ताजा अपडेट »

मानवसेवाको मेची-महाकाली उद्धार यात्रालाई मुख्यमन्त्री आचार्यद्वारा स्वागत

आइतबार, ११ कार्तिक २०८१, १६ : २३
50 Shares
आइतबार, ११ कार्तिक २०८१
50 Shares

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेशलाई आगामी वर्ष सहयोगापेक्षी, सडक आश्रित मानव मुक्त प्रदेश बनाउन सरकारले अठोट लिएको बताएका छन् । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेत प्राथमिकताका साथ सम्बोधन गरेको जानकारी दिँदै मुख्यमन्त्री आचार्यले आगामी वर्ष प्रदेशलाई सहयोगापेक्षी, सडक आश्रित मानव मुक्त घोषणा गर्नेगरी कार्यक्रम अघि बढाउने बताए । 

मानव सेवा आश्रमको मेची महाकाली राष्ट्रिय उद्धार यात्रा टोलीलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आइतबार स्वागत गर्दै मुख्यमन्त्री आचार्यले मानव भएर मानवको हिसाबले बाच्न पाउने वातावरण सुनिश्चित गरिने बताए । ‘यहाँहरुले थालेको अभियानमा प्रदेश सरकारको साथ सहयोग छ । मानव भएर मानवको हिवासले बाच्न पाउनुपर्छ’ उनले भने, ‘प्रदेश सरकार साझेदारी रुपमा यो अभियानमा जोडिन चाहन्छ । हामी आउने वर्ष लुम्बिनी प्रदेशका सडकमा बास बस्ने मानिस नरहनेगरी सडक आश्रित मानव मुक्त प्रदेश घोषणा गरेर अघि बढ्छौं ।’ 

लुम्बिनी प्रदेश भित्र रहेका मानव सेवा आश्रमको विवरण र त्यहाँ आश्रितहरुको विवरण संकलन गरिने समेत जानकारी दिए । असोज २६ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेपछि २७ गते झापाको मेची पुलबाट सुरु भएको उद्धारटोली १३ औं दिनमा लुम्बिनी प्रदेशको राजधानी स्थल राप्ती उपत्यका देउखुरी आईपुगेको हो । अभियानको क्रममा एक सय २८ सडक आश्रित मानवको उद्धार गरिएको छ । लुम्बिनी प्रदेशका जिल्लाहरुबाट हाल सम्म २८ जना सडक आश्रित मानवहरुको उद्धार गरिएको मानव सेवा आश्रमका केन्द्रिय अध्यक्ष रामजी अधिकारीले जानकारी दिए । लुम्बिनी प्रदेशको रुपन्देही, बाँके र दाङ जिल्लामा मानव सेवा आश्रम सञ्चालनमा छन् । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।