ताजा अपडेट »

ओलीविरुद्ध रविको आक्रोश: तिम्रो हातमा तस्करको घडी, मेरो हातमा हतकडी

शुक्रबार, ०२ कार्तिक २०८१, १८ : ४१
94 Shares
शुक्रबार, ०२ कार्तिक २०८१
94 Shares

बुटवल । आफूविरुद्ध पक्राउ पुर्जी जारी भएपछि पूर्व गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आक्रोश पोखेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले प्रधानमन्त्री ओलीको हातमा तस्करले दिएको घडी र आफ्नो हातमा हतकडी लागेको भन्दै कडा प्रतिक्रिया दिएका हुन् ।
यस्तो छ उनको स्ट्याटस:

‘सरकार मर्‍यो, हामीलाई जुठो पर्‍यो !! तपाईंको हातमा तस्करले दिएको करोड पर्ने घडी, मेरो हातमा चाहि हतकडी ?? तपाई बिचौलियाको सेवा गरे बापत लाखौंको चस्मा र जुत्ता लगाउने, मुद्दा मैले खेपि दिनुपर्ने ?,’ रविले लेखेका छन्, ‘तपाईं प्रमाणित भ्रष्टाचारी बाट करोडौंको जग्गा खुल्लम खुल्ला लिने,मैले ठगीको आरोप खेपी दिनुपर्ने । तिमीहरू राज्यका भए भरको शक्ति लगाएर अनुसन्धान गर्दा पनि केही भेट्दैनौ अनि तिम्रो एउटा नेताको राजनीति जोगाउन र तिम्रो दुई तिहाइको सरकार जोगाइदिन म बली चढ्नुपर्ने ?’ रविले नेताहरूले ८७ अर्ब अपचलन गरेको र आफूलाई सहकारी ठगीको आरोप लगाएको पनि लेखेका छन् ।

रविले भाटभटेनीको इस्यु मोड्न आफूविरुद्ध पक्राउ पुर्जी जारी भएको दाबी पनि गरेका छन् । त्यस्तै भ्रष्टाचारी समाउन आफूले प्रधानमन्त्रीको अफर लत्याएको दाबीसमेत उनले गरेका छन् ।

‘प्रमाण छ भन्ने युवा नेतालाई पनि भागेर हिँड्न परेन । तर म कहिले भागेर हिँडिन र हिँड्दिन पनि । ओली जी, भ्रष्टाचारी समाउन मैले प्रधानमन्त्रीको अफर लत्याए, तिनै  भ्रष्टाचारी जोगाउन  तपाईंले  त्यही अफर रातारात बिचौलियालाई साक्षी राखेर लिनुभयो । बाचा स्वरूप तपाईंले मेरो बली चडाउने सम्झौता त्यसै रात गर्नुभएको थियो । यो मलाई राम्रोसँग थाहा छ,’ रविले भनेका छन्, ‘तपाईंको मन्त्रिमण्डल त्यसको साक्षात् प्रमाण हो।  तपाईंहरूका  दलका  नेता र कार्यकर्ता प्रमाणित सहाराकी ठग हुन् । कोहि जेलमा छन् कोहि फरार छन् । तपाईहरू तिनलाई जोगाउन लागिपर्नु भएको छ । अब तपाईहरु बाट पीडितले न्याय पाउँदैनन् । त्यसैले अब सहकारी पीडितको आवाजको नेतृत्व हामी गर्छौं ।’

उनले नेताहरूको दिनगन्ती शुरू भएको भन्दै कानूनलाई सघाउने पनि बताएका छन् ।  

‘ठीक छ,म तपाईंहरूको  दिनगन्ती शुरू भएको खुशियालीमा कानुनलाई पुरै सघाउने प्रतिवद्धता व्यक्त गर्दछु । नयाँ पुस्तालाई एक एक गर्दै सक्काउँदै जाने तिमीहरूको  कुनियतले तिमीहरूलाई चाँडै रसातलमा पुर्‍याएको यो देशले चाँडै देख्ने छ । शुरूआत तिमीहरूले गर्‍यौं, अन्त्य हामी गर्नेछौं, नेपाली जनताले गर्नेछन्,  छिट्टै गर्नेछन्,’ रविले भनेका छन्, ‘अहिलेलाई, सरकार मर्‍यो हामीलाई जुठो पर्‍यो । तर मलाई  न्यायालयप्रति आशा र न्याय प्रेमी जनताप्रति भरोसा छ । प्रिय रास्वपा परिवारका साथीहरू, शिर ठाडो राख्नु होला। तपाईंको सभापतिले कसैलाई ठगेको छैन ।'

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।