ताजा अपडेट »
कला सँस्कृति

नवदुर्गा मन्दिरमा खुडासहित सांसद घिमिरे र बुटवलका नगर प्रमुख पाण्डेय

विहीबार, ०१ कार्तिक २०८१, १६ : ५६
182 Shares
विहीबार, ०१ कार्तिक २०८१
182 Shares

बुटवल । विजयादशमीको अन्तिम दिन बिहीबार कोजाग्रत पूर्णिमाको अवसरमा बुटवलको देवीनगरमा सराय नाच प्रदर्शन गरिएको छ । सो कार्यक्रममा संघीय सांसद बासुदेव घिमिरे, बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डेय लगायतका नेता कार्यकर्तासमेत सहभागी भएका थिए । 

नवदुर्गा मन्दिर समिति बुटवल-११ देवीनगरले दुर्गा भवानीको पूजा आराधनासंगै सरायनाँच कार्यक्रम आयोजना गरेको हो । उक्त कार्यक्रममा सांसद घिमिरे र नगर प्रमुख पाण्डेय समेत हातमा खुडा लिएर सराय नाचमा सहभागी भएका थिए । दशैपछि पहाडी तथा शहरका विभिन्न ठाउँका दुर्गा मन्दिरहरुमा सराय नाँच निकाल्ने प्रचलन रहेको छ । असत्य माथि सत्यको विजयका रुपमा मनाउने वडा दशै पर्व लुम्बिनी प्रदेशका पहाडी जिल्लाहरु पाल्पा, गुल्मी, अर्घाखाँची तथा रुपन्देहीलगायतका विभिन्न जिल्लाहरुमा भव्यरुपमा मनाउने गरिन्छ ।

लुम्बिनी वाणिज्य क्याम्पस बुटवलको प्राङ्गगणबाट सुरु भएको मौलिक सरायनाँच देवीनगरको चौपारीसम्म दर्शकहरु स्वतस्फुर्तरुपमा खुडा नचाउँदै र नाँच्दै सहभागी भएका थिए । सरायनाँच हेर्न सयौको संख्यामा अवलोकनकर्ताहरुको उपस्थिति रहेको थियो ।

saraya12

कसरी नाचिन्छ सराय ?

नित्य पूजा भएपछि सराय हुने दिन विधिअनुसार पूजापाठपछि ठाउँ र परिस्थितिअनुसार बलि ९अधिकांश स्थानमा राँगो० दिइ सराय नाच सुरु हुन्छ । पहिला मन्दिर वरिपरि परिक्रमा गरी पछि खुला ठाउँमा पुगेर दिनभर खुँडा वा लाठी नचाउँदै र जुधाउँदै बाजाका तालमा ‘वाख्खै’ ‘ह’ भन्दै सराय नाच्ने चलन छ । पञ्चेबाजाको तालमा यो नाच नाचिन्छ । 

विशेष गरी अर्घाखाँचीमा अर्घासँगै भण्डार थुम, माला रानी, बामरुक, राँगामारे, छत्रकोट, चौडिला, उलुकछत्र, खाँचीकोट, ठाडा, असुरकोट लगायतका कोटहरूमा यो नाच हुन्छ । यस्तै गुल्मीको चोयगा, धुर्कोट, जुभुंग, चन्द्रकोट, जुनियाकोट, पौदी अमराईकोट, अर्जे अमरपुरलगायतका क्षेत्रमा पनि यो नाच नाचिन्छ । पाल्पामा मुझुङ्गकोट, गोखुंगा रैनादेवी, कुसुमखोला, बल्डेङ्गगढी क्षेत्र, रम्भादेवी, माथागढीमा पनि सराय नाच नाचिन्छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।