ताजा अपडेट »

उखु र केरा किसान भन्छन् - जलवायु परिर्वतनले उत्पादन घट्यो

शुक्रबार, ०९ कार्तिक २०८१, ११ : २०
98 Shares
शुक्रबार, ०९ कार्तिक २०८१
98 Shares

बुटवल । नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिका वडा नम्बर ४ का जयगोविन्द्र यादव पेशाले उखु कृषक हुन् । उनले करिब २ विगाह भन्दा धेरै क्षेत्रफलमा उखु लगाएका छन् । तर, उनको उखु रोग लागेपछि सुक्यो । उनी भन्छन्, “सरकारले नै राम्रो विउ भनेर दिए पछि लगाएको थिए । तर, सबै सुकेर गयो । सरकारले मौसम सुहाउँदो विउ नदिँदा यो समस्या भएको हो।” 

यस्तै प्रतापपुर गाउँपालिकाकै युवराज बम केरा खेती गर्छन् । उनको आफ्नो केरा बगान अवलोकन गर्नका लागि काठमाडौँबाट विज्ञसहितको टोलि आएको थियो । उक्त टोलिले केरामा लागेको किरा अनुसन्धानका लागि लगेको र त्यसको रिर्पोट तत्काल पठाउने बताए पनि लामो समय हुँदा समेत रिर्पोट नपाठएको बताए ।

उनी भन्छन्, “राज्यका निकायहरु संवेदनशील भएर काम गरेको भए र रोगको बारेमा समयमा नै थाहा भएको भए क्षति कम हुने थियो।”  राज्यले जलवायु परिर्वतन अनुसारको विउ र सो सम्बन्धी जानकारी गराउन नसक्दा उत्पादकत्वमा कमी आएको गुनासो गर्ने कृषकहरु धेरै छन् । 

उनीहरुले समयमा मलखाद उपलव्ध नहुनु , यूरिया चाहिएको बेला डिएपी र पोटास उपलव्ध हुन तथा बिषादीको गुणस्तरीता नहुनु लगाएतका समस्या किसानहरुले दिनानुदिन भोग्न परिरहेको बताए ।  अतिबृष्टि ,अनाबृष्टि , खण्डबृष्टि , खडेरी , डडेलो डुवान तथा कटान लगाएतका समस्या बढिरहेकोले किसानहरु मारमा परिरहेको बताए । 

बुधबार चाँदनी नेपालको आयोजना र युएनडीपिको  सहकार्यमा नवलपरासीको प्रतापपुर गाउँपालिकामा आयोजना गरिएको जलवायु परिर्वतनले कृषि उत्पादनमा पारेको प्रभाव विषयक सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्ने कृषकहरुले सो गुनासो गरेका थिए ।  उनीहरुले जलवायु परिर्वतनले गर्दा समयमा पानी नपर्ने र परे पनि धेरै पानी पर्ने गर्दा पनि आफ्नो खेतीवाली पहिलाको तुलनामा कमि आएको बताउँछन् । 

462570582_430997233046792_5981116096264353756_n

लुम्बिनी प्रदेश सभाका कृषि, वन तथा वातावरण समितिका सभापति विश्वप्रेम पाठकले अहिले जलवायु परिर्वतनका कारण कृषि लगायत सबै क्षेत्रमा यसको प्रभाव परेको बताए । उनले जलवायु परिर्वतनका बारेमा कृषकहरुलाई जानकारी गराएर सोही अनुसारको वाली लगाउन आग्रह गर्नु पर्ने बताए । उनले यसका लागि प्रदेश सरकारबाट गर्नु पर्ने काम गर्न आफुले पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले बिषयगत समितिको सभापतिको हैसियतमा सरोकारवाला मन्त्रालयमा घचघचाउने र प्रदेश सभामा कृषकका मुद्धाहरुलाई उठान गर्ने प्रतिबद्धता जनाए । 

लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्य देवकरण कलवारले कृषकहरुलाई मौसम अनुकुलको वाली लगाउनका लागि राज्यले प्रोत्साहित गर्नु पर्ने बताए । साथै उनले किसानलाई समयमा नै विउ उपलब्ध गराउनु पर्ने बताए । 
जलवायू परिवर्तनले कृषि क्षेत्रमा पारिरहेको असरका बिषयमा सरकार जिम्मेवार बन्नुपर्ने अबस्था आएको कलवारको भनाई छ । 

