यात्राको दोस्रो दिन अर्थात् कार्तिक २ गते, शुक्रवार । साथीहरु सखारै उठेर योग गर्न थाले । विष्णु भाञ्जाले सिरकभित्रै सक्दो अलोम, विलोम गरे । मभने होमबहादुर दाइको स्टोरी लेख्न थालें । उनीसँग मेरो मोबाईलमार्फत भेटघाट पुरानै भएपनि भौतिक भेटघाट हुन थालेको धेरै भएको छैन । शैक्षिक ब्यक्तित्वका कारण उनीसँगको सामीप्यता बढेको हो । राजनीतिमा खासै चासो राख्दैनन् अचेल । पुराना जनप्रतिनिधि भएपनि अचेल पार्टीगत राजनीतिमा खासै चेष्टा नभएको घरिघरि सुनाउँछन् । कृषिविज्ञ बोमबहादुर दाइ पनि होमस्टेमा विहान सात बजे आइपुगे । नित्यकर्म गरेर तयार थिएँ म ।
तातोपानीसँगै घुर्लुक्कै ओखती निलें । चिनीवाला चिया खान मनले मानेन । साथीहरुले कालोचिया पिए । जनाको एक हजार दुईसय होमस्टे दरभाउ रहेछ । साँझको अर्निपानी,खाना र विहानको चिया एवम् विदाईसँग उल्लेखित रकम तिर्नुपर्ने व्यवस्था रहेछ । वडाध्यक्षले होमस्टेको रकम हामीलाई तिर्न दिएनन् । आफ्नो गाउँमा आएका पाहुनाहरुलाई स्वागत र सम्मानसँगै खुवाउनु, पिलाउनु र सुताउनु आफ्नो जिम्मेवारी रहेको बताए । होमबहादुर गलामी दाइले थुप्रैपटक गोजाबाट गणित निकालेर पनि तिर्न नपाउँदाको झोंकमा मकै र भटमास किनेर बाह्र सौ नगद दिदीबहिनीहरुलाई बुझाए ।
न मामाको घर, न पर्यो ससुसारली
हिड्नेबेलामा सयपत्री फूलले विदाइ गरे । आउनेबेला हिजो साँझ गुलावको फूलले हार्दिकतापूर्ण स्वागत गरेका थिए । निधारमा अवीर र कानमा फूलको थुंगा सिउरेर विदाई हुँदा साँचिक्कै उतिबेला भार्सेली लाहुरेहरु पल्टन हिडेजस्तै भान भो । मनमा गाँठो पर्यो तर के गर्नु ? सधैंभरि भार्सेमा भासिन सकिएन । न आफ्नो मावली,न पर्यो ससुराली पर्यो यता ? भएका वडाध्यक्ष र नरुले कति दिन पो पाल्लान् र ? तैपनि कहिल्यै नबिर्सिने माया संगालेर भार्से छाडियो । त्यतिबेला विहानको ८ बज्दैथियो । हामी हिडियो देउराली बुद्ध स्तुपातिर ।
एकछिन उकालियौं । स्तुपा अघि पुग्दा कुहिरो टम्म थियो । चिसो सिरेटोले कानै सेक्यो । बौद्ध स्तुपाभित्र राजेशले होमबहादुर गलामी र नरुलाई गौतमबुद्धलाई ढोग्ने तरिका सिकाए । अचेल उनी योगगुरु भएका छन् । खाँटी कम्युनिष्ट नेता धार्मिक योगगुरु भएको भन्दै घरिघरि विष्णु भाञ्जाले व्यंग्य गर्न रुचाए । राजेशले भैहाल्छ भनेर मन बुझाए । बौद्ध स्तुपा अघिको खाली भागमा बनाइएको गार्डेनले मनै भुलायो । विभिन्न प्रतीक चिन्हहरु समेत थिए । हामीले त्यही बसेर फोटो खिचियो । गफ्फा मारियो ।
सोही स्थानबाट माछापुछ्रे,अन्नपूर्ण हिमाल लस्करै देखिने कुरा प्रमाणस्वरुप मोबाईला संकलित फोटोहरु देखाएर नरुले मन सन्तोष पारिदिए हाम्रा । नरुले आफ्ना विभिन्न डिजाइन र योजना सुनाइरहँदा रमाईलो र खुसी लाग्यो । भारतीय आर्मीमा १७ वर्षका उमेरमा भर्ति भएर १७ वर्षमै पेन्सन पकाएर गाउँको सेवा गर्न कम्मर कसेर लागेको पेन्सनर लाहुरे देख्दा मेरो छाती गर्वले फुल्यो । गाउँको गाइड नै रहेछन् उनी । क्लवका अध्यक्ष,सामाजसेवी उनी रहर लाग्दा मान्छे छन् । मिठो बोली,मिलनसार व्यक्तित्व र कुरा गर्न सिपालु नरबहादुर बुढाथोकीलाई मायालु पारामा नरु भनिएको हैच ।
