् । उक्त यात्राबाट हुने आम्दानी कलाघरकै बिकासमा लगाइएको उपाध्यक्ष रम्तेलले बताइन् । 

कला घरका कलाकारहरुलाई बुटवलमा स्वागत गर्दै नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष विश्वास ढकाल, होटल व्यवसायी माधव नेपाल तथा कलाकार नारायण लेकालीले देउसी भैलो कार्यक्रम तथा मेची महाकाली यात्रा सफलताको शुभकामना व्यक्त गरे । राज्यले गर्नुपर्ने काम जुझारु युवाहरुले जुटेर आफै गर्न लागेको बताउँदै उनीहरुले यो यात्रा सजिलो नभएको र यसका लागि सबैको साथ आवश्यक हुने उल्लेख गरे । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।