ताजा अपडेट »

सहयोग नपाएको बाढीपीडितको गुनासो

बुधबार, ३० असोज २०८१, १० : ३३
28 Shares
फाइल तस्विर
बुधबार, ३० असोज २०८१
28 Shares

इनरुवा । हालैको अविरल वर्षाका कारण भोक्राहा नरसिंह गाउँपालिका–३ की ५० वर्षीया परमिला खत्वेको घरमा पाँच फिटसम्म पानी जमेको थियो । वर्षासँगै बाढी घरमा पसेपछि अन्नपात भेलमा बग्योभने ओढ्नेओछ्याउने पनि लगातारको झरीले हप्तौँसम्म अख्रन पाएनन् । विपद्का बेला कसैले सहयोग नगरेको र तीन दिनसम्म भोकै बस्नुपरेको पीडा गहभरि आँसु पारेर उनले सुनाइन् । 


सोही स्थानकी कुमारी खत्वेको अवस्था पनि उस्तै रह्यो । सहायता सामग्री वितरणमा पालिकाले विभेद गरेकामा उनी क्रुद्ध छिन् । स्थानीय सरकारबाट सहयोग नपाउने परमिला र कुमारी खत्वे भोक्राहा नरसिंह गाउँपालिकाका प्रतिनिधि पात्र हुन् ।  नरसिंह गाउँपालिकाका अधिकांश बाढीपीडितले राज्यबाट सहायता नपाएको गुनासो गरेका छन् । 

राष्ट्रसङ्घीय विश्व खाद्य कार्यक्रमले बाढीपीडितलाई प्रतिपरिवार रु १५ हजारका दरले वितरण गरेको भए पनि वास्तविक पीडितले उक्त रकम नपाएको भोक्राहा नरसिंह गाउँपालिका ७ का धीरेन्द्र कामैतले बताउछन् । सरकारले राहत नदिएको भोक्राहा नरसिंह गाउँपालिका– ७ का धीरेन्द्र कामैतले बताए । 

बाढीबाट पीडित नभएकालाई सहयोग गरेको भोक्राहा नरसिंह गाउँपालिका–७ का अर्का पीडित चमरु मण्डलले गुनासो गरे । पहुँचका आधारमा सहायता रकम वितरण गरिएको उनको दाबी छ । 

यसैबीच, बाढीपीडितले राज्यका कुनै निकायबाट सहयोग नपाएपछि भोक्राहा नरसिंह गाउँपालिका–३ नम्बर वडा कार्यालयमा सोमबार विरोधप्रदर्शन गरेका थिए । साथै उनीहरूले वडा कार्यालयमा तालाबन्दी गरेको स्थानीय ताराचन मण्डलले बताए । 

वडाध्यक्ष धीरेन्द्रकुमार यादवले आन्दोलनमा उत्रेकालाई लाभग्राहीको नाम शुक्रबारसम्ममा उपलब्ध गराउने र वार्ताको माध्यमबाट समस्या समाधान गर्ने बताए। बाढीबाट भोक्राहा नरसिंह गाउँपालिकामा एक हजार दुई सय ९३ घर प्रभावित भएका जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।