ताजा अपडेट »

खरबारी फाँडेर केराखेती, वार्षिक दुई करोड आम्दानी

मंगलबार, २९ असोज २०८१, ११ : ५६
154 Shares
मंगलबार, २९ असोज २०८१
154 Shares

गलेश्वर । पूर्वोत्तर मोहडा गरेको भिरालो जमिन । सिरानमा ऐतिहासिक ज्यामरुककोट र पुछारमा कलकल बगेको कालीगण्डी । बिचमा बेनी नगरपालिका – २ को खबरा गाउँ । केही वर्ष अघिसम्म खर र सिरु घारीले ढाकिएको यो गाउँ अहिले केरा बगैँचाले मनोहर छ ।

करिब एक सय ५० घरपरिवारको बस्ती रहेको यो गाउँको मुख्य आम्दानी अहिले केरा खेती बनेको छ । यहाँ बसोबास गर्ने प्रत्येक परिवारले पाखो बारी, खर बारी र अन्न उत्पादन हुने जग्गामा व्यावसायिक रूपमा केरा खेती गरेका स्थानीय कृषक नारायण सापकोटा बत्ताउँछन् । गाउँभर केरा खेती गरिएको छ । केरा बिक्री गरेर वार्षिक रु दुई करोड बढी रकम भित्रिने गरेको उनले बताउँछन् ।

विसं २०५७ मा खबरामा पहिलो पटक केरा खेती थालिएको स्थानीय जगत् घिमिरे बत्ताउँछन् । पोखराबाट हजारी जातको केराका तीनवटा बिरुवा ल्याएर खबरामा लगाएसँगै व्यावसायिक रूपमा केरा खेती प्रारम्भ भएको हो ।  “खबरामा केरा खेतीको सुरुवात भएको २७ वर्ष भयो । तीन वटा केराका बिरुवा लगाएर सुरु भएको केरा खेती अहिले पाँच सय रोपनी भन्दा बढी जग्गामा फैलिएको छ । गाउँको नाम नै परिवर्तन भएर ‘खबरा’ बाट ‘केरा गाउँ’ भनेर चिनिन थालेको छ ।”

खबराका तेजेन्द्रबहादुर कार्कीले २३ रोपनी बाँझो जमिनमा केरा खेती गरेका छन् । वर्षौँदेखि बाँझो रहेको जमिनलाई उपयोगमा ल्याउने अभियानमा लागेका कृषक कार्कीले भिरालो र खोल्साखोल्सीको झाडी फँडानी गरी धमाधम केरा लगाउँछन् । कृषक कार्कीले केरा बिक्री गरेर वार्षिक रु सात लाखसम्म आम्दानी हुने गरेको बताए ।

“भिरालो जमिनमा मल, जल नअडिने, बाली लगाउन समस्या भएर बारीहरू बाँझै छाड्ने गरेका  थियौँ तर, केही वर्षयता सोही जमिनलाई उपयोग गरेर केरा खेती सुरु गरेपछि अहिले गाउँ नै केरा खेतीले भरिएको छ । केराको हरियालीले गाउँ आकर्षक देखिएको छ भने स्थानीयको आम्दानीको मुख्य स्रोत पनि केरा खेती नै बनेको छ” कृषक कार्कीले भने ।

स्थानीय यामबहादुर घिमिरे, जगत् घिमिरे, प्रेम कुँवर, चन्द्रबहादुर कार्की, शोभित शर्मा, तेजेन्द्र कार्कीलगायत २० जना कृषकले व्यावसायिक रूपमा केरा खेती गरेका छन् । केरा खेती फस्टाउँदै मुख्य आम्दानीको स्रोत बन्न थालेपछि स्थानीय अन्य अन्नबालीलाई विस्तार घटाउँदै केरा खेतीमै केन्द्रित हुन थालेको कृषक कार्कीको भनाइ छ । “बाँझो जमिनमा केरा नलगाएको घर नै छैन,” अर्का कृषक जगत्बहादुर घिमिरेले भने ।

खबराका किसानले केरा बिक्री गरेर वार्षिक रूपमा न्यूनतम रु ३० हजारदेखि रु १० लाखसम्म आम्दानी गर्दै आएका बेनी नगरपालिका–२ का वडाध्यक्ष यामबहादुर कार्की बताउँछन् । अनुकूल हावापानी, उपयुक्त वातावरण, बजारको सुविधा र पर्याप्त आम्दानी हुने भएकाले व्यावसायिक केराखेतीतर्फ यहाँका किसानहरुको आकर्षण बढेको उनी बत्ताउँछन् । खबरामा बाइस नङ्ग्रे, माल ढुङ्गे, ध्रुसे, चिनीलगायत प्रजातिका केरा खेती हुने गरेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।