ताजा अपडेट »

आफ्नै मिहेनतले भुईँबाट उठेका गायक दुर्गेश थापा

सोमबार, २८ असोज २०८१, १५ : ४३
110 Shares
सोमबार, २८ असोज २०८१
110 Shares

गण्डकी । आफ्ना सिर्जनाका कारण चर्चा र विवादमा तानिइरहने गायक तथा मोडल दुर्गेश थापा अहिले आत्म समीक्षा गर्ने ठाउँमा आइपुगेका छन। गत तीजको छेकोमा उनी द्वारा अभिनीत गीत ‘झुम्का हरायो...’को म्युजिक भिडियो सार्वजनिक समारोहमा गायक थापाले दिएको अभिव्यक्ति त्यसकै सार थियो । त्यो बेला थापाले भनेका थिए, “अबदेखि उटपट्याङ खालको सिर्जना गर्दिन, सबैलाई पाच्य हुने खालको गीत मात्र गाउँछु ।”

उनले उक्त अभिव्यक्तिलाई तीजका अवसरमा अस्ट्रेलियामा भएको साङ्गीतिक कार्यक्रममा प्रस्तुति दिने क्रममा पनि पुनः दोहोराएका थिए । भिन्न गायन शैलीका कारण आफू चर्चित हुँदाहुँदै पनि कतिपय गीत विवादमा परिरहेको पृष्ठभूमिमा उनले गरेको आत्म समीक्षाले उनको कलाकारितालाई के नयाँ मोड दिन सक्छ ? “उमेर, अनुभव, सङ्गत आदिले आफू नयाँ चरणमा आइपुगेको अनुभूति भएको छ”, ३७ वर्षीय थापाले भने, “सुरुआत र सङ्घर्षकालमा भन्दा अझ परिमार्जित र परिपक्व ढङ्गले दर्शक-स्रोतमाझ आउन खोजिरहेको छु ।”

अठार वर्षको सिर्जनात्मक मिठा नमिठा क्षणहरू गुजारेका उनी सङ्घर्षको भट्टीबाट खारिएर आएका प्रतिभा हुनु । युवा र किशोर पुस्तामाझ बढी लोकप्रिय थापाले डान्सबारेदेखि चलचित्रसम्मको अनुभव बटुलेका छन। २०६३ साल तिर गृह थलो बागलुङको गलकोट नगरपालिका–७ मल्मदेखि काठमाडौँ पुग्दा उनीसँग केबल एउटा सपना थियो, मोडल बन्ने । समय क्रममा उनीअभिनय हुँदै गायनतिर माेडीए ।गायक तथा सर्जक वसन्त थापाको साथ लागेर पहिलो पटक राजधानी छिरेका उनको अपरिचित सहरमा सङ्घर्ष सुरु भयो । “अग्रज कलाकार, मेरो आदरणीय दाइ वसन्त थापासँग म पहिलो पटक काठमाडौँ गएको हुँ, कलाकारितामा मलाई ताते ताते गराउनुभएको उहाँले नै हो”, थापाले भने, “एउटा अभिभावकसँगै कला क्षेत्रको गुरुका रूपमा म उहाँलाई आदर गर्छु ।” बुबा भारतीय सेनाबाट निवृत्त भएकाले परिवारको पनि चाहना भर्ती होस् अथवा कतै जागिर गरोस् भन्ने नै थियो । थापाले त्यसका लागि प्रयास नगरेका पनि होइन ।

विद्यालय तहको पढाइ सकेर उनी भारतीय सेनामा भर्ती हुने सोचले बनारस पुगे । त्यो बेला माइला बुबा पनि भारतीय सेनामा कार्यरत रहेकाले भर्ती हुन सजिलो हुने ठानेर केही वर्ष बनारसमै बसे । केही समयपछि लाहुरेको सपना त्यागेर उनी घर फर्किए । घरमा आएपछि अरू कुरा केही नसोची उनी काठमाडौँ हानिए । गलकोट, मल्ममै जन्मीएका गायक विष्णु खत्री, वसन्त थापा लगायतबाट सानैदेखि प्रभावित उनले काठमाडौँमा भुईँदेखि सङ्घर्ष सुरु गर्नुपर्यो । कहिले चलचित्रमा कोरस नाचे त कहिले डान्सबारमा । नृत्य र अभिनय प्रशिक्षणका अलावा उनी बिस्तारै अनुभवले पनि खारिँदै गए ।

विसं २०६५ मा गायक विमल डाँगीको दसैँ गीतको म्युजिक भिडियोमा थापाले पहिलो नृत्य र अभिनय गरेका थिए उनले । “गाउँको असली दुर्गे त्यो भिडियोमा देख्न सकिन्छ, उहिलेको त्यो दुर्गे अहिले दुर्गेश भइसक्यो”, ठट्यौली शैलीमा उनी भन्छन् । गाउँमा छँदा बालापनका साथीले दुर्गे भनेर बोलाउने गरेको उनी सम्भछन। नृत्य र अभिनयबाट अघि बढेका थापाले पछि गायनमा पनि हात हात हाले । पूर्णकला बिसीसँग मिलेर थापाले पहिलो लोकदोहोरी गीत ‘अँधेरीमा जुन लाएको हो...’ गाएका हुन ।

