ताजा अपडेट »

साफ महिला च्याम्पियनसिप : उद्घाटन खेलमा भारत विजयी

विहीबार, ०१ कार्तिक २०८१, २० : ३७
62 Shares
विहीबार, ०१ कार्तिक २०८१
62 Shares

काठमाडौं । काठमाडौंको दशरथ रंगशालामा आज (विहिबार)देखि सुरु साफ महिला च्याम्पियनसिप प्रतियोसगताको उद्घाटन खेलमा भारतले विजयी सुरुवात गरेको छ । पाकिस्तानमाथि ५ २ गोल अन्तरको जित दर्ता गर्दै ३ अंक बटुलेको छ ।

पहिलो हाफमै एक समय ४(० को अग्रतामा रहेको भारत दोस्रो हाफमा सुस्त सुरुवात गर्दा दबाबमा भने परेको थियो । पहिलो हाफको इन्ज्युरी समयमा पेनाल्टीमा गोल गरेको पाकिस्तानले दोस्रो हाफको सुरुवातमा नै अर्को गोल फर्काएको थियो । त्यसपछि लगातार दबाब कायम गरेपनि गोल गर्न नसक्दा पाकिस्तान खेलमा फर्कन सकेन ।

खेलको पाँचौ मिनेटमै भारतले खेलमा अग्रता लियो । ग्रेस दाङमेइले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहारमा गोलरक्षक निशा अशरफले बचाउन सकेनन् । बायाँ विंगबाट रन्जना चानुले दिएको क्रसलाई ग्रेसले नियन्त्रणमा लिँदै सहजै प्रहार गरेकी थिइन् । १७ औं मिनेटमा मनिषाले अग्रता दोब्बर पारिन् । मिडफिल्डबाट लगातार पास खेल्दै पाकिस्तानको डिफेन्स बिट गरेर बाला देवीले दिएको अन्तिम पासलाई मनिषाले पेनाल्टी क्षेत्र भित्र लगेर गोल गरिन् ।

२७ औं मिनेटमा ग्रेसको हेडरलाई पाकिस्तानकी गोलरक्षक निशाले डाइभ दिँदै बचाउ गरिन् । लगत्तै प्रियांका देवी नाओरेमको लामो दुरीको प्रहारमा पनि निशाले सहजै बचाइन् । ३६ औं मिनेटमा भारतका लागि बाला देवीले गोल थपिन् । गोलरक्षक निशा अशरफले पेनाल्टी क्षेत्रभित्र धेरै समय बल नियन्त्रणमा लिएको भन्दै रेफ्री अन्जना राईले भारतलाई पेनाल्टी क्षेत्रभित्र इनडाइरेक्ट फ्रिकिकको अवसर दिइन् । मनिषाले फ्रिकिकमा पास दिएपछि बालाले पहिलो टचलाई जाली चुमाइन् ।

४३ औं मिनेटमा भारतले अर्को गोल थप्यो । ६ यार्ड बक्सभित्र गोलरक्षकले बल नियन्त्रण लिन नसक्दा ग्रेसले बललाई पोस्टको दिशा दिइन् । पाकिस्तानकी कप्तान मारिया खानले बल बचाउने प्रयास गरेपनि दिशा बदल्न सकिनन् ।

इन्ज्युरी समयको पहिलो मिनेटमा पाकिस्तानले पेनाल्टीको अवसर पायो । सयौं खेल खेलिरहेकी आशालता देवीले पेनाल्टी क्षेत्रभित्र नादिया खानलाई लडाएपछि रेफ्रीले पेनाल्टी दिइन् । सुहा हिरानीले पेनाल्टीलाई टप कर्नरमा गोल गर्दै स्कोर ४(१ को स्थितिमा ल्याइन् ।

दोस्रो हाफको सुरुवातमै पाकिस्तानले कायला सिद्दिकीबाट गोल थप्यो । कर्नरबाट फर्केर आएको बलमा रमिन फरिदले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार कायलाको खुट्टामा पुग्यो । उनले दायाँ खुट्टाले रोकेर बायाँ खुट्टाले प्रहार गर्दै गोलरक्षक पान्थोइ चानुलाई बिट गरिन् ।

५८ औं मिनेटमा पाकिस्तानकी कप्तान मारियाले झन्डै ३५ यार्ड टाढाबाट गरेको फ्रिकिक प्रहार पोस्टभन्दा थोरै माथिबाट बाहिरियो । ६१ औं मिनेटमा पाकिस्तानले गोल गर्ने अर्को अवसर गुमायो । इस्रा खानले बायाँ विंगबाट दिएको क्रसलाई जामेना मालिकले फार पोस्टबाट पोस्टतर्फ दिशा दिन सकिनन् ।

६४ औं मिनेटमा पाकिस्तानले अर्को अवसर पायो । नादिया खानले डिफेन्स बिट गरेर दिएको उत्कृष्ट पासलाई अमिना हानिफले पोस्टतर्फ प्रहार गर्न सकिनन् । लगातार अवसर सदुपयोग गर्न नसकेको पाकिस्तानले ७८ औं मिनेटमा भने गोल खायो । डालीमा छिब्बरको कर्नरमा ज्योति चौहानले हेडरमा सहजै गोल गरिन् । शुक्रबार हुने खेलमा १:३० बजे माल्दिभ्स र श्रीलंका खेल्नेछन् । साँझ ५:३० बजे नेपाल र भुटान खेल्नेछन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।