ताजा अपडेट »

काठ तस्करी गर्न पिकअप भ्यानको प्रयोग बढ्दै

बुधबार, ०७ कार्तिक २०८१, १६ : ३७
28 Shares
बुधबार, ०७ कार्तिक २०८१
28 Shares

रौतहट । केही वर्षयता रौतहटका वन क्षेत्रबाट काठ तस्करी गर्न पिकअप भ्यानको प्रयोग बढ्दै गएको छ । छिटोछरितो हुने भएकाले काठ तस्करहरुले भारतीय नम्बरका साना सवारीसाधनको प्रयोग गर्दै आएको पाइएको छ । 
डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरले दिएको तथ्याङ्क अनुसार गत असोजमा मात्रै दुई वटा पिकअप भ्यान र एक थान ट्र्याक्टर बरामद गरेको छ । कार्यालयका सूचना अधिकारी महालक्ष्मी शर्माले गत असोज ७ गते तीनजना सहित ३४ क्युफिट काठ, एउटा पिकअप भ्यान वन गस्तीमा खटिएको टोलीले पक्राउ गरेको थियो । 

गत असोज ८ गते ना ४ च ८७९४ नं को टाटा पिकअपबाट १४ दशमलव २० क्युफिट काठसहित दुईजनालाई पक्राउ गरिएको सूचना अधिकारी शर्माले जानकारी दिइन् । उनका अनुसार असोज २३ गते ८६ क्युफिट काठ, प्रदेश २—०३—००१ त २०८० नं को ट्र्याक्टरसहित तीनजनालाई पक्राउ गरिएको छ ।

गत आर्थिक वर्षमा विभिन्न मितिमा पाँच थान पिकअप भ्यान र पाँच थान ट्र्याक्टर काठ चोरी भएकामा वन कर्मचारीले खोजी गरी पक्राउ गरेको थियो । साथै मोटरसाइकल, साइकल, टायगाडामार्फत पनि काठ तस्करी भइरहेको भन्दै यी सवारीसाधन सुराकीको आधारमा तथा वनको नियमित गस्ती गर्ने क्रममा पक्राउ परेका सूचना अधिकारी शर्माले जानकारी दिइन् ।

  गत आवमा काठ चोरी गर्ने ४९ जनामाथि मुद्दा चलाइएको जनाउँदै उहाँले एक हजार एक सय ९४।५८ क्युफिट काठ बरामद गरिएको उल्लेख गर्नुभयो । आव २०७९/८० मा ९५ वटा सवारीसाधनसहित दुई हजार पाँच सयबढी क्युफिट काठ बरामद गरेको थियो । सो अवधिमा काठ ढुवानी गर्न प्रयोग भएका पिकअप भ्यान आठ, ट्र्याक्टर तीन, ट्रक, मिनिट्रक र स्कारपियो एकरएक, साइकल ६५, मोटरसाइकल पाँच र रिक्सा ९५ वटा बरामद गरिएको थियो । ती तस्करीमा संलग्न ५० जना तस्करलाई नियन्त्रणमा लिएर मुद्दा चलाइएको थियो ।

सङ्घीय र प्रदेशको कानुन बाझिँदा बरामद गरिएका सवारीसाधन र काठ लिलाम नहँुदा ती सवारीसाधन र काठ कुहिने अवस्थामा पुगेका डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख हेमन्त साहले बताए । “विगत १२ वर्षदेखि ती काठ र सवारीसाधनको लिलाम हुनसकेको छैन भने हालसम्म कुनै पनि मुद्दाको किनारा लाग्न सकेको छैन”, उनले भने । 
 
कानुनी स्पष्टता नहुँदा कुनै पनि मुद्दाको फैसला नभएको भन्दै काठ र सवारीसाधनको लिलाम हुन नसकेको प्रमुख साहले बताए । यो समस्या देशव्यापी रुपमा रहेको उल्लेख गर्दै उहाँले समस्या समाधान गर्न सङ्घीय सरकारसँग समन्वय भइरहेको जानकारी दिए । बरामद काठ र सवारीसाधनको लिलाम नहुँदा राजस्व सङ्कलनमा कमी आएकाले तत्काल समाधानको पहल थाल्नुपर्ने उनको भनाइ छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।