ताजा अपडेट »

बसको ठक्करबाट हजुरबुवा र नातीनीको मृत्यु, प्रहरी बिटमा आगजनी

बुधबार, ०७ कार्तिक २०८१, २० : ५७
62 Shares
बुधबार, ०७ कार्तिक २०८१
62 Shares

झापा । यहाँको कमल गाउँपालिका–४ केरखास्थित पूर्वपश्चिम राजमार्गमा आज साँझ भएको सवारी दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा कमल गाउँपालिका–३ का ६० वर्षीय टेकबहादुर लिम्बू र उनकी ११ वर्षीया नातिनी कृपा लिम्बू रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी अर्जुनप्रसाद सोडारीले जानकारी दिए ।

उनकाअनुसार साँझ ५ः३० बजेतिर काँकडभिट्टाबाट काठमाडौँ जाँदै गरेको प्र १–०१–००१ ख ४३३१ नम्बरको यात्रुवाहक रात्रिबसले सडक पार गरिरहेको विद्युतीय साइकललाई ठक्कर दिँदा साइकलमा सवार हजुरबुवा र नातिनीको घटनास्थलमै मृत्यु भएको हो । हजुरबवा र नातीनी बजारबाट नातीनीकालागि जन्मलिनको केक लिएर आउँदै गरेको बताइएको छ ।

प्रहरीचौकी केरखाले बस चालक विशाल ठटाललाई तत्कालै नियन्त्रणमा लिएको जनाइएको छ । अहिले झापाको केर्खा बजारको तनावपूर्ण स्थिति नियन्त्रण बाहिर रहेको छ । आक्रोशित भीडले प्रहरी बिटमा आगजनी गर्नुका साथै केर्खा प्रहरी चौकीमा निरन्तर ढुंगामुडा गरिरहेका छन् ।

करिब हजार बढीको सङ्ख्यामा रहेका स्थानीयले रतुवा माई वृक्षारोपण आयोजना अगाडि रहेको प्रहरी बिटमा आगजनी गरेका हुन् । सडकमा टायर बालेर उनीहरूले पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेर विरोध प्रदर्शन गरिरहेका छन् । घटनापछि स्थानीयवासीले राजमार्गमा यातायात अवरुद्ध गरेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।