ताजा अपडेट »

भारत उड्न लागेको एयर इन्डियाको जहाजमा बम राखेको सूचनापछि चेकजाँच

सोमबार, १२ कार्तिक २०८१, १६ : ५६
264 Shares
सोमबार, १२ कार्तिक २०८१
264 Shares

काठमाडौं । एयर इन्डियाको विमानमा बम रहेको सूचना आएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चेकजाँच गरिएको छ। काठमाडौंबाट भारतको नयाँ दिल्लीका लागि उड्ने तयारीमा रहेको उक्त विमानमा बम रहेको सूचना आएपछि चेकजाँच भइरहेको विमानस्थल सुरक्षा प्रहरी कार्यालयका एसएसपी डम्बर विकले जानकारी दिए।

उनका अनुसार, उक्त विमान आजै दिल्लीबाट काठमाडौं आएको थियो। केहीबेरको अवतरणपछि दिल्ली फर्कने बेलामा बम रहेको सूचना विमानस्थल प्रहरीलाई प्रास्त भएको थियो। लगत्तै नेपाली सेना र प्रहरीका तालिमप्राप्त कुकुरसहित ‘सर्च’ थालिएको विकले बताए। उक्त विमानमा दिल्लीबाट आएका यात्रुहरु भने उत्रिसकेका छन्।


यसअघि गत मंगलबार पनि विस्तारा एयरलाइन्सको विमानमा बम राखिएको हल्ला चलेको थियो। उक्त हल्लापछि प्रहरीले चेकजाँच गर्दा बम नभएको पुष्टि भएको थियो। पछिल्लो समय भारतका विभिन्न जहाजमा बमको गलत सूचना फैलाएर उडान तालिका नै प्रभावित बनाइरहेको छ। यस्ता दर्जनौं घटनाहरू भइरहेको भारतीय सञ्चारमाध्यमले लेखेका छन्।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।