ताजा अपडेट »

भारतीय फूलमालाले त्रसित नेपाली कृषक : ‘रुपन्देहीमा भित्रिन थाल्यो भारतीय फूलमाला’

शुक्रबार, ०९ कार्तिक २०८१, १३ : ५२
86 Shares
शुक्रबार, ०९ कार्तिक २०८१
86 Shares

बुटवल । हरेक वर्षको तिहारमा सबैभन्दा बढी फूलमालाको खपत हुने गर्दछ । यस वर्षको तिहार नजिकिँएसँगै व्यापारीहरु फूलमालाको जोहोमा लागेका छन् । कृषकहरु पनि उत्पादन बजारमा पठाउन तयारी अवस्थामा छन् । तर, भारतबाट फूलमाला भित्रियो भने मुल्य नपाउने चिन्ता उत्तिकै छ । 

रुपन्देहीको तिलोत्तमा-४ डिङ्गरनगरमा सामुहिक फूल खेती गर्दै आएको क्षितिज कृषक समुहकी सदस्य नविना भण्डारीले हरेक वर्ष भारतीय फूलमाला भित्रिदा मुल्य नपाउने त्रास रहिरहेको गुनासो गरिन् । यस वर्ष पनि भारतीय फूलमाला भित्रिने हो भने उनीहरुको उत्पादनले मुल्य पाउने छैन । गत वर्ष पनि लक्ष्मी पूजाको दिनदेखिनै भारतीय सीमाबाट करोडौंको अवैध फूलमाला भित्रिँदा नेपाली कृषकले प्रति माला २०/३० रुपैयाँमा पनि बिक्री गर्न नसकेको गुनासो गरिन् । करिब १३ कट्ठा जमिन भाडामा लिएर उनीहरुले खेती गर्दै आएका छन् । यस वर्ष पनि करिब २ हजार ५ सय फूलमाला बिक्री गर्ने लक्ष्य रहेको भण्डारीले बताइन् ।

फ्लोरिकल्चर एसोसिएसन रुपन्देहीका अध्यक्ष किरण श्रेष्ठका अनुसार गतवर्ष भारतबाट फूलमाला भित्रीँदा यहाँका साना व्यवसायी तथा कृषकले ठूलो आर्थिक क्षति व्यहोर्नु परेको थियो । गतवर्षको अवस्था दोहोरीने त्रासमा साना व्यवसायी तथा कृषकहरु रहेको उनले बताए । रुपन्देहीमा हरेक वर्ष तिहारको समयमा करिब १ लाख फूलमाला खपत हुने उनी बताउँछन् । यद्यपी रुपन्देहीमा करिब २०/२५ हजार मालाका लागि मात्रै फूल उत्पादन हुने भएकाले अन्य जिल्ला वा भारतबाट ल्याउनु पर्ने बाध्यता रहेको उनले बताए । नेपाली उत्पादनलाई नै प्रयोग गर्नका लागि तिहार अगाडिनै फूलमाला भण्डारण गर्न प्रयाप्त कोल्डस्टोरको सुविधा नहुनु जनशक्तिको अभाव लगायतका समस्याहरु रहेको श्रेष्ठले बताए । विशेष गरी तिहारमा लक्ष्मी पूजाको दिन र भाई टिकाको दिन फूलमालाको बढी खपत हुने गर्दछ । उक्त दिनका लागि कृषकले पहिले नै फूल टिपेर भण्डारण गरेर राख्न कोल्डस्टोर नहुँदा सुकेर जाने, ढुसी लाग्ने तथा कुहिइने समस्या हुन्छ । 

रुपन्देहीको बुटवल उपमहानगरपालिका ढबाहमा व्यवसायीक फूल खेती गर्दै आएका राजेश कुंवरले रुपन्देही बाहिरका जिल्लाहरुमा उत्पादन भएका फूल समेत संकलन गरेर बिक्री गर्दै आएका छन् । यस पटकको तिहारका लागि पनि उनले गुल्मी, पाल्पा, अर्घाखाँची, कपिलवस्तु लगायतका जिल्लाबाट करिब ३ हजार माला संकल गरेर बिक्री गर्ने लक्ष्य राखेका छन् । यसैगरी १० कट्ठा क्षेत्रफलमा आफ्नो खेतीबाट २ हजार फूलमाला बिक्री गर्ने उनको लक्ष्य छ । तर भारतीय फूलमाला भित्रिएमा आफ्नो ब्यापार चौपट हुने चिन्ता उनलाई पनि छ । गत वर्ष अवैध रुपमा भारतीय फूलमाला भित्रिएर सडकमै फाल्नु पर्ने अवस्था आएकाले यो वर्ष साना व्यवसायी र कृषक सोही अवस्था दोहोरिने त्रासमा रहेको उनले गुनासो गरे । 

