ताजा अपडेट »

लग्यो निर्मोही कालले मेहरमानलाई

आइतबार, ०४ कार्तिक २०८१, ११ : १५
2.16K Shares
आइतबार, ०४ कार्तिक २०८१
2.16K Shares

‘निको बनाएर ल्या है दाइलाई’ रुँदै भनेकी थिइन् आमाले-आफ्नो कान्छो छोरो हरिलाई । दुर्भाग्य, आमाको अनुरोधपूर्ण वचनसँगै माल्दाइ मेहरमान थापाको ज्यान गयो । २०८१ असोज २७ गते ५३ वर्ष पुग्दै गर्दा  घरपरिवार, साथी सँगी र ईष्टमित्रहरुले दिएका जन्मदिनको शुभकामना सुन्ने बेला उनी गौतमबुद्व मुटु अस्पतालको सघन कक्ष (आईसियू) मा जीवन र मृत्युसँग लडिरहेका थिए । 

मेहरमान थापा पूर्वी पाल्पाको पूर्व खोला गाउँपालिका वडा नं-४, देवीनगरको मातृभूमि माविका प्र.अ. थिए । उनले एमएस्सी र एमएड् उत्तीर्ण गरेका थिए । शालीन, कर्मशील एवम् बौद्धिक व्यक्तित्व मेहरमान सरले २०५० सालमा प्रावि स्थायी, २०६० मा निमावि र २०६३ मा मावि तहमा शिक्षक सेवा आयोग उत्तीर्ण भई गाउँकै विद्यालयमा सेवा गरिरहेका थिए । मातृभूमि माविबाट प्रारम्भिक शिक्षा थालेका उनले त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर सकेका थिए ।

घरका माइला छोरा मेहरमान, पढ्नमा अति नै तीक्ष्ण थिए । मातृभूमि माविको प्र.अ. भएदेखि विद्यालयमा दिनरात खटिई रहने उनले १० देखि ४ बजेको घडी कहिल्यै हेरेनन् । बरु चाडपर्व, वर्षा र छुट्टिको समयपनि विद्यालयमा आफ्नो अमूल्य समय लगाई रहे । त्यसैले होला !  उनको विद्यालय, गएको वर्षको एसइई परीक्षामा पालिकाकै उत्कृष्ट नतिजा दिने विद्यालय बन्यो । सबैको रोजाईको विद्यालय बन्यो । 

दुई छोरीका बाबा, उनले श्रीमतीलगायत बुढी आमा, घरपरिवारलाई बिच बाटैमा छाडेर गए । समाज अनि मातृभूमि माविलाई टुहुरो बनाए । उनको परिवार भावविह्वल छ । छिमेकीहरु दुःखी छन् । शिक्षक साथीहरू रानो हराएका माहुरीजस्तै भएका छन् । विद्यार्थी भएका छन् -सर्वस्व गुमाएका सन्तानसरि । 

उनको अभाव, विद्यार्थी, विद्यालय र शिक्षक र अभिभावकले मात्र व्यहोर्नुपर्ने छैन, सिङ्गो गाउँ समाजले चिर कालसम्म व्यहोर्नुपर्ने देखिन्छ । यो अपूरणीय क्षति शैक्षिक क्षेत्रलेमात्र होइन, सामाजिक र राजनीतिक क्षेत्रले पनि स्विकार्न कठिन भइरहेको परिस्थिति छ । 

नेपाल राष्ट्रिय शिक्षक सङ्गठनसँग आबद्ध उनी, शैक्षिक क्षेत्रको उन्नयनका लागि शिक्षकको भूमिकालाई प्राथमिकतामा राख्थे । शिक्षकले सक्रिय भूमिका निर्वाह गर्दा शिक्षामा आमूल परिवर्तन आउने सम्भावना देख्थे । शैक्षिक गुणस्तरीयता कायम हुन सक्ने उनको तर्क थियो । विद्यालयमा नियमित शैक्षिक अन्तरक्रिया गर्थे । शिक्षकहरूसँग उपलब्धिपूर्ण शैक्षिक नतिजा ल्याउन छलफल गर्थे । समाजसँग विद्यालयको अन्तरसम्बन्ध खोज्थे । 

आफूलाई अब्बल शिक्षक र प्र.अ. बन्न उनले गरेको मिहिनेत, परिश्रम र योगदान सबैका अघि छर्लङ्ग छ । नतिजामुखी काम गर्न रुचाउने मेहरमान सर आफू भने कम बोल्थे र हर प्रश्नका जवाफ परिणामले दिन्थे । यही विशिष्ट गुणले नै मेहरमान सरलाई दुनियाँले चिने र मृत्युपछि विद्यालय प्राङ्गणमा गरिएको श्रद्धाञ्जली सभामा उपस्थितिले नै थप प्रमाण जुटाई दियो । 

बरु घरका काम कम गर्ने तर विद्यालयको काम भने हुरुक्कै भएर गर्ने उनको बानीलाई उच्च रक्तचाप र सुगरले रुचाएन । त्यही भएर त २०८१ असोज २९ गते साँझ ४ बजे काठमाडौँको ग्राण्डी अस्पतालबाट उनलाई निर्मोही कालले आफ्नो साथी बनायो । पाल्पा मिसन अस्पताल र बुटवलको गौतमबुद्व मुटु अस्पतालको चिकित्सकीय सेवाले उनलाई बचाउन सकेन । उनका भाइ हरि  र जेठी छोरीलगायत आफन्तजनले उपचारका क्रममा गरेका दौडधुप बालुवामा पानी गराई दियो निर्मोही कालले !
 
शैक्षिक प्रशासक मात्र होइन,असल शिक्षकका रूपमा कहलिएका मेहरमान सरप्रति गाउँलेहरूले यति बेला फोटोअघि झुकेर भावपूर्ण श्रद्धाञ्जली दिई रहेका छन् । दुई बहिनी छोरी,श्रीमती र भाइ हरिले किरिया कर्म गरिरहेका छन् । आफन्तजनहरू मृतक मेहरमान सरको फोटोमा माल्यार्पण गर्न आइपुगेका छन् । परिवारजनलाई समवेदना दिई रहेका छन् । सेतो कोरामा  देखिएका किरियाकर्मी हरुलाई देखेर आँसु बगाई रहेका छन् । यो नै मेहरमान सरले बाँचुन्जेल कमाएको सम्पत्ति हो । 

उनको लासलाई सत्गति गर्ने बेला राम्दीघाटमा देखिएका मलामीहरूले उनको कामको प्रमाण जुटाई दिएका थिए ।  मावि द्वितीय श्रेणीमा बढुवा हुने अवधिमा पुगेका उनलाई सो अवसर प्राप्त गर्न समेत पापी कालले दिएन । पूर्वी पाल्पाकै चम्किला शैक्षिक तारा भौतिक रूपमा अस्ताएर गए पनि उनको शैक्षिक एवम् सामाजिक योगदान जीवन्त रहने छ । विद्यालय र समाजले युग युग सम्झिरहने छ ।

दलबहादुर गुरुङ
लेखकको बारेमा
दलबहादुर गुरुङ
स्तम्भकार