ताजा अपडेट »
साहसीक पर्यटन

साहसिक पर्यटनका लागि "थोराङ्ला पास" ट्रेक

मंगलबार, २९ असोज २०८१, ०९ : ०५
104 Shares
मंगलबार, २९ असोज २०८१
104 Shares

म्याग्दी । शरद यामको सुरुआत र मनसुन निष्क्रिय हुँदै गएपछि खुल्न थालेको आकाश । अग्ला र नाङ्गा डाँडाको पृष्ठभूमिमा जता हेरे पनि देखिने हिमशृङ्खला । हिमाली बुकीको चरन खर्कबाट बेसी झर्दै गरेका चौँरी, याक, भेडाच्याङग्रा र घोडाका बथान ।

विविधतायुक्त भूगोल, संस्कृति, प्रकृतिको सङ्गम र साहसिक मानिने थोराङ्ला भञ्ज्याङको पदयात्राको आकर्षण हो । थोराङ्ला भञ्ज्याङ समुन्द्री सतहदेखि पाँच हजार चार सय १६ मिटर उचाइमा छ । गण्डकी प्रदेशको लमजुङ, मनाङ, मुस्ताङ, म्याग्दी र कास्की जिल्ला समेटिएको अन्नपूर्ण चक्रीय पदमार्गको सबैभन्दा उच्च स्थानमा रहेकाले थोराङ्लालाई साहसिक गन्तव्यका रूपमा लिइन्छ ।

शरद यामको सुरुवातसँगै मनाङदेखि थोराङ्ला झञ्ज्याङ पार गरेर मुस्ताङतर्फ जाने आन्तरिक तथा बाह्य पर्यटकहरूको चहलपहल बढेको उपल्लो मनाङका होटेल व्यवसायी समेत रहेका जिल्ला समन्वय समिति मनाङका सदस्य घ्याचो गुरुङले बताए ।

16493220052_b8e56cc941_c

“थोराङ्ला र तिलिचो ताल घुम्न आउने मुख्य याम शरद र वसन्त नै हो”, उनले भन्नुभयो, “पहिले पथप्रदर्शक र भरिया बाहेक अधिकांश विदेशी पर्यटक मात्र आउने थोराङ्ला पदयात्रा पछिल्लो समय नेपालीहरूको पनि रोजाइमा परेको छ ।” थोरङ्ला ला भनेको तिब्बती भाषामा पास हो । शाब्दिक रूपमा यात्राको उच्च बिन्दु हो ।

दसैँ तिहारको बिदामा थोराङ्ला र तिलिचो घुम्नका लागि देशका विभिन्न ठाउँबाट कर्मचारी, व्यापारी, विद्यार्थीहरूको टोली आउने क्रम बढेको गुरुङले बताए । सडक यातायात, आवास तथा होटेलको व्यवस्था, पदमार्गको स्तरोन्नति, सञ्चार सुविधा विस्तार, डिजिटल मार्केटिङ र भ्रमणसम्बन्धी अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले घुम्नै पर्ने गन्तव्यमा सूचीकृत गरेका कारण अन्नपूर्ण चक्रीय पदमार्गमा पर्यटकको आकर्षण बढेको हो ।

मनाङदेखि थोराङ्ला हुँदै मुस्ताङ भ्रमण गरेर फर्किएकी काठमाडौँकी जुली श्रेष्ठले मनमोहक हिमशृङ्खला, विविधतायुक्त भूगोल, संस्कृति, रहनसहन, धार्मिक तथा वस्तुकला अवलोकन गर्न पाउँदा रमाइलो महसुस भएको अनुभव सुनाइन्। यात्रामा अन्नपूर्ण प्रथम द्वितीय र चौथो धौलागिरिको साथै माछापुच्छ्रे, मनास्लु, अन्र्णूर्ण, तिलिचो चुचुरो अन्य हिमाल देख्न सकिन्छ ।

16493220052_b8e56cc941_c

“तिलिचो यात्रा हुँदै थोरङ्ला पास गरेर मुक्तिनाथ झर्नु साहसिक यात्रा हो”, श्रेष्ठले भन्नुभयो, “अन्नपूर्ण सर्किटमा थोरङला सबैभन्दा उच्च स्थान भएकाले जोखिमपूर्ण पनि छ ।” चामेदेखि पाँच दिनको यात्रा गरेर थोराङ्ला हुँदै मुस्ताङको मुक्तिनाथ झर्न सकिन्छ । लामो अवधिको पदयात्रा गर्न चाहनेले लमजुङको बेशीसहरदेखि नै यात्रा सुरु गर्न सक्छन् ।

