ताजा अपडेट »

राप्ती नदीमा नुहाउन गएका ३ बालिकाको डुबेर मृत्यु

विहीबार, ०८ कार्तिक २०८१, १८ : ३२
66 Shares
विहीबार, ०८ कार्तिक २०८१
66 Shares

दाङ । दाङको लमही नगरपालिका देउखुरीस्थित राप्ती नदीमा डुबेर तीन बालिकाको ज्यान गएको छ। राप्ती नदीमा नुहाउन गएका लमही नगरपालिका( २ रनियाँपुरकी १२ वर्षीया झरना चौधरी, सोही ठाउँकै १२ बर्षकै निशा चौधरी र  गढवा गाउँपालिका–४ खडकपुर घर भइ लमही नगरपालिका–५ मा बस्दै आएकी १२ वर्षीया कृष्टी चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ। 

आज दिउँसो सवा ३ बजे राप्ती नदीमा नुहाउन भनेर गएका तीन जना बालिका डुवेको खबर आएपछि पुगेको प्रहरीले उनीहरुलाई मृत अवस्थामा फेला पारेको दाङका प्रहरी प्रबक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) इश्वर थापाले बताए। 

बिहान ११ बजे आसपास खाना खाएका उनीहरु अभिभावकलाई सोधेर नुहाउन भनेर राप्ती नदीमा गएको भन्ने खुलेको डिएसपी थापाले बताए। उनीहरु तीनै जना आपसमा मिल्ने साथीहरु रहेको परिवारले जानकारी दिए थापाले बताए ।  

नुहाउने क्रममा उनीहरु गहिरो भागमा पसेको हुन सक्ने प्रहरीको आशंका छ। मृतक कृष्टी चौधरीले गोरखा मोडेल सेकेण्डरी स्कुल लमही कक्षा ८ मा, झरना चौधरीले राप्ती गाउँपालिकाको पत्थर गढवाको मार्टिन एकेडेमी कक्षा ४ मा र निशाले सोही विद्यालयको कक्षा ६ मा अध्ययनरत थिए। 

तीनै जना  बालिकाहरुको शव पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको प्रहरीले जानकारी दिएको छ। 
घटनाबारे थप अनुसन्धान भइ रहेको पनि प्रहरीले बताएको छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।