ताजा अपडेट »

म झर्दै छु नि !

बुधबार, ३० असोज २०८१, १२ : २१
56 Shares
बुधबार, ३० असोज २०८१
56 Shares

इन्दिरा भुसाल/ थरिथरिका मौसमहरुमा थरिथरिका रुखहरु र ती रुखहरुका पनि थरिथरि पातहरु साथै ती पातहरुका थरिथरिका विकसित अवस्था र अन्तयमा मृत्युवरण गर्नुपर्ने यो कस्तो वाध्यता ? 

हो यहि वाध्यतामा अल्झिएको एक अभागी पात जसले अन्य पातहरुको अस्तित्व क्रमशः मेटिइरहेको देख्दा देख्दै प्रकृतिले आफ्नो सारा अस्तित्व मेटाउनु भन्दा पहिले नै आफुले आफुलाई यो प्रकृतिबाट गुपचुप बनाउने अर्थात अस्तित्व मेटाउने संकल्प गर्न वाध्य एक पात जो अब विलिन हुँदैछ, हो म त्यहि पात हो । 

ए साच्चि! आज प्रष्ट पारीदिन्छु हैँ, 
सुनन् म झर्दै छु नि!

हो म झर्दै छु नि किनकी मैले यो प्रकृतिको बिरुद्ध अडिएर आफु र आफु जस्ता अन्य पातहरुको अस्तित्वलाई चाहेर पनि जिवित राख्न सकिन । अझ भनौ भने मैले खाना बनाउन् खान आवश्यक पर्ने आफ्नै हरियोपनालाई जिवन्त कायम राख्न सकिन।

मलाई प्रकृतिले आफुले चाहे अनुसार रुप परिवर्तन गर्दै नचाइरहेछ । लाग्छ म पनि उसको इसारालाई आखाँ बन्द गरेर आत्मसाथ गर्दै नाचिरहेछु। यो बाहेक अरु विकल्प पनि त रहेन म सँग! उसले चाहे जसरी मौसम अनि समयको परिवर्तित रुप अनुरुप मेरो हरियोपनालाई नष्ट पार्दै कहिले पहेलो, कहिले रातो त कहिले छिरबिरे रङ्गमा परिवर्तन गर्दै मेरो प्राणहत्या गरिरहने प्रयास गरिरहँदा पनि म हरियो नै रहन खोजे तर सकिन।

हो त्यसैले म झर्दै छु नि।
मेरै आँखा अगाडि कैयौ पातहरु सुकिरहेछन उनीहरु मेरो साथ छोडदै हामी झर्दै छौँ राम्रो सँग बस है भन्दै मलाई विदाइका हातहरु हल्लाउदै गर्दा ति सुकिरहेका पातहरुलाई शक्ति दिएर हरियो बनाउन /शक्ति दिन सकिन । त्यसैले म पनि झर्दै छु नि!

आफ्नै रुखका काँडाहरुबाट विक्षिप्त भएका पातहरु जस्ले कैयौँ पटक मलाई बचाउँ न म तिमिसँगै बाच्न चाहान्छु, तिमि जस्तै बनि भनेर हारगुहार गरिरहँदा पनि म छु नि भनेर ति काडाँहरुमा अल्झिएर जिवन मागिरहेका पातहरुलाँई काडाबाट छुटकरा दिलाउँन सकिन ।

अझ भनौ भने ती रुखका काडाँहरु जसलाई पातले आफ्नै आफन्त वा छिमेकी मानिरहेको थियो। ती काडाँहरुले नै आफ्नो शरिरमा कैयौ निलडाम पारिरहेको पिडा सहन नसकि ति काडाहरुलाई सजाय दिनुको सट्टा आफैलाई प्रकृतिको बोझ ठानि आफ्नै अस्तित्व मेटाउन खोज्ने ती पातहरुलाई म तिमिहरुलाई न्याय दिलाउछु र नरपिचासि काडाँहरुलाई उनिहरुले गरेको अपराधको बदलामा सजाय दिलाउछु भनि हौसला, हिम्मत तथा सान्तवना दिन सकिन हो त्यसैले म पनि झर्दै छु नि!

तिव्र हावाको वेगसँगै नचाहादाँ नचाहादै पनि मेरै छेउबाट झर्न लागिरहेका पातहरुलाई मैले मेरा हातहरु दिन खोजे तर सकिन। त्यसैले त म उनीहरुलाई हात दिन नसके पनि सँगै झर्न त सक्छु नि भनि मनलाई आफैसँग बाधेर कठोर बनाउदै म पनि झर्दै छु नि।

हावाहुरी घामपानी नभनि दिनरात अहोरात्र खटिएर आफ्नै जिन्दगि दाउमा राखि मैले सुरक्षा दिएको फूलमा अनेकौ प्रकारका नरपिचासि भमराहरुले गिद्दे नजर लगाइ भुनभुन गर्दै फुलको रस चुस्न पल्किएका र मौका कुरिरहेका भमराबाट सुन्दर फुललाई उसको अस्तित्व मेटाउनबाट बचाउन सकिन। त्यसैले त म झर्दै छु नि। 