त्यसअघि उनले ‘आफू हाँसे संसार हसाउँछ...’, ‘नघाम लाउनी, न पानी पर्नी...’लगायत गीतमा शब्द र सङ्गीत भरेका थिए । त्यो बेला आफूले सिर्जना गरेका केही गीत गाउन चाहँदा पनि स्वर चल्दैन भनेर गाउन नपाएको गुनासो उनी गर्दछन । अभिनय र गायनलाई सँगसँगै डोर्याएका  थापाले हालसम्म ४५ गीतमा आफ्नाे स्वर दिएका छन भने १५ सयबढी म्युजिक भिडियोमा अभिनय पनि गरेका छन । 

नेपाली म्युजिक भिडियोमा अहिले पनि उनी चल्तीका मोडल हुन । रामचन्द्र काफ्लेको स्वरमा रहेको ‘माया लाएर के भो...’ गीतको म्युजिक भिडियोबाट थापा मोडलका रूपमा बढी चिनिएका हुन । थापाले आधुनिक, लोकदोहोरी, पपलगायत गीतका म्युजिक भिडियोमा अभिनय समेत गरेका छन । ‘डाँडै बिसौनी...’, ‘जूनले मात्र देख्छ...’, ‘हाँस्न सिकायौ..’लगायत उनीद्वारा अभिनीत चर्चित लोकदोहोरी गीत हुन् । पछिल्लो समय थापाले नायिका प्रियङ्का कार्की र गरिमा शर्मासँग मिलेर तीज गीत ‘झुम्का हरायो...’मा नृत्य तथा अभिनय गरेका थिए ।

“सङ्गीत क्षेत्रमा यति छिट्टै स्थापित हुन्छु जस्तो लागेको थिएन, तर सङ्घर्ष गर्दै जाँदा सम्भव हुँदो रहेछ”, गायक थापाले भने “यसको श्रेय म मेरो अभिभावक र दर्शक-श्रोतालाई दिन चाहन्छु ।” काठमाडौँ जस्तो सपनाको सहरमा उनलाई अनेक अवरोध पनि नआएका होइनन् । तर उनले बाधाहरू सजिलै पन्छाए, रोक्नुए र आफ्नो सत्मार्ग  पहिलाए । सुरुआत कालमा रेस्टुराँ र बारमा नृत्यकारको रूपमा काम गरेका उनी अहिले अभिनय र सङ्गीतमा सिद्धहस्त बनेका छन । काठमाडौँको ठमेल र दरबारमार्गका डान्सबारमा नाचेका ती दिनको सम्झनाले अझ यो क्षेत्रमा राम्रो गर्न प्रेरित गर्ने उनी बताउछन ।

डान्स बारमा काम गर्दागर्दै अभिनयमा छिर्ने र चलचित्रमा काम गर्ने सोख पलाएपछि आफूले नियमित नृत्य र अभिनय प्रशिक्षण लिन थालेको थापाले सुनाए ।“मेरो अभिनयको यात्रामा ‘जुनले मात्र देख्छ...’ बोलको गीतले राम्रो मोड दिएको हो, उक्त गीतबाट धेरै दर्शकको माया र सद्भाव पाउन सकेँ’, उनले सम्झीए, “त्यसपछि ममा झन् अभिनयमै प्रतिबद्ध भएर लाग्ने सोच आयो, मलाई आफूभित्रको म भेटाए झैँ लाग्यो ।”गायनमा पनि उनको भिन्न पहिचान छ ।

पाँच वर्षअघि थापाले गाएको तीज गीत ‘हामी पनि नाच्नु पर्छ बीचबीचमा...’ त्यो बेला चर्चित बनेको थियो । जुन गीतको म्युजिक भिडियोलाई हालसम्म झण्डै दुई करोड पटक हेरिएको-सुनिएको छ ।उक्त गीतलाई सातौँ संस्करणसम्म निरन्तरता दिएका थापाले यसै वर्षदेखि उक्त गीतको सिलसिलालाई अन्त्य गर्ने घोषणा गरेका थिए।

थापाले पछिल्लो समय चलचित्रका गीतमा पनि स्वर तथा सङ्गीत दिएका छन । पहिलोपटक दीपक-दीपाको चलचित्र ‘छ माया छपक्कै..’मा प्रमोशनल गीत गाएका थापाले आगामी कात्तिकमा प्रदर्शन हुने चलचित्र ‘ह्रस्वदीर्घ’मा गाएको गीत ‘उठेर नाचिस्यो...’ अहिले युट्युबमा चर्चित छ । सदीक्षा कट्टेलसँगको युगल गायन रहेको उक्त गीतमा शब्द र सङ्गीत पनि थापाकै रहेको छ । प्रदर्शनका क्रममा रहेको ‘रङ्गी’ चलचित्रको ‘छ भने माया हाइ भन...’ गीतको सङ्गीत र शब्द पनि उनले रचना गरेका हुन । उक्त गीतमा गायक आनन्द कार्की र गायिका सुरक्षा केसीले स्वर दिएका छन ।

गायकभन्दा बढी स्टेज परफर्मरका रूपमा आफूलाई चिनाउन चाहने थापाले गीत गायकै आधारमा प्रतिबन्धसमेत झेल्नुपर्याे। केही वर्षअघिको तीज गीतमा प्रयोग भएको शब्दलाई लिएर राष्ट्रिय लोक तथा दोहरी गीत प्रतिष्ठानले उनलाई कार्यक्रमहरुमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । तिहारका बेला थापाले सार्वजनिक गरेको ‘हेप्पी तिहार...’ बोलको गीत पