ताजा अपडेट »
लेबलान-इजरायल द्वन्द्व

हिजबुल्लाह माथि दया नगर्ने नेतान्याहूको प्रतिज्ञा, लेबनानमा इजरायली आक्रमण तीव्र पारीयाे

मंगलबार, २९ असोज २०८१, १४ : ४९
20 Shares
मंगलबार, २९ असोज २०८१
20 Shares

काठमाणडाैं । इजरायली सेनाले मङ्गलबार पूर्वी लेबनानमा आक्रमण सुरु गरेको लेबनानको आधिकारिक सञ्चारमाध्यमले जनाएको छ । प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले हिजबुल्लाहप्रति कुनै दया नगर्ने वाचा गरेपछि दुई समूहबिच द्वन्द्व थप चर्किएको हो ।

प्रधानमन्त्रीको प्रतिज्ञा इरान समर्थित लेबनानी समूहले इजरायली आधारमा गरेको ड्रोन हमलामा चार सैनिक मारिएको एक दिनपछि आएको हो । “हामी बेरुत सहित लेबनानका सबै भागमा हिजबुल्लाह माथि आक्रमण गर्न जारी राख्नेछौँ“, हाइफाको दक्षिणमा बिन्यामिना नजिकैको आधारको भ्रमणका क्रममा नेतान्याहूले भने । हिजबुल्लाहले मङ्गलबार रब त्लातिन गाउँको बाहिरी भागमा हस्तक्षेप गर्न खोजिरहेका इजरायली सेनासँग झडप भएको जानकारी गराएको छ ।

इजरायलले गत महिना सीमा पार भूमि सेना पठाउनु अघि लेबनानमा आफ्नो बम आक्रमण बढाएको छ । लेबनानको स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार युद्धमा कम्तीमा एक हजार ३१५ जनाको मृत्यु भएको छ । लेबनानको आधिकारिक राष्ट्रिय समाचार एजेन्सी (एनएनए) ले रिपोर्ट गरेअनुसार इजरायलले मङ्गलबार बिहान पूर्वी बेका उपत्यकामा हवाई आक्रमणलाई तीव्र गरेको हो ।

रेड क्रसको अन्तर्राष्ट्रिय समितिका क्षेत्रीय निर्देशक, निकोलस भोन आर्क्सले सोमबार एम्बुलेन्स र अन्य स्वास्थ्य सुविधाहरू र कर्मचारीहरूको सुरक्षाका लागि आग्रह गर्दै उनीहरूमाथि भएको आक्रमणलाई “चिन्ताजनक“ विषय रहेको बताउनुभयो ।

इजरायली आक्रमणले हिजबुल्लाहको गढ साथै लेबनानका अन्य भाग लक्षित आक्रमण सुरु गरेको छ, जसमा उत्तरी इसाई बहुल गाउँ पनि समावेश छ जहाँ सोमबार कम्तीमा २१ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

दक्षिणी सीमावर्ती सहर मर्जायुनका नागरिक सुरक्षा प्रमुख अनिस अबलाले उद्धारकर्ताहरू “थकित“ भएको बताएका छन् । “निरन्तर आक्रमणले हाम्रा उद्धार अभियानहरू झन् झन् कठिन हुँदै गइरहेका छन्“, उनले भने । ।

लेबनानको स्वास्थ्य मन्त्रालयले गत हप्ता मध्य बेरुतमा भएको इजरायली आक्रमणमा कम्तीमा २२ जनाको ज्यान गएको जानकारी दिएको छ । आप्रवासनका लागि अन्तर्राष्ट्रिय सङ्गठनको गत हप्ताको प्रमाणित तथ्याङ्कअनुसार लेबनानको युद्धले कम्तीमा छ लाख ९० हजार मानिस विस्थापित भएका छन् ।

 



 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।