ताजा अपडेट »
नियात्रा–१:

मीसन अध्ययन : घुम्दै, डुल्दै गुल्मीतिर

सोमबार, ०५ कार्तिक २०८१, २० : २६
308 Shares
सोमबार, ०५ कार्तिक २०८१
308 Shares

कार्तिक १ गतेदेखि ३ गतेसम्म गुल्मीको भार्सेसम्म पुग्ने पूर्वसल्लाह थियो । विहिवारको विहानै हामी हुइँकियौं । फोटोपत्रकार मनीष पन्थले अन्तिमघडीमा आएर यात्रामा जान नपाउने कुरा सुनाएपछि नरमाईलो लाग्यो । बुटवलबाट शिक्षाकर्मी होमबहादुर गलामी दाइ र म पाल्पा,तिनाउको दोभान पुग्दा राजनीतिकर्मी राजेश श्रेष्ठ र सामाजिक अभियन्ता  विष्णुप्रसाद पाण्डेयले पर्खिबसेका थिए ।

पाण्डेय किराना पसलबाट फाष्टफुड र पानी राख्यौं । अनि मोटर विष्णु भाञ्जाले चलाउन थाले । माथिल्लो डुम्रेमा पुगेपछि फोटोग्राफर चोप सिलवाललाई चढाइयो । लामा कपाल पालेका,मोटा सिलवाललाई चढाएपछि मोटर तुफानमा दौडियो । रानीघाटको बाटो हुँदै जाने निधो भएको कारण उतै दौडियौं । तानसेन नपा–१३ नम्बर वडाको देवीस्थान, छेर्लुङ्गमा पुगेपछि भट्टराई खाजा घरमा साथीहरुले ल्वाङ्गलत्ता खाए तर पलङतोड( बर्फीजस्तो मिठाई) भने खान पाएनन् । चुकौनी,समसा,मटर,जुलेवीलगायतका खाजा खाइयो ।

नगद चार सय सत्तरी मेरो खल्तीबाट हाम फालेको पनि किन सुनाइरहन पर्यो र ? खानापछि रुरु,रिडीहुँदै गुल्मी,सत्यवती गाउँपालिका वडा नं.४,लिम्घा, शाहघाट पुगेपछि भार्सेली रिसोर्ट एण्ड स्टाफ होटलमा रोटीमा घ्यू दली दाल,तरकारीमा डोबेर खाइयो । एउटा हात्ती नगद तिरियो । पाँचजनाले भरपेट रोटी खाएर त्यति गणित तिर्नु अन्यथा होइन । हावापानी चिसो भएकोले पनि होला ,रोटी र तरकारी पनि असाध्यै मिठो लाग्यो । हामी सत्यवती गाउँपालिकाको प्रशासनिक भवन खैरेनीमा पुगियो । गाउँपालिकाका अध्यक्ष टीकाराम पाण्डेयसँग मोबाइलमा बातचित भएपनि प्रत्यक्ष भेटघाट गर्न पाइएन ।

1

उनी, ठूलोलुम्पेकतिर काष्ठकला तथा चित्रकला कार्यशालाको उद्घाटन गर्न उतै पुगेका रहेछन् ।  त्यहाँको प्रशासनिक संरचना हेरेर  अनेकौं अनुमान लगायौं । भव्य रहेछ पालिका अध्यक्षको कार्यकक्ष । सुन्दर लाग्यो । सोही कार्यालयका इञ्जिनियरले सबै फाँटहरु देखाए । साथीहरुले गाउँपालिकाद्वारा प्रकाशित स्थानीय पाठ्यपुस्तकहरु एकएक थान हात पारे । कक्षा ३ सम्मको उक्त पुस्तकलाई साथीहरुले तिनाउको पाठ्यपुस्तकसँग तुलनात्मक अध्ययन गर्नेछन् । मेरो विश्वास हो ।

