ताजा अपडेट »

‘सडकमा बित्छ घरबारविहीनको रात’

मंगलबार, ०६ कार्तिक २०८१, ०७ : ३७
24 Shares
मंगलबार, ०६ कार्तिक २०८१
24 Shares

काठमाडौँ । मजदुरीले थाकेको शरीर विश्राम गर्न जिते तामाङसँग न घर छ न डेरा । उनीसँग खुला आकाश र जुनेली रात मात्रै छ । दरबारमार्ग र ठमेलका गल्लीको चिसो भुईँमा कार्टुन र बोरा बिच्क्याएर उनी प्रायः खुला आकाशमुनि रात बिताउँछन् । तामाङ गर्मी, जाडो र बर्खा जुनसुकै ऋतुमा सडकमा रात बिताउँछन्। 

बोल्दाबोल्दै बिर्सने मनस्थितिमा पुगेका उनीलाई आफू सडकमा आउनुको कारण एक वाक्यमा टुग्याउछन्। “चाहेको होइन तर परिस्थितिले सडकमा ल्यायो”, उनी भन्छन्, “घर र ठेगाना सडकबाट सुरु भएर सडकमै टुङ्गिन्छ ।” 

 

घाम अस्ताउने पश्चिमतिर भन्ने मात्रै थाहा छ उनलाई । परिवार र आफन्तको लेखाजोखा उनले कहिल्यै गर्दैनन् । दिनमा भारी बोकेर दुई/चार रुपैयाँ कमाउने र बेलुका खाना खाएर सडकमा बास बस्ने उनको दैनिकी हो । उनी भन्छन्, “न्यानो ओछ्यान बिर्सिएको वर्षौँ भयो । आफ्नो विगतको तीतोपल सम्झिन चाहन्न ।” जाडो याममा अत्यन्त कठिन हुनेहुँदा कसरी चिसो कटाउने भन्ने चिन्ताले लाग्ने उनी बताउँछन् ।

 

सडकमा रात बिताउन पनि घरबारविहीन सडक मानवलाई सजिलो छैन । गोरखा जिल्लामा जन्मिएको बताउने सानोकान्छा घर्तीको धेरैजसो रात ठमेलका सडक पेटीमा बित्ने गर्दछ । “गरिब देखेर सबैले हेप्छन्, चोर्छ भन्दै पेटीमा पनि बस्न दिँदैनन्”, उनी भन्छन् । उनी कहिले आफ्नै साथीहरूबाट लखेटिन्छन् भने कहिले सर्वसाधारण र व्यापारीबाट । सडक पेटी कब्जा गरेर बस्ने उनकै समूहबिच हातथाप हुन्छ । अलि सुकिलो र पानी ओत लाग्ने भुइँ रोज्ने टाठाबाठा हुन्छन् । 

 

साठी वर्षीय घर्ती भने कहिलेकाहीँ त्यही चिसो भुइँ पनि रोजेर पाउँदैनन्। भुईँमा पनि बास बस्न पनि ठुलो सङ्घर्ष गर्नुपर्ने उनको गुनासो छ । “आफूमाथिको दुर्व्यवहार कसलाई सुनाउने  ? कुनै निकाय छैन । त्यसैले चुपचाप भई दुर्व्यवहार सहन बाध्य हुन्छ”, उनी भन्छन् । सडक पेटीमा रात बिताउने पुरुषको सङ्घर्ष जति छ त्योभन्दा बढी महिलाका व्यथा छन् । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।