प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवले गाउँपालिकाको स्रोतले मात्रै प्रर्याप्त नहुने भएकाले यसका लागि तीनै तहका सरकारको मिलेर काम गर्नुपर्ने बताए ।  उनले गाउँपालिका भित्रका ८३ प्रतिशत नागरिक कृषिमा आवद्ध भएकाले सरकारले मल र विउ विजनको कोटा बढाउन आवश्यक रहेको बताए । माटो उर्बराशक्ति परीक्षण गर्न पालिकाले प्रयोगशाला बनाएको तर दक्ष जनसक्तीको अभावमा सञ्चालनमा आउन नसकिरहेको बताए ।  उनले प्रतापुर ३ र ८ नम्बर वडा बर्षेनी बाढीले डुवानमा परेको भन्दै सरकारबाट पहल हुनुपर्ने बताए ।

बातावरण मामिलाका जानकार एवं अधिवक्ता युवराज कंडेलले जलवायु परिर्वतनका संभावित असरबारेमा राज्यले समयमा नै कृषकहरुलाई सचेत गराउनु पर्ने बताए ।  उनले कृषकलाई सचेत मात्रै गराए पनि उत्पादकत्वमा वृद्धि गर्न सकिने बताए ।  कृषि ज्ञान केन्द्रका प्रमुख डा रविन्द्रनाथ चौबेले कृषि प्राविधिकहरुलाई कृषककोमा नै पठाएर स्रोत र साधनले सक्नेसम्मको सचेत गराउने काम गरेको बताए । उहाँले माटो र मौसम अनुसारको बिउ वितरण गर्न आवश्यक रहेको बताए । 

राष्टिय गँहु वाली अनुसन्धान कार्यक्रम भैरहवामा प्राबिधिक  अधिकृत गोविन्दप्रसाद पौडेलले कृषकहरुले आधिकारीक निकायबाट सिफारिस गरिएका बिउ मात्रै प्रयोग गर्न आवश्यक रहेको बताए । उनले मौसमको बारेमा अग्रिम सुचना प्रभावकारी हुदै गएको बताउदै कृषकसम्म ति सुचना पुरर्याउन आवश्यक रहेकोमा जोड दिए । 

कृषि निर्देशनालय बुटवलका बरिष्ठ अधिकृत मिलन गैरेले जल वायु परिवर्तनको कारण बालिहरुमा नयाँ नयाँ खालका रोग समेत देखा परेको उल्लेख गरे ।  रोग पहिचान र यसको नियन्त्रणको लागि के गर्न सकिन्छ भन्ने बारे प्रदेश सरकारले डिजीटल, ब्रोसर, घुम्ती तालीम मार्फत विषादी सचेतनाका कार्यक्रम गरिरहेको उनले जानकारी दिए ।

नेपाल पत्रकार महासंघ नवलपरासी पश्चिमका अध्यक्ष हरि शर्माले जलवायु परिर्वतनले पारेको प्रभावको बारेमा कृषकलाई सचेत गराउनमा पत्रकारहरुको भूमिका पनि महत्वपूर्ण हुने बताए ।  कार्यक्रममा चाँदनी नेपालका कार्यकारी निर्देशक भवानीप्रसाद पाण्डेले कृषकहरुलाई जलवायु परिवर्तनले पारेको प्रभावको बारेमा जानकारी गराउँदै सोही अनुसारको वालि लगाउन प्रोत्साहित गराउन सके कृषक र राज्य दुवैलाई फाइदा हुने बताए । 

त्यसअवसरमा कृषक लक्ष्मणसिहं थापा , सन्तोष कुमार गुप्ता, पिताम्बर पाल र रामनारायण गुप्ताले पनि पहिला लगाउँदै आएको वालिमा अहिले विभिन्न रोग लाग्ने गरेको बताए । उनीहरुले राज्यले माटोको परीक्षण गरिदिएर सोही अनुसारको विउविजन र मलखाद दिनुपर्ने बताएका थिए । 
 

बसन्त आचार्य
लेखकको बारेमा
बसन्त आचार्य

आचार्य ग्लोबल आवाज अनलाइनका डेस्क संयोजक हुन् ।