गाउँपालिकाको भवनबाट करिव दुई वजेतिर हामी भार्सेका लागि निक्लियौं । जुनियासम्म पुग्दा बाटो, साँघुरो र कच्ची रहेछ । हामी त्यहाँ पुग्दा दर्सैपूर्णिमाको भव्य सराएँ मेला लागेको रहेछ । सत्यवती गाउँपालिका वडा नं.७,जुनियाका वडाध्यक्ष लोकबहादुर बुढाथोकीसँग जम्काभेट भो । उनले त्यहाँ रहेको ऐतिहासिक एवम् धार्मिक मन्दिर र हरेक दसैंपूर्णिमामा लाग्ने मेलाका बारेमा जानकारी दिएका थिए । त्यहाँ रहेका खुँडा, तरबार, खुकुरी, तोपका बारेमा समेत उल्लेख गरेका थिए । जुनियाको सरायँ भनेपछि दुनियाँलाई मालुम रहेछ ।

हामी त्यहाँ पुग्दा बाजागाजासहित सरायँको रौनक देखिन्थ्यो । युवाहरुले तरवार लिएर नाँचिरहेका थिए । वाख्यवाख्य गरिरहेका थिए । राजेश र विष्णु भाञ्जाले सरायँको प्रत्यक्ष प्रशारण गरेका थिए भने सिलवाल र मैले भने वडाध्यक्षसँग  विकास निर्माणसँग जोडिएर अन्तर्वार्ता लिएका थियौं । कलात्मक मन्दिर र उपस्थित सबैले मन्दिरमा दर्शन गरिरहेका थिए ।

2

जुनियाबाट हामी उकालो लाग्यौं वडाध्यक्षसँग विदाभएर । अनि सत्यवती गाउँपालिका वडा नं.८,भार्सेका वडाध्यक्ष होमबहादुर रानासँग जुनियामा नै भेटेका थियौं । उनी हाम्रा मार्गदर्शक बने । थोरै माथि पुगेपछि भार्से प्रवेश गर्नेबेला भार्सेमा स्वागत छभनेर नै प्रवेशद्वारले स्वागत गर्यो हामीलाई । हामीले इन्सेटमा स्वागतद्वारलाई राखेर फोटो खिच्यौं । अलि पर पुगेपछि कलात्मक मन्दिर जीपबाटै देख्यौं । हेर्दै मनमोहक सुन्दर मन्दिर,भक्तपुरे स्टाइलको मन्दिर । त्यही भेटिएका थिए एकजना होनाहार ब्यक्तित्व नरु बुढाथोकी । भारतीय आर्मीबाट निवृत्त उनी,गाउँकै सेवामा गतिशील रहेछन् । उनैसँग हामीले मन्दिरका बारेमा कुराकानी गरेका थियौं ।

उक्त मन्दिरलाई झुल्डुङदेवीको मन्दिर भनिदो रहेछ । यतिबेला यो मन्दिरलाई कालिकादेवीको मन्दिर भनेको पनि सुनियो । मन्दिर निर्माणमा सहयोग जुटाउने काममा ले.कुलबहादुर बुढाथोकीको अतुलनीय भूमिका रहेको थाहा पाइयो । उनका बारेमा  नरुले बेलीबिस्तार लगाए । २०६८ सालदेखि प्यागोडा शैलीमा पुनर्निर्माण थालिएको उक्त मन्दिर निर्माण हुन पुरै दुईवर्ष लागेको थियो । सो मन्दिरलाई बाग्लुङ्ग कालिकाको प्रतिमूर्तिका रुपमा लिने गरिदोरहेछ । यो मन्दिरका बारेमा ऐतिहासिक अनुसन्धान नेपाल सरकारका वरिष्ठ कृषि अधिकृतबाट निवृत्त बोमबहादुर श्रीसमगर र ऐतिहासिकविज्ञका रुपमा डा.मीनबहादुर श्रीसमगरले भूमिका निर्वाह गरेका रहेछन् । ती दुबै हस्तीहरु भार्से गाउँकै रहेछन् । यो कुरा मन्दिर नजिकै टाँसिएको ताम्रपत्रले जानकारी दियो ।