सुन्तलामा असिना
अनि हामी भार्सेकै लाम्पाटा गाउँमा बुढाथोकी एग्रीकल्चर एण्ड लाइभस्टक फर्ममा पुग्यौं । त्यो फर्मको सञ्चालक दुर्गा बुढाथोकी रहेछन् । घरका जेठा उनी गाउँमै सुन्तला,अम्बा,खुर्सानीखेती गरेर बसेका रहेछन् । दुईवटा छोरामध्ये जेठो ब्रिटिसको लाहुरे र कान्छोले १२ पास गरेको रहेछ । हामी, नागबेली बाटो चढेर लाम्पाटा पुग्दा विहानको १० बजिसकेको थियो । हामीले त्यहाँ उनकै सुन्तला खेती हेयौं । उनको मिहिनेत र पसिनाको सुन्तला बगैँचा देख्यौं । वर्षमा चार, पाँच लाख आम्दानी हुने कुरा सुन्यौं । यसपालि असिनाले सुन्तलालाई ठटाएको कुराले मनै खिन्न भयो ।
यसपालि गतवर्षको तुलनामा आधापनि नफल्ने कुरा सुनाउँदै गर्दा काँचो सुन्तला खाएजस्तै मन कुँडियो । अम्बा खाइयो । साथीहरुले पाकेका अम्बा खाएर मन खुसी पारे । सुन्तलाका बारेमा कृषिविज्ञ बोमबहादुर श्रीसले फेहरिस्त सुनाए । सूर्यलाई मन पराउने फल रहेछ सुन्तला । नेपाल सरकारले गतवर्षमात्र सुन्तलालाई राष्ट्रिय फलको रुपमा घोषणा गरेको छ । यसले पनि किसानलाई प्रफुल्लित बनाएको छ । नेपालको रैथाने सुन्तलालाई बेमौसमी बनाउन नसकिने कुरा थाहा पाइयो । बजार राम्रो भएपनि भाउ नपाइँदा किसानहरुका मन, पाकेको सुन्तलाजस्तै गुलिया हुन सकेका छैनन । हामीले खाना खाएर ओरालो लाग्यौं । घरबेटी साहुनीले मिठो खाना आफ्ना गाउँले साथीहरुका सहयोगमा खुवाइन् । हामीले धेरै धन्यवाद् दियौं ।
बोमबहादुर सरले स्थानीय किसानहरुले चक्लावन्दी सुन्तला खेती र यसमा गर्नुपर्ने कामहरुका बारेमा प्रशिक्षण दिए । धैर्यताको खाँचो पर्ने सुनाए । सुरुमा गर्नुपर्ने सेवा र त्यसपछि प्राप्त हुने मेवाका बारेमा खुबै राम्रो तरिकाले किसानहरुका मन बुझाए । हिड्नेबेला हात हल्लाएर बिदा भइयो ।
ग्वाघाको स्कुल हेर्दा
लाम्पाटाबाट पूर्वतल झरेपछि खोलामा पुल रहेछ । पुल कटेपछि हामी चन्द्रकोट गाउँपालिकामा प्रवेश गर्ने रहेछौं । त्यसपछि हामी चन्द्रकोट गाउँपालिकाको वडा नं. ५ को ग्वाघातिर उकालियौं । त्यहाँ पुग्दा करिव डेढ बज्दै थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लिलबहादुर राना, वडाध्यक्ष, पूर्ववडाध्यक्ष लगायतसँग ग्वाघा माविको भौतिक सम्पन्नता, गुणस्तरीय शिक्षाका बारेमा छलफल गरियो ।
करिव दुई सय ५० जना विद्यार्थी रहेछन् । बसाइसराइँ दर यहाँ पनि कम्तिको रैनछ । होमबहादुर गलामी दाइका बुबाले यही माविमा संस्थापक अध्यक्षको हैसियतमा सेवा गरेका रहेछन् । केही समय होमबहादुर दाइले स्वयम्सेवी शिक्षकका रुपमा ग्वाघा माविमा शिक्षक गरेको थाहा लाग्यो । भवन टन्न रहेछन् । विद्यार्थी तुलनात्मक रुपमा ठिकै लाग्यो । पढ्दै सिक्दै र सिक्दै पढ्दै कार्यक्रम सञ्चालनमा रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्षले सुनाए ।
माछाका भुरा र कुरा
