ताजा अपडेट »
एनपीएल् क्रिकेट

जनकपुर बोल्ट्सको प्रशिक्षकमा पुबुदु दाशानायके

मंगलबार, २९ असोज २०८१, १२ : ४८
36 Shares
मंगलबार, २९ असोज २०८१
36 Shares

काठमाडौँ। पूर्व नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक ५४ वर्षीय पुबुदु दाशानायकेलाई जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिगको लागी आफ्नो प्रशिक्षकको रूपमा नियुक्त गरेको छ । दासानायके, श्रीलंकामा जन्मिएका क्यानाडेली नागरिक हुन्, जसले सन् २०११ देखि २०१५ सम्म चार वर्षसम्म नेपाली क्रिकेटको नेतृत्व गरेका थिए ।

उनको कार्यकालमा नेपालले ऐतिहासिक उपलब्धिहरू हासिल गर्‍यो, जसमा प्रमुख माइलस्टोन २०१४ को आईसीसी टि-२० विश्वकपमा सहभागिता थियो । उनले नेपाललाई पहिलो पटक आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपसम्म पुर्‍याएका थिए, जहाँ नेपालले लगातार प्रगति गरेको थियो । नेपाली क्रिकेटमा उनको योगदानलाई लिएर उनी चर्चित बनेका हुन ।

सन् २०१५ मा व्यक्तिगत कारणले नेपालबाट राजीनामा दिएपछि उनी पुन: सन् २०२१ मा नेपाल फर्केर दोस्रो पटक प्रशिक्षक भए । तर २०२२ मा उनी पुन: व्यक्तिगत कारणले राजीनामा दिएर क्यानडाको राष्ट्रिय टोलीको प्रशिक्षक बने । २०१६ देखि २०१९ सम्म उनी अमेरिकाको राष्ट्रीय क्रीकेट टोलीको प्रशिक्षक बने । सन् २००७ देखि २०११ सम्म उनी क्यानडाकै मुख्य प्रशिक्षक थिए ।

दशानायकेले खेलाडीको रुपमा सन् १९९३ देखि १९९४ सम्म श्रीलंका क्रीकेट टीमको लागि ११ टेष्ट र १६ एक दिवसीय खेल खेलेका थिए । उनले फर्स्ट क्लास क्रीकेटमा १०८ खेल खेल्दै ३८४० रन बनाएका छन् ।
 

जनकपुर बोल्ट्सको मार्की खेलाडीको रुपमा नेपाली राष्ट्रीय क्रीकेट टोलीका ओपनर आशिफ शेख रहेका छन् । ललित राजवंशी, अनिल कुमार शाह, किशोर महतो, शेर मल्ल जस्ता स्टार खेलाडीले भरिपूर्ण बोल्ट्सले यहि मंसिरमा हुने नेपाल प्रीमियर लिगको पहिलो संस्करणमा स्तरीय खेल पस्किने अनुमान गरिएको छ । दशानायकेको नियुक्तिले टोलीलाई थप मजबुत बनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।