भार्से गाउँका बारेमा अनेक कथनहरु सुनेको थिएँ । अनेक किसिमका भाष्यहरु निर्माण भएका बारेमा थोरैमोरै जानकारी थियो । लाहुरे गाउँको नामले परिचय बनाएको बहादुर भार्से गाउँमा तामाखानी रहेको,युवाहरु आर्थिक उपार्जनका लागि पहिलो र दोस्रो विश्वयुद्धमा  लाहुरे हुन र लड्न पुगेको,बहादुरीवापत यहीको एकजना लाहुरेले भीसी प्राप्त गरेको । आर्थिक रुपले सम्पन्न भएको भार्से गाउँमा सरकारको पहुँच कम पुगेको,स्थानीयहरुको पहुँच पुगेर पनि नदेखिएको सबैले महसुस गरेकै विषय हो । पञ्चायतकालमा यही गाउँमाबाट तीनजना बुढाथोकी थरका नेताहरु मन्त्री भएको थाहै भएकै विषय हो । यहाँका मानिसहरु पुख्र्यौली पेसामा आवद्ध छन् । लाहुरजाने क्रमः आजपनि रोकिएको छैन । स्थानीयहरुले गरेका कृषिकर्म हेर्ने अवसर जुर्यो ।

भार्से गाउँको मुटुमा ६५ वर्षीय दानवीर ले.कुलबहादुर बुढाथोकीले गोर्खा ग्यालरीको भवन निर्माण गरेको देखियो । उक्त ग्यालरीमा पहिलो र दोस्रो विश्वयुद्धमा लडेका,स्थानीय समाजसेवी,देश र जनताका सेवकहरुको सिसाकलमको सहाराले आर्टिष्ट सुजना श्रीसले तयार पारेका पोट्रेटहरु राखिएका छन् । उनै आर्टिष्ट सुजना बोमबहादुर श्रीसकी छोरी रहेछिन् । उनले आफ्ना बाबाको जन्मथलोलाई सुन्दर बनाउन सहयोग पुराएकी छिन् । धन्यवादको पात्र बनेकी छिन् । भार्सेका कर्णबहादुर रानाले सन् १९१८ को पहिलो विश्वयुद्धमा जर्मनीविरुद्धको युद्धमा लडाइँ जितेर भिक्टोरिया क्रस प्राप्त गरेका थिए ।  उनी यस क्षेत्रकै सम्पत्ति रहेछन् भन्ने कुरा ग्यालरी हेरेपछि थाहा लाग्यो । थप कुरा त लेखक एवम् कृषिविज्ञ बोमबहादुर श्रीसले लेखेको कितावमा बेलीबिस्तार छ ।3

हामीले मनग्यै फोटो ग्यालरीमा खिच्यौं । हाम्रो आगमनको जानकारीका लागि आगन्तुक पुस्तिकामा नाम,नम्बर र हुलिया पेस गरियो । सायद युद्ध साहित्य र युद्ध संग्रहालयका रुपमा गोर्खा ग्यालरीलाई परिभाषित गर्दै प्रचार गर्न सकिएमा भार्से आउने आन्तरिक एवम् बाह्य पर्यटकहरुको संख्यामा उल्लेख्य प्रगति हुनेछ । सायद त्यही सोचका कारणले ले.कुलबहादुर बुढाथोकी सहमत भई आफ्नै नीजि लगानी तर सञ्चालन एवम् व्यवस्थापनका लागि स्थानीय वृन्दावन आमा समूहलाई ग्यालरी हस्तान्तरण गरेका  रहेछन् । गोर्खा ग्यालरी हेरेपछि मेरा मनमा अनेक प्रश्नहरु उब्जिए तर जवाफभने कुनै समय अध्ययन र अनुसन्धानबाट पाउने नै छु ।

किवी खेती हेरियो । सामुहिक रुपमा सुरु गरिएको उक्त खेतीले स्थानीयहरुलाई आम्दानी दिनेमा ढुक्क देखियौं । लटरम्म फलेका किवीले मनै हरर बनायो । सहनै नसकेर एकथान काँचै किवीको दानाले मुख जिस्काएँ । कृषिविज्ञ बोमबहादुर सरको ज्ञान,ध्यान, परिश्रम र पसिना पोखिएको फेसबुकका वालबाट पनि हेक्का भएकै विषय थियो । तर आफ्नै जुम्ल्याहा आँखाले किवी खेती र किसानहरुलाई भेट्दा पाउभरको मुटु गर्वले फुल्लिएर धार्नी भयो । सेमी,सिलाम अघोरै फल्ने कुरा वडाध्यक्षले सुनाए । ३८ वर्षीय वडाध्यक्षले हामीलाई साथ दिइरहे । तन्नेरी,मिठो बोली र सहयोगी भावनाका उनलाई सायद युवा र कामकाजी देखेर नै स्थानीयहरुले वडाध्यक्षमा काम गर्ने अवसर दिएका होलान् ।