धेरैजसो पदयात्रीहरू गाडीबाट चामे पुगेर त्यहाँदेखि हिँड्ने गर्छन् । चामेबाट अपर पिसाङ र मनाङमा बास बस्ने गर्छन् । यहाँ बास बरेर पदयात्रीहरूले शरीरलाई त्यहाँको वातावरणसँग अनुकूलता मिलाउन सकिन्छ । माथिल्लो मनाङदेखि करिब चार घण्टाको पैदल यात्रा गरेर चार हजार ३६ मिटर उचाइको याक खर्क पुगिन्छ । छिनछिनमा बादल र घाम लाग्ने याक खर्कमा चौरीगाईको खर्क छन् । यहाँ इन्टरनेट सुविधा भएका होटेल र लज पनि छन् ।

Untitled-1

याक खर्कदेखि सात दशमलव तीन किलोमिटर यात्रा गरेपछि समुन्द्री सतहदेखि चार हजार चार सय ५० मिटर उचाइमा रहेको थोराङ्ला फेदीमा पुगिन्छ । थोराङ्ला फेदीदेखि चारदेखि पाँच घण्टा यात्रा गरेपछि चार हजार आठ सय छ मिटर उचाइको थोराङ्ला हाई क्यापमा पुगिन्छ ।

होटलहरुको सुविधा भएको हाई क्यापमा बास बसेका पर्यटकहरू बिहान उज्यालो नहुँदै थोराङ्लातर्फको यात्रामा निस्कन्छन् । दिउँसो हावाहुरी चल्ने र मौसम खराब हुने भएकाले बिहानै थोराङ्ला पुग्नका लागि राति नै यात्रा गर्नुपर्ने पथप्रदर्शक सन्देश अधिकारीले बताउँछन् । हाई क्याम्पदेखि थोराङ्ला हुँदै करिब १३ घण्टाको यात्रा गरेपछि तीन हजार सात सय ६२ मिटर उचाइमा अवस्थित मुस्ताङको वारागुङ मुक्ति क्षेत्र गाउँपालिका–१ मा रहेको हिन्दु तथा बौद्ध धर्मावलम्बीहरूको साझा तीर्थस्थल मुक्तिनाथमा पुगिन्छ ।

सन् १९७० मा पदयात्राका लागि खुल्ला गरिएको थोराङ्लामा पछिल्लो समय विदेशीसँगै नेपाली पर्यटकहरू पनि आकर्षित भएका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को जोमसोमस्थित कार्यालयका प्रमुख प्रमोदराज रेग्मीले बताए । उनका अनुसार आर्थिक वर्ष २०८०-८१ मा १३ हजार नौ सय १० जना विदेशी पर्यटकले थोराङ्ला पास गरेर मनाङ हुँदै मुस्ताङ आएका थिए ।

thorong-la

उक्त आर्थिक वर्षको साउनदेखि असोजसम्म दुई हजार दुई सय ४२ जनाले थोराङ्ला पार गरेका थिए । चालु आर्थिक वर्षको असोज तेस्रो हप्तासम्म थोराङ्ला पार गरेर मुस्ताङ आउने पर्यटकको सङ्ख्या एक हजार सात सय ८१ जना रहेको एक्याप जोमसोमका प्रमुख रेग्मीको भनाइ छ ।

अन्य ठाउँमा सडकका कारण पदमार्गहरू विस्थापित भएपनि थोराङ्लामा सडक पुग्ने सम्भावना नरहेकाले यसको दीर्घकालीन पर्यटकीय सम्भावना रहेको वारागुङ मुक्ति क्षेत्र गाउँपालिकाका अध्यक्ष रिन जिन नामग्याल गुरुङको भनाइ छ । गाउँपालिका र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले थोराङ्लादेखि मुक्तिनाथ झर्ने मुस्ताङ तर्फको पदमार्ग स्तरोन्नति गरिरहेको उनले बताए ।

रासस
लेखकको बारेमा
रासस