ताजा अपडेट »

८ वर्षदेखि अलपत्र बुटवलको सडक निर्माणका लागि नयाँ ठेक्का, केही दिनमै काम सुरु हुने

मंगलबार, २९ असोज २०८१, ११ : १०
1.44K Shares
मंगलबार, २९ असोज २०८१
1.44K Shares

बुटवल । विगत ८ वर्षदेखि अलपत्र बुटवलको मुख्य सडक राजर्माग चौराहादेखि चिडियाखोलासम्मको सडक निर्माणका लागि नयाँ ठेक्का सम्झौता भएको छ । कञ्चनजंघा बिरुवा जेभी काठमाडौँसँग सम्झौता तोडेर सडक विभागले नयाँ ठेकेदारसँग बुटवलको चौराहादेखि चिडियाखोलासम्मको सडक निर्माणका लागि सम्झौता गरेको हो ।

कञ्चनजंघा बिरुवा जेभीसँग वि.स. २०७३ साल चैत्र १७ गते २०७६ सम्ममा सडक विस्तार सक्ने ठेक्का सम्झौता भएको थियो । तर, ८ वर्षसम्म पटक–पटक म्याद थप्दासमेत सडक विस्तार सम्पन्न नभएपछि गत वैशाखमा डिभिजन सडक कार्यालय बुटवलले उक्त ठेक्का रद्द गरेको थियो ।  बिरुवा जेभी काठमाडौंले ५३ करोड ९७ लाख ९९ हजार ४०० रुपैयांमा ठेक्का सम्झौता गरेकोमा ८ वर्षमा जम्मा ५४ प्रतिशत मात्र काम गरेको थियो ।

सडक डिभिजन कार्यालय बुटवलका सुचना अधिकारी महेश्वर लम्सालका अनुसार बावुल दर्शन मालिका जेभी भैरहवाले निर्माणको जिम्मेवारी पाएको छ । उक्त निर्माण कम्पनीले वि.स. २०८२ असोज मसान्त भित्र काम सम्पन्न गर्ने गरी यही असोज १८ गते ठेक्का सम्झौता भएको सडक डिभिजन कार्यालय बुटवलका सुचना अधिकारी लम्सालले बताए । सडक डिभिजन कार्यालय साउनमा ६ महिना भित्र काम सम्पन्न गर्ने गरी टेन्डरको आह्वान गरेको थियो ।

सो साढे ३ किलोमिटरको सो ६ लेन सडक  विस्तार गर्न लागि भ्याटसहित ३३ करोडमा ठेक्का सम्झौता भएको सुचना अधिकारी लम्सालले बताए । सम्झौता अनुसार निर्माण कम्पनीले अब एक हप्ता भित्रबाट नै काम सुरु गर्ने उनले बताए । “यही १८ गते ३३ करोडमा ठेक्का सम्झौता भएको हो । अबको अबको एक हप्ता अर्थात पूर्णिमा लगतै सडक निर्माणको काम सुरु हुन्छ,” उनले भने ।

फुटपाथ तीन मिटर, सर्भिस लेन सात मिटर, ग्रीनबेल्ट र स्टल साढे दुई मिटर र मुख्य लेन साढे १० मिटरको हुने सुचना अधिकारी लम्सालले बताए । सडकमै नाइट स्टल राख्न मिल्ने पनि बनाइने उनले बताए ।

बुटवल उमपहानगरपालिका प्रमुख खेलराज पाण्डेयले बुटवलको राजर्माग चौहरादेखि चिडियाखोलासम्मको निर्माण लामो समयसम्म अलपत्र हुँदा बुटवलवासीले सास्ती पाएको बताउँदै अब भने समस्यामा नै निर्माणको काम सम्पन्न गर्नु पर्ने बताए । सडक निर्माण गर्दा बुटवल उपमहानगरपालिकाले निर्माण कम्पनी र सडक डिभिजनलाई आवश्यक पर्ने सबै प्रकारको सहजीकरण गर्ने बताए ।

साथै प्रमुख पाण्डेयले २ ३ दिन भित्रमा नै सडक निर्माण कम्पनी र सडक डिभिजन कार्यालयसँग बुटवल उपहानगरपालिकाले के के सहयोग गनुपर्छ भनेर छलफलका लागि बोलाउने बताए । “सडक निर्माण नहुँदा यसले बुटवलको सुन्दरता नै विगारेको छ । यसकारणले नयाँ निर्माण कम्पनीले तोकिएको समयमा काम सम्पन्न गर्नु पर्छ । आवश्यक पर्ने सबै प्रकारको सहजिकरणका लागि म तयार छु,” उनले भने ।  

बुटवल बेलियादेखि चिडिया खोलासम्म पर्ने ६ लेन सडक अहिले चौराहासम्म भने निर्माण सम्पन्न भइसकेको छ ।
    

 

बसन्त आचार्य
लेखकको बारेमा
बसन्त आचार्य

आचार्य ग्लोबल आवाज अनलाइनका डेस्क संयोजक हुन् ।