बुटवलको ट्राफिकचोकमा पुष्प व्यापार गर्दै आएका नविन श्रेष्ठले यो वर्ष नेपाली कृषकको उत्पादन घटेको बताउँछन् । भारतीय उत्पादन नेपाल भित्रिँदा अपेक्षित मुल्य नपाउने भएपछि कृषकहरुमा उत्साह कम रहेको उनले उल्लेख गरे । तिहारका लागि रुपन्देही बाहिरका विभिन्न जिल्लाहरुबाट समेत फूलमाला ल्याएर बिक्री गर्ने लक्ष्य राखेका उनले भारतीय सीमानाकामा सरकारले कडाइ गर्नुपर्ने बताउँछन् । ठूला व्यापारीहरुले सेटिङमै करोडौंको फूलमाला यो सिजनमा भित्र्याउने हुँदा नेपालका साना व्यवसायी र कृषक मारमा पर्दै आएको उनको गुनासो छ । 

रुपन्देहीमा ठूला पुष्प व्यवसायीमै गनिने सिद्धार्थनगर भैरहवाका रवि जैसवालले तिहारका लागि फूल भण्डारण गर्न सुरु गरिसकेका छन् । उनले रुपन्देही बाहिरका विभिन्न जिल्ला तथा बागमती प्रदेशको नारायणीबाट समेत फूलमाला भित्र्याउन लागेको उल्लेख गरे । गतवर्ष जस्तो यस वर्ष व्यापार हुनेमा उनले शंका व्यक्त गरे । व्यापार घट्ने देखेका उनले यो वर्ष करिब २ हजार फूलमाला बिक्री गर्ने लक्ष्य रहेको बताए । व्यापारीहरुमा भारतीय फूलमालाको त्रास रहे पनि जिल्ला प्रशासन कार्यालय रुपन्देही भने यसको नियन्त्रणका लागि चासो राखेको देखिँदैन । सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले कानूनी प्रक्रिया पूरा गरेर भित्रिने फूलमालालाई रोक्न नसकिने तर अनुगमनलाई भने प्राथमिकतामा राखेको दाबी गर्छन । ‘अहिलेको ग्लोबलाइजेनको अवस्थामा व्यापार नै रोक्ने भन्ने हुँदैन, भन्सार तिरेर भित्रीने फूलमालालाई रोक्ने कुरा हुँदैन । तर बजार अनुगमनलाई हामीले ध्यान दिई रहेका छौं ।’–अर्यालले भने । यद्यपी केही साना व्यवसायीहरुले भने रुपन्देहीमा अवैध फूलमाला भित्रिन लागिसकेको गुनासो गर्छन् । नाम उल्लेख नगर्ने सर्तमा एक व्यवसायीले रुपन्देहीमा अहिले नै १० हजार बढी फूलमाला भित्रिएर स्टोर भैसकेको उल्लेख गरे । तिहारको समयमा नक्कली बिल विजक बनाएर फूलमाला भित्र्याउने प्रचलन रहेको ती व्यवसायीले उल्लेख गरे । गत वर्ष पनि भारतबाट भित्रीएको करोडौं मुल्य पर्ने फूलमाला भैरहवाको कोल्ड स्टोरमा फेला परेको थियो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले भैरहवाा रहेको सिद्धार्थ कोल्ड स्टोरमा करिब १ लाख फूलमाला फेला पारेको थियो । यसरी हरेक वर्ष अवैध तरिकाले भारतबाट फूलमाला भित्रिँदा नेपाली कृषकमा फूलखेतीतर्फ अकर्षण कम हुने गरेको छ । 

फ्लोरिकल्चर एसोसिएसनले यसपालीको तिहारमा देशभर ३८ करोड रुपैयाँ बराबरको फूलको माला खपत हुने अनुमान गरेको छ । सयपत्री, मखमली र गोदावरी गरेर उक्त मूल्य बराबरको माला खपत हुने अनुमान गरिएको हो । एसोसिएसनका निवर्तमान अध्यक्ष मीनबहादुर तामाङले तिहारबेला प्रत्येक वर्ष फूल र मालाको माग १० प्रतिशतले बढ्दै गएको बताउछन् । यसबर्ष ४५ लाख माला खपत हुने उल्लेख गर्दै उनले तिहारमा काठमाडौं उपत्यकाभित्र ६० प्रतिशत र बाहिरी जिल्लामा ४० प्रतिशत माला खपत हुने साथै ४० प्रतिशत विदेशबाट आयात गर्नुपर्ने अवस्था रहेको जानकारी दिए । पुष्प व्यवसायमा नेपाल ९० प्रतिशत आत्मनिर्भर भए पनि तिहारका बेला बजारमा बढी माला खपत हुँदा आयात हुने गर्छ ।

यो पनि पढ्नुहोस : भैरहवामा बरामद करोड बढीको फूलमाला छुटाउने प्रपञ्च : ल्याइयो नामै नसुनेका फर्मको बिल 

डि. बी. सुस्लिङ
लेखकको बारेमा
डि. बी. सुस्लिङ

सुस्लिङ ग्लोबल आवाज अनलाइनका समाचार संयोजक हुन् ।