4

गाउँको बीचतिरै एउटा सुन्दर पोखरी देखियो । केही वर्ष पोखरीमा पानी भरेर पौडी प्रतियोगिता सञ्चालन गरिएको नरुले सुनाए । यतिबेला पानी चुहिएर पोखरीमा समस्या देखिएको थाहा लाग्यो । रिचार्ज सेन्टरको रुपमा रहेको पोखरीलाई सिमेन्टेड गर्न थालेपछि पानी चिप्लिएर गएको गाउँलेहरुले हेक्कै पाएनन् । प्राकृतिक रुपमा रहेको पोखरी नै सुन्दर र प्रकृतिमैत्री हुने भएकोले पानीपोखरीहरुलाई आधुनिकताको नाममा सिमेन्टेड गर्नुनै घातक हुने कुरा धेरैस्थानको यस्तै पोखरी निर्माणबाट सिकेको थिएँ । २००८ सालमा स्थापना गरिएको भार्से जनसहयोग मावि हेरियो ।

कुनैबेला एकहजार दुईसयबढी विद्यार्थी रहेको उक्त माविले हीरक महोत्सव मनाउन थाल्दा एकसय १८ जना विद्यार्थी छन्भन्दा नरमाइलो लाग्छ तर बाध्यता छ भन्नपनि । शैक्षिक केन्द्रको रुपमा स्थापित सो माविमा १९ जना शिक्षक कार्यरत छन् । भवन राम्रो छ , छात्रावास छ । सेवासुविधा धेरै छन् तर विद्यार्थी कम छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् वडाध्यक्ष होमबहादुर रानाले दुःखको लामो सास तानेर भनेका थिए–विद्यार्थी संख्या बढाउन सकिएको छैन । बसाइसराइँ गरेर जानेहरुको संख्या बढ्दो छ । गाउँमा रोजगार र स्वरोजगार बढाउन र गाउँमा मान्छे टिकाइ राख्न सकिएनभने कुनैदिन विद्यालयमा विद्यार्थी खाली हुन सक्नेछ । त्यसैले यतिबेला हामीहरुले गाउँका मान्छे,गाउँमै रहनका लागि आयआर्जनमुखी काम थालेका छौं ।

होमस्टे पुगियो । दिदीबहिनीहरुले स्वागत गरे । त्यतिबेला साँझको ६ बज्दैथियो । बोमबहादुर सर त्यतिबेला बुटवलबाट जुनिया आइपुगेको हस्को आयो । यता हामीलाई भुटेको मकै,भटमास र तातोपानी प्राप्त भयो । भोकको झोंक मेटाउँदै मकै र भटमासले पेट सेक्यौं । केही साथीहरुले कोदोको जुस सेवन गरे । कान तातो बनाए । बोमबहादुर सर आएपछि उनलाई पनि कोदोको जुसले भव्य स्वागत,सत्कार कार्यक्रम सम्पन्न भयो । फोटोग्राफर सिलवाल,राजेश र मैले सिस्नु,साग,भात ,मिठो चटनी,सिन्की र दालसँग गाँस हुलियो । मिठो विपत्ता । अर्गानिक खानाले मनै तान्यो ।

दिदीबहिनीहरुको सत्कार,स्नेहपूर्ण व्यवहारले पनि होला,म सुगरप्रेमीले पनि भात थुप्रै हसुरें । रानीवन होमस्टे पाहुनाघरमा मगरकला,संस्कृतिसँगै झुम्न पाइने व्यवस्था भएपनि हामीभने थकाईले झाम्रे,सालैजो र सोरठीमा नाँच्न सकिएन । निद्रादेवीको काखमा लुटपुटिदाँ रातिको १० बज्दैथियो । सिरकले सिरेटोबाट बचाउने विश्वासका साथ सुतियो । क्रमशः

 

 

 

 

 

दलबहादुर गुरुङ
लेखकको बारेमा
दलबहादुर गुरुङ
स्तम्भकार