ताजा अपडेट »
डेङ्गु लहर

‘जटिल डेङ्गु’ निम्त्याउन सक्ने पूर्व सङ्केतहरु

मंगलबार, २९ असोज २०८१, १० : ५४
20 Shares
मंगलबार, २९ असोज २०८१
20 Shares

नेपालमा डेङ्गु सँगसँगै चिकुनगुनिया भाइरस, स्क्रब टाइफस, फ्लूजस्ता थप सङ्क्रमणहरु फैलने गर्दछ । यसर्थ, ज्येष्ठ नागरिक, सह–सङ्क्रमित वा उच्च रक्तचाप, मधुमेह र श्वास–प्रश्वास (दीर्घ वा हालै सङ्क्रमित भएको अवस्था) समस्या भएका व्यक्तिहरूले ‘जटिल डेङ्गु’ का पूर्व सङ्केतलाई कुर्नै वा देखिनु नै पर्छ भन्ने छैन  । यस्तो अवस्थामा चिकित्सकको निरन्तर सम्पर्कमा रही आफ्नो स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिनु अति बुद्धिमानी हुनेछ । डेङ्गुबाट बच्नु भनेको यस्ता लामखुट्टेको टोकाइबाट बच्नु नै हो । किनभने यसको टोकाइ एवं सङ्क्रमण निकै घातक हुन सक्छ ।                

दसैँ अगाडि डेङ्गुले गति लिँदै गइरहेको अवस्था थियो । दशैँलगत्तै अस्पतालमा जाँदा डेङ्गु पुष्टि भएका बिरामीहरुको सङ्ख्या अझ बढ्दै गइरहेको पाइएको छ । यसबाट दिनमा नै दर्जनौँ डेङ्गु भाइरस पुष्टि हुने क्रमले निरन्तरता पाइरहेको अवस्था देखिन्छ । हुन त काठमाडौँ मात्र नभई देशका विभिन्न ठाउँहरूमा डेङ्गुले व्यापक प्रभाव पारेको जानकारीहरू आउने क्रम जारी छ । डेङ्गुको यो रफ्तारमा सम्भवतः तत्काल रोकिने सम्भावना अत्यन्त न्यून देखिन्छ । 

चाखलाग्दो कुरा के छ भने अधिकांश डेङ्गु सङ्क्रमितहरू लक्षण लिएर घरघरमा बसिरहेको वा कार्यक्षेत्रमा निरन्तर खटिरहेका देखिन्छन् । अझ भनौँ धेरै मानिस ‘वाकिङ डेङ्गु’को अवस्थामा रहेको देखिन्छ । ‘वाकिङ डेङ्गु’ भन्नाले डेङ्गु सङ्क्रमित भई निरन्तर आफ्नो दैनिकीलाई निरन्तरता दिइरहेको अवस्थालाई भन्न खोजेको हो । चाडपर्वमा मान्छेहरू यसको लक्षणलाई नजरअन्दाज गर्दै आउजाउ, भेटघाट गरिरहेका छन् । किनभने डेङ्गुको सामान्य लक्षण आम समस्यासँग मिल्दोजुल्दो हुन्छ । यस्तो अवस्थामा मान्छेहरू सामान्य समस्या ठानेर आफूखुसी औषधिसमेत खाँदै हिँडडुल गरिरहेका हुन्छन् । जब समस्या जटिल बन्दैन, तबसम्म उनीहरू अस्पताल पुग्दैनन् ।

अधिकांशलाई डेङ्गुको लक्षण देखिएको ८–१० दिनमा स्वास्थ्यमा सुधारोन्मुख देखिन्छ भने केहीमा डेङ्गुले जटिल अवस्था सिर्जना गर्न सक्दछ । तसर्थ ‘जटिल डेङ्गु’ का पूर्व सङ्केतहरु सङ्क्रमितले थाहा पाउन अति आवश्यक देखिन्छ र सो देखिए तुरुन्त चिकित्सकसँग सम्पर्क गर्न सक्छन् । हाल डेङ्गु सङ्क्रमणको लहर रोक्न विभिन्न कारणले गर्दा  चुनौती रहेको भए तापनि ‘जटिल डेङ्गु’ का पूर्व सङ्केतलाई ध्यान दिन सक्ने हो भने डेङ्गुबाट हुनसक्ने मृत्युदरलाई उल्लेखनीय सङ्ख्यामा कम गर्न सकिन्छ ।

हालसम्म रेडियो, टेलिभिजन, पत्रपत्रिका तथा सामाजिक सञ्जालहरूमा डेङ्गु के हो, कसरी सर्छ र यसका लक्षणहरूका बारेमा जानकारीहरू दिने गरेको देखिए तापनि अबको प्रचारप्रसार तथा जानकारीहरू ‘जटिल डेङ्गु’ का पूर्व सङ्केतका बारेमा केन्द्रित हुनुपर्ने देखिन्छ । यसबाट डेङ्गु बाट हुने मृत्युदरलाई उल्लेखनीय रूपमा कम गर्न सकिनेछ । यो नै अहिलेको प्रमुख आवश्यकता र सघन माग पनि हो ।

(लेखक शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालको क्लिनिकल रिसर्च युनिटका संयोजक हुनुहुन्छ)

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।