क्षणभरको भलाकुसारी गरेपछि हामी चियापान गरेर चन्द्रकोट गाउँपालिकाको प्रशासनिक भवनतिर ओरालियौं । पालिकाका अध्यक्षले स्वागत गरे । सम्मानस्वरुप चिसोपानी पिलाए । चियाखान ढिला हुन्छ भन्यौं । जीवराज आश्रितकी जीवनसंगीनी माया ज्ञवाली र उनका छोरा डा.सागरसहित आफन्ती पनि अध्यक्षसँग भलाकुसारी गर्दैरहेछन् । उनीहरुले स्थानीय खोलामा माछाका भुरा छाडेको तर जोगाउन कठिन रहेको सुनाएपनि चुनौती खप्न तयार भएरनै माछाका भूराहरु खोलामा छाडिएको बताए ।
राजेशको साथी खोज्दै जाँदा आधाघण्टा ढिला भयो अनि अँध्यारो पनि छायो । खैरेनीमा आएपछि होमबहादुर दाइले मोटर हाँके । रुरुतिरबाट विष्णु भाञ्जा चालक बने । तानसेन आउँदा रातिको आठ बज्यो । सिलवाल, डुम्रे घर झरे । हामी बाँकी चारजनाभने चोपलाल गिरी दाइको संस्थामा गाँस र बाससहित रहने निर्णय गरियो ।
मृतक मेहरमानलाई श्रद्धाञ्जलि दिन पुग्दा
हामीले तानसेनको टुंडीखेल प्रातकालीन भ्रमण गरियो । ओमबहादुर घर्तिमगर,गमबहादुर सारुलाई पनि भेटियो । शित्तलपाटीतिर घुमियो । जिल्ला समन्वय समिति,पाल्पाको बाटो हुँदै दरबार संग्रहालय पुग्यौं । फोटो खिचियो । शैक्षिक एवम् पर्यटनकर्मी मनमोहन श्रेष्ठ सरसँग ह्वाइट लेकमा चियौं खायौं । एकछिन पर्यटनका बारेमा छलफल गयौं । तानसेन सुक्दै गएको चिन्ता सुन्न पर्यो । शैक्षिक पर्यटनमार्फत पाल्पा,तानसेनलाई ब्युझाउँन सबै लाग्न सके उत्तम हुने निचोड आयो ।
तानसेन अफिसमै राजेश र मैले अघिल्लो दिनको फ्राइराइस खाइयो अनि होम दाइ र विष्णु भाञ्जाले बोकाको झोलसँग तात्तो भात खाएर पूर्वीपाल्पाको देवीनगर हिड्यौं । मेहरमान थापा सरको पाँचौ तिथि पारेर श्रद्धाञ्जलि र शोकाकूल परिवारजनमा समवेदना दिन त्यतै पुगेका थियौं । दुई छोरी,मेहरमानकी श्रीमती र भाइ हरिले किरिया गरिरहेका थिए । एकछिन दुःखका कुरा गरियो । वडाध्यक्ष मेहरसिंहले मृतक मेहरमान सरका बारेमा धेरै कुरा बताए । उनका भाइ हरिसँग केहीबेर दाइकै कुरा गरियो । सुगर र उच्चरक्तचापका कारण ५३ वर्षकै उमेरमा असामयिक ज्यान गुमाउनु परेको कुराले मनै अमिलो बनायो । श्रद्धाञ्जलि र समवेदना पुस्तिकामा लेख्ने काम गमबहादुर सारुले गरे । होमबहादुर गलामी र गमबहादुरले मृतकको फोटोमा माल्र्यापण गरे ।
किरियापुत्री छोरीहरुलाई देखेपछि मन झनै उदास भयो । हरि सरले अब झन् धेरै पारिवारिक भूमिका निर्वाह गर्नुपर्ने देखियो । पढ्दै गरेका छोरीहरुको आर्थिक,सामाजिक एवम् नैतिक जिम्मेवारी हरिले नै लिनुपर्ने देखें । एमएस्सी,एमएड गरेका अनि मातृभूमि माविका प्रअ मेहरमान सरले यति छिटै सबैलाई छाडेर जाने थिएनन् । कारण रोग नलागेको भए । सबैलाई टुहुराजस्तै बनाएर गए । बुटवल आउन हतार भइसकेको कारण हामी शोकाकूल परिवारजनसँग विदा भएर हिड्यौं । बाटाभरि प्रिय मेहरमान सरलाई गुमाउनुका पीडा साट्यौं । आँखामा नि नबिझाउने सरको भौतिक अन्त्येष्टिले मनमा पीर परिरह्यो ।
बर्तुङ्ग आएपछि खाजा खायौं । गमबहादुर आफ्नो घर तानसेनतिर लागे । हामी भने अर्घाछापमा नैनाको च्याउ उद्यम हेरेर उनकै उपहार च्याउ लिएर बुटवलतिर झरियो । दोभानमा राजेश र विष्णु भाञ्जा ओर्लिए । हामी भने सरासर बुटवल ओर्लियौं । तीन दिने अध्ययन, अवलोकन भ्रमण सम्पन्न गरेर फर्कदा मनमा गुल्मी र पाल्पाका दृश्यहरुलाई आँखामा र मनमा संगालियो ।
प्रतिक्रिया