ताजा अपडेट »
नेपाली बजारमा मुस्ताङ र जुम्लाका स्याउ

बुटवलमा दसैँमा मुस्ताङ र जुम्लाका स्याउ एक करोड भन्दा बढीको बिक्रि

सोमबार, २८ असोज २०८१, १८ : ००
0.98K Shares
सोमबार, २८ असोज २०८१
0.98K Shares

बुटवल । विगतका वर्षमा बजार नपाए कुहिएर नाश हुने गरेका मुस्ताङ र जुम्लाका स्याउले अहिले भने राम्रो बजार पाएका छन् । यस पटकको दसैँमा नेपाली बजारमा जुम्ला, मुस्ताङ र हुम्लाका स्याउले बजार जमाउन सफल भए । नेपाली वजारमा जुम्ला, मुस्ताङ, हुम्लाका स्याउ सहजै भित्रिएपछि विदेशी स्याउको मार्केट भने खस्केको छ।

बुटवल लगायत देशभरका वजारमा स्वदेशी स्याउ बजारमा आएपछि भारत र चीन दुवै ठाउँबाट आउने स्याउको बिक्री निकै कम भएको छ । भारत र चीनबाट भित्रिएको स्याउको मुल्यको तुलनामा नेपाली स्याउको मूल्यपनि कम हुनुका साथै स्वच्छ भएको हुँदा नेपाली स्याउले राम्रो बजार लिन सफल भएको हो  । चीन र भारतको स्याउ बढी खपत हुने गरेको बुटवलमा अहिले जुम्ला र मुस्ताङको स्याउले जताततै बजार पायो ।

बुटवल कृषि उपज व्यवस्थापन समितिको अध्यक्ष धनश्याम भुसालले नेपाली स्याउले अहिलेसम्मकै सबै भन्दा धेरै बजार पाएको बताए ।  दसैँमा विक्रि भएको स्याउ मध्य ७० प्रतिशत भन्दा धेरै नेपाली स्याउ विक्रि भएको र बजारमा नेपाली स्याउको माग उच्च रहेको उनी बताउँछन् ।

साथै बुटवलको कृषि उपज केन्द्रबाट घटस्थापनादेखि आज सोमबारसम्म १ करोड भन्दा बढीको नेपाली स्याउ विक्रि भएको अध्यक्ष भुसालले बताए । जुम्ला र मुस्ताङको स्याउले हालसम्मकै राम्रो बजार भएको छ । “दसैँमा बुटवलमा विक्रि भएका स्याउ मध्य ७० प्रतिशत भन्दा बढी स्याउ नेपाली विक्रि भयो । चीनसँगको नाका बन्द हुँदा यसको फाइदा नेपाली स्याउले पायो । अब हामीले नेपाली उत्पादनलाई नै प्रोत्साहन गर्नुपर्छ,” उनले भने ।

जुम्लाको स्याउको तुलनामा मुस्ताङको स्याउको बजार मूल्य राम्रो रहेको उनले बताए । जुम्लाको स्याउ प्रतिकिलो १००देखि १२० र मुस्ताङको स्याउ ग्रेडिङ गरेर प्रतिकिलो ३०० देखि ३२० रुपियाँसम्ममा बिक्रि भएको अध्यक्ष भुसाल बताउँछन् । जबकी भारतको स्याउको प्रतिकिलो मूल्य ३०० देखि  ३५० सम्म रहेको थियो ।

यस्तै लुम्बिनी फलफुल व्यवसायी संघका अध्यक्ष बाबुराम भुसालले पनि यस पटक भारतीय स्याउको तुलनामा बुटवलबाट धेरै नेपाली स्याउको विक्रि भएको बताए । उनले विदेशी स्याउको तुलनामा  मूल्य पनि कम रहुनुका साथै नेपाली स्याउमा विषादीको प्रयोग नभएकाले स्वास्थ्यका लागि पनि फाइदाजनक रहेको बताए । “यस पटकको दसैँमा बुटवलको बजारमा नेपालमा उत्पादन भएको जुम्ला, मुस्ताङ, हुम्लाका स्याउ धैरे विक्रि भएको छ । मूल्य पनि सस्तो स्वास्थ्यका लागि पनि राम्रो नेपाली स्याउ छ,” उनले भने ।

साथै आफुहरुले पनि विदेशी भन्दा पनि नेपाली स्याउलाई प्राथमिकता दिएर विक्रि वितरण गर्ने अध्यक्ष भुसाल बताउँछन् ।  व्यवसायीहरुले पसलमा जुम्ला र मुस्ताङको स्याउ नै माग्न थालेपछि अन्य स्याउ राख्नै छाडेको बताउँछन् ।बुटवलस्थित कृषि उपज केन्द्रमा जुम्लाबाट सिधै व्यापारीले कर्णालीका स्याउ बुटवल पठाउने गरेको हुँदा व्यापार निकै फस्टाएको छ ।

वजारमा विक्रि गर्ने क्रममा पसलले नै ग्राहकलाई जुम्ला र मुस्ताङकै लैजान भन्ने गरेको अरू स्याउ हराएको छ । बुटवल भैरहवामा मात्र नभई नेपालसंग सिमा जोडिएको भारतको सुनौली, नौतनुवासम्म पनि कर्णालीका स्याउ बिक्री भइरहेको पाइएको छ ।

 

बसन्त आचार्य
लेखकको बारेमा
बसन्त आचार्य

आचार्य ग्लोबल आवाज अनलाइनका डेस्क संयोजक हुन् ।