ताजा अपडेट »

झिनिया व्यवसायमा जमेका रामपुरका श्रेष्ठ दम्पती

सोमबार, १२ कार्तिक २०८१, ०८ : १०
114 Shares
सोमबार, १२ कार्तिक २०८१
114 Shares

रामपुर (पाल्पा): रामपुर नगरपालिका पाल्पाका झिनिया व्यवसायी रुद्रनारायण श्रेष्ठ र लक्ष्मी श्रेष्ठले थालनी गरेको झिनिया व्यवसाय लोभलाग्दो छ । यतिबेला झिनियाको व्यापारमा उनीहरुको व्यस्ता बढेको छ । तिहार नजिकिँए संगै ग्राहक तथा व्यापारी घरमै आएर खरिद गर्ने गरेको व्यवसायी रुद्रनारायण बताउछन् । उनी रामपुरमा झिनिया व्यवसाय थालनी गर्ने पहिलो व्यवसायी पनि हुन ।

हाल नौजना कामदार झिनिया उत्पादनमा खटिएका छन । “चाडबाडमा झिनियाको माग धेरै आउने भएकाले कामदार बढाएर उत्पादन गरिरहेका छौँ, ग्राहक तथा व्यापारीलाई झिनिया बिक्री गर्न तथा उत्पादन गर्न भ्याइनभ्याइ भएको छ, व्यापार राम्रो छ”, उनले भने। विगत एक दशकदेखि झिनिया व्यवसाय चलाइरहेका उनले विशेष गरी दशैँ तिहार लक्षित गरेर उत्पादन गर्दै आएका छन । अन्य समयमा पनि उत्पादन निरन्तर नै रहन्छ ।

दशैँ तिहारका बेला धेरै व्यापार हुने भएकाले यस समयलाई मध्यनजर गर्दै चाडपर्व अउनु एक-दुई महिनाअघिदेखि उत्पादन गरी भण्डारण गरेर राख्ने गरिएको उनी बताउछन् । रामपुर उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्षसमेत रहेका रुद्रनारायण आजभन्दा एक दशकअघि रामपुरमा यो व्यवसाय थालनी गर्ने एक्लो व्यवसायी थिए । पछिल्लो समय उनले थालनी गरेको व्यवसायकाे सिको गरेर केहीले सानै रुपमा भए पनि व्यवसाय संचानल गरेको देख्दा खुसी लागेको रुद्रनारायण बताउछन् ।

उनी भन्छन, “सहर बजारमा जाने क्रममा पसलमा झिनिया रोटीको व्यापार देखेको हो, यो बनाउने तरिका खासै थाहा थिएन, बिक्री राम्रै हुने रहेछ भन्ने लाग्यो, यसो आफैँले जानी नजानिकन हाते मेसिनबाट गर्न थालेको राम्रै हुँदै गएपछि व्यवसायको रुपमा थालनी गरेको हुँ ।”

हाल खुद्रा मूल्य एक सय रूपैया र थोक मूल्य  ९० रूपैयामा धमाधम घरबाटै बिक्री भइरहेको छ । यस वर्ष यहाँ उत्पादन भएको झिनिया भैरहवामा समेत खपत भएको रुद्रनारायण बताउछन् । पाल्पा, स्याङ्जा, तनहुँ र नवलपुरलगायतका विभिन्न बजार तथा ग्रामीण भेगमा राम्रो व्यापार हुने गरेको छ । व्यापारी तथा ग्राहक घरमै आएर खरिद गरेर लैजाने गरेका छन् । यहाँको झिनिया गुणस्तरीय, लामो समयसम्म राख्दा पनि नबिग्रने, खाँदा स्वाद राम्रो पाएपछि ग्राहकले निकै टाढा–टाढाबाट आएर लैजाने गर्छन् ।

हाते मेसिनबाट सुरु गरिएको उनकाे व्यवसाय अहिले भने ठूलै उद्योगको रुपमा स्थापित भएको छ । हाल दैनिक दुईवटा विद्युतीय मेसिनबाट बिहानदेखि साँझ अबेरसम्म झिनिया तयार पार्ने गरिएको व्यवसायी लक्ष्मी बताउछीन् । “दुईवटा मेसिनबाट एक दिनमा एक हजार झिनिया उत्पादन हुने गरेको छ”, उनले भनिन्, “यस व्यवसायबाट दशैँ तिहारमा मात्रै करिब रु पाँच लाखदेखि सात लाख बराबरको कारोबार हुने गरेको छ ।”

महिलाका लागि यो व्यवसाय आयआर्जनको बलियो माध्यमको रुपमा रहेको लक्ष्मीको अनुभव छ । यस व्यवसायमा आबद्ध भएपछि आफू परनिर्भर हुनु नपरेको उनले बताइन । महिलाले बिहान साँझको घरको काम सकेर दिउँसोको समय झिनिया उत्पादन गरेर आयआर्जन गर्न सकिने र ठूलो लगानी नगरिकन सानो लगानीमा व्यवसाय गर्न सकिने लक्ष्मीको सुझाव छ ।
रहेका छन ।

तिहारमा दिदीबहिनीले दाजुभाइलाई टीका लगाइदिएपछि प्रसादस्वरुप झिनिया दिने चलन छ । हिजोआज खाजाका रुपमा पनि यसको प्रयोग बढिरहेको छ । तिहार पर्वबाहेक विवाह, व्रतबन्ध, पूजाआजा, माघे सङ्क्रान्ति, तीज पर्वलगायतका विभिन्न पर्व र शुभकार्यमा यसको प्रयोग बढ्दो छ ।

पहिला बजारमा झिनिया अहिलेजसो पर्याप्त मात्रामा पाइँदैनथ्यो । घर–घरमा तिहारमा हातले घुमाउने सानो साँचोले घरायसी प्रयोजनका लागि मात्रै झिनिया बनाउने चलन थियो । तर हिजोआज बजारमा जताततै पाइन थालेपछि घरमा पहिलाजसो झिनिया बनाउने कार्य गरिँदैन । त्यसकारण पनि बजारका पसल, उद्योगमा झिनिया खरिद गर्न जाने ग्राहक बढ्दै गएका हुन् ।

झिनियाबाट राम्रो आम्दानी हुन थालेपछि हिजोआज महिलाहरुको यो व्यवसायमा आकर्षण बढ्दो छ । घरमा बसेर कम लगानीमा व्यवसाय सञ्चालन गर्न सकिने हुँदा ठूलो लगानी कसरी गर्ने भन्ने पिरलो छैन । झट्ट नबिग्रने हुँदा जुनसुकै समय उत्पादन भएको झिनिया भण्डारण गरेर बजारमा पठाउन सकिन्छ ।

गाउँमा सवारी साधनको सुविधा पुगेपछि गाडीमा ढुवानी गरेर झिनिया बजार पठाउन सजिलो छ । बिहान साँझ घरधन्दा सकाएर महिलाले दिउँसोको समय झिनिया उत्पादन गरेर आफ्नो जीविका धानेका छन् । यसले पनि महिला परनिर्भरता हट्दै गएको छ । चामलको पिठोलाई पकाएर मेसिनको सहायताले झिनिया बनाई सुकाएर तयार गर्ने गरिन्छ । विशेषतः पहिले पहिले तिहार पर्वका लागि मात्र बनाइने झिनिया हिजोआज भने अन्य समयमा पनि यसको व्यापार हुने गरेको पाइएको छ । घरायसी खाजाका रुपमा पनि झिनियालाई लिने गरिन्छ

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।