ताजा अपडेट »

प्रदेश सांसद गुप्तामाथि युवाहरुको आक्रमण, ज्यान जोगाउन एक घण्टादेखि ईप्रका लुम्बिनीको कार्यालय भित्रै

शनिबार, १० कार्तिक २०८१, १३ : २९
1.08K Shares
शनिबार, १० कार्तिक २०८१
1.08K Shares

बुटवल । लुम्बिनी प्रदेशका सांसद सिके गुप्तामाथि शनिबार विहान युवाहरुको समुहले हातपात गरेका छन् । रुपन्देहीलको लुम्बिनी साँस्कृतिक नगरपालिकास्थित ईलाकाप्रहरी कार्यालय अगाडि गुप्तामाथि युवाहरुको समुहले हातपात गरेको हो । हातपातपछि आफूलाई असुरक्षित महशुस गर्दै प्रहरी कार्यालयभित्रै एक घण्टादेखि बस्दै आएको उनले ग्लोबल आवाजलाई जानकारी दिए ।

ईलाका प्रहरी कार्यालय लुम्बिनीका ईन्चार्ज प्रहरी निरीक्षक दिपक मगरातीका अनुसार दुई समुहबीच उत्पन्न विवादका बीच सांसद गुप्ता आफ्नो कार्यालयतर्फ आउँदै गर्दा बाटोमा हातपात भएको जानकारी दिए । ईलाका प्रहरी कार्यालय अगाडि गुप्ता सवार बागमती प्रदेश ३–०१ च ६६२७ नम्बरको गाडिलाई रोकेर युवाहरुको समुहले हातपाको प्रयास गरेपछि प्रहरीले उद्धार गरी आफ्नो कार्यालयभित्र पुर्याएको उनले बताए । उनका अनुसार गेट अगाडि अहिले पनि डेढ/२ सय जना युवाहरुको समुह रहेका छन् ।

पूर्व सांसद फकरउद्दिन खाँका भतिज एजाज खान नेतृत्वको समुहले आफूमाथि आक्रमण गरेको सांसद गुप्ताले बताए । ‘प्रहरी कार्यालयको गेट अगाडिनै ममाथि हातपातको प्रयास भयो, मसँगै रहेका २ जना साथीहरु मध्ये एक जनालाई उनीहरुले बाहिर निकालेरै कुटपिट गरे ।’–घटनाको विवरण सुनाउँदै गुप्ताले भने, ‘सायद म पनि गाडिबाट बाहिर निस्किएको भए उनीहरुले ज्यान नै लिने थिएहोला । मुस्किलले ज्यान बचाएर अहिले प्रहरी कार्यालयभित्र बसिरहेको छु । बाहिर निस्कन सक्ने अवस्था छैन ।’

ईप्रका लुम्बिनीका प्रमुख मगरातीका अनुसार भैसहियामा युवाहरु बीच विवाद उत्पन्न भएको थियो उक्त विवादमा पूर्व सांसद फकरउद्दिनका भजित नेतृत्वको समूह र सांसद सिके गुप्ता समर्थक बीचको समूह आपसमा भिडेका थिए । ‘सामाजिक सञ्जालमा स्टाटस लेखेको विषयमा उत्पन्न विवादले उग्र रुप लिएपछि यो अवस्थासम्म आएको भन्ने हामीले बुझेका छौं ।’–उनले भने, थप बुझ्न र समस्या समाधानका लागि दुबै पक्षका व्यक्तिहरुलाई बोलाएर छलफल गर्ने तयारी भएको छ ।’

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।