ताजा अपडेट »
हत्या/अपराध

अर्काकी श्रीमतीलाई मोटरसाइकल चढाउदा गयो ज्यान, अभियूक्त ३ महिना पछि समातिए

शनिबार, ०३ कार्तिक २०८१, ११ : २४
62 Shares
शनिबार, ०३ कार्तिक २०८१
62 Shares

परासी । नवलपरासी पश्चिमको पाल्हिनन्दन गाँउपालिका- ५ घर भएका २० वर्षीय रोशन भनिने सूर्यकुमार बढईको हत्यामा संलग्न भएको आरोपमा स्थानिय एक किशोरसहित तीन जनालाई नवलपरासी प्रहरीले पक्राउ गरेकाे छ । जिल्ला प्रहरी कार्यालय नवलपरासीका डीएसपी रेशम बोहोराका अनुसार पक्राउ पर्नेमा पाल्हिनन्दन गाउपालिका- ६ का ३० वर्षीय जोगिन्दर बढई, सोही ठाउँमा २० वर्षीय सुरज राजभर र अर्का एक १७ वर्षका किशोर रहेका छन्।  

गत साउन १४ गते राति आफ्नै घरको कोठामा सुतिरहेको अवस्थामा बढईको हत्या भएको थियो। जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमले सार्वजनिक गरेको विवरण अनुसार साउन १४ गते राति आफ्नै भाइसँग सुतिरहेको बेला बढईमाथि धारिलो हतियार प्रहार हुदा उनको घटनास्थलमै मृत्यु भएको हाे। घटनापछि हत्याराहरु फरार भएका थिए। 

घटना हुनुभन्दा तीन दिनअघि साउन ११ गते जोगिन्दर बढईकी श्रीमतीलाई मोटरसाइकलमा राखेर रोशन भनिने सूर्यकुमार बढईले आफन्तको घरमा पुर्‍याएका थिए। साेही बेला बाटोमा जोगेन्दरसँग रोशनको भेट भएपछि विवाद सुरु भएको थियो।  आफ्नी श्रीमतीलाई मोटरसाइकलमा चढाएको विषय जोगिन्दरले साथी सुरज राजभर र अर्का किशोरलाई पनि जानकारी गराएका थिए। सो विवादपछि जोगिन्दरले रोशनसँग बदलाको भावना राखेको पाइएको प्रहरी अनुसन्धानले देखिएको छ।

साथीहरू बिच रोशनलाई तह लगाउने सल्लाह भए बमाेजिम साउन १३ गते बेलुकी गाउँको कुटिया माई मन्दिरमा बसेर उनीहरु गाँजा सेवन गरी रोशनलाई समेत उनीहरुले सोही स्थानमा बोलाए । रोशन मोटरसाइकलमा त्यहाँ पुगेपछि सामान्य छलफल भएर उनीहरु छुट्टिए। सोही राति १७ वर्षीय किशोरसहित जोगिन्दर र सुरजले स्थानीय पसलमा मादक पदार्थ सेवन गरी रोशनको घर नजिकेै बगैचामा बसेर गाँजा समेत सेवन गरेका थिए। 

गाँजा सेवनपछि जोगिन्दर बढईले साथमा ल्याएकाे पखुवा (हसीया) लिएर रोशन सुतेको ठाउँमा गए।  साउन १४ गते बिहान झण्डै चार बजे तिर उनले ओछ्यानमै गएर रोशनको घाँटीमा प्रहार गरेका थिए। त्यसपछि उक्त हतियार ट्वाईलेटको सेफ्टिट्यांकीमा लुकाएर जोगिन्दर यूपी ५६ एए २७८९ नम्बरको मोटरसाइकल चढेर भारततर्फ फरार भएका थिए। घटनापछि पनि सुरज र ती किशोर भने गाउँमै बसेका थिए। 

प्रहरीले घटनाको अनुसन्धान गर्दै थियो। सोही क्रममा असोज २३ गते जोगिन्दर बढई आफ्नो घरमा आएको सूचना पाउनासाथ प्रहरीले उनलाई पक्राउ गरेको हो। जोगिन्दरकै सूचनाको आधारमा घटनामा संलग्न देखिएका अन्य दुईजना समेतलाई पक्राउ गरिएको नवलपरासी प्रहरीले जनाएको छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।