हावाहुरि आँधिबेरिको तिव्र वेग चलिरहदा म सँगै अन्य पातहरु बसिरहेको रुखको डालिलाई तलमाथि दाँयाबाया मच्चाउँदै गर्दा हाँगाले ओए पात मैले नै त तलाई बस्न बास अनि आड दिएको छु अनि तलाई खाना बनाउन सहज होला भनि जराबाट शोषित पानी त सम्म पुर्याउने माध्यम मै त बनेको थिए। म नै हावाको वेग सँग गए भने तेरो समेत जिन्दगि सकिन्छ, त पनि म सँगै मर्नु पर्छ तेरो पनि त जिन्दगि समाप्त हुन्छ। कृपया मलाइ सहयोग गर आउ ! हामि दुवै मिलेर हावालाई भगाउ भनि विन्ति बिसाउदा समेत हावाको वेगमा फर्फराउदै टुलुटुलु हेर्न सिवाय म सँग केहि विकल्प रहेन। 

जब मेरो सहारा बनिरहेको हागालाई म छु नि भनि हावाबाट बचाउदै आफ्नो र हागाको अस्तित्व बचाउन नसक्ने म पातको के काम हो त्यसैले म झर्दै छु नि। मैले फुललाई रक्षा गरी त्यसबाट फल लागि बिउमा परिणत भइ नयाँ विरुवा उत्पादन भइरहेको हेरिरहदा म आफैबाट नयाँ पालुवा पलाउन खोजे मै बाट नयाँ बिरुवा बन्न खोजे या भनौँ मैले नयाँ बिरुवाको जिवन उत्पति गर्न वा जन्माउन खोजे तर सकीन । जाबो नयाँ विरुवा बनाउन नसक्ने म पातको के अस्तित्व रहयो र ? त्यसैले त म झर्दै छु नि। 

मलाई जिउदो रहन सहयोग गर्ने अझ भनौ म पात हु भनि चिनाउन सहयोग गर्ने मेरो मालिक (रुखको) खुट्टा (जरा) मा विभिन्न किरा फटयाङ्ग्राहरुको लोभि नजर परि भताभत जरा काटिदै थियो। अझ मानव रुपि दानवबाट आहाँ कति सुरिलो अनि आकर्षित रुख घर बनाउन प्रयोगमा उत्तम हुन्छ भन्दै जरा, काण्ड क्रमश काटदै मै पातलाइ समेत उपयोग विहिन साधनको संज्ञा दिदै छेदविच्छेद पारि हाम्रो शरिरलाई नै रक्तयाम्मै पारिदै थियो। त्यतिबेला सबैलाइ खबरदारि गर्दै मेरो मालिक (रुख) लाइ नकाट। मालिक काटिनु वा मर्नु भनेकै मेरो सर्वस्व सखाप हुनु हो भनि किरा तथा मानिस दुवैलाइ खबरदारि गरि भगाउन सकिन। मलाइ जिवित राख्न शक्ति बटुल्ने जरा नै नभएपछि म स्वभाविक

रुपमा झर्नै पर्ने भयो। 
हेर त अन्त्यमा 
म साच्चिकै झर्दे छु नि । 

यसरी म जस्ता कैयौँ पातहरु जस्लाइ प्रकृतिले विभिन्न वाहनामा उनिहरुको सौन्दर्यतामा दाग लगाउदै कुरुप बनाएर बतासको लयमा रुखको फेदमा यत्रतत्र छरपष्ट पारिदियो। पातहरुले आफ्नै जिन्दगी मेटाइ रुखको फेदमा पोखिएर विभिन्न आकार प्रकारमा खचाखच हुदा पनि प्रकृतिलाई  सौन्दर्यता प्रदान गरिरहने यो कस्तो अचम्म !  पातको लाशमा पनि सौन्दर्यको जलप, यसरी दिनहु लाश बनिरहेका पातहरुको लागि जुन दिन म साहस अनि सास दुबै बन्न सकिन, त्यस दिनबाट मैले आफ्नो प्राण त्याग गरी आफ्नै अस्तित्व मेटाउने ठोस निर्णयमा पुगे। 

साच्चि ! मलाइ कहिले सुन्दर हुन मन नै लागेन किन थाहा छ?  किनकि म सुन्दर देखिएर कोहि कसैको हातबाट निमोठिएर भगवान रुपि पत्थरको अगाडि फ्याकिनु थिएन। म सुन्दर बनि कसैको हातबाट चुडिएर सियोको टुप्पोले घोचिघोचि मेरो आकार विगारि माला बनाएर क्षणिक रुपमा कसैको गलामा सजिएर फेरि ओइलिएर फोहोरमै फ्याकिनु थिएन। 

रुखको डालिको प्रयोग गरि मेरो अस्तित्वलाइ माटोसँग मिलाएर अस्तित्व नै नष्ट गरेर साच्चिकै म हुनुको बोझिलोपनामा मलाइ सुकाएर, माटोमा गाडेर, जलाएर वा विविध प्रकारले अरु कसैले दुरुपयोग गर्नु भन्दा पहिले झर्दै छु केवल आफै झर्दै छु तर जमिनमा होइन, हावाको माध्यमबाट आकाशमै विलिन हुदैछु। किनकि कसैलाइ पनि मेरो अन्तिम दाहसंस्कार गर्दा भार नपरोस, कुनै मार नपरोस।

कसैले पनि मलाइ जलाउदा यो त कति पापि रहेछ, आगोले पनि जल्न सकेन भन्दै दाउराले घोचिघोचि हतार गर्दै मलाइ जलाएर खरानि बनाउन नपरोस। म स्वतन्त्र रुपमा कसैलाई थाहा नै नदिइ कसैले म नभएको सुइको समेत नपाउने गरि  अन्तयमा साच्चिकै म झर्दै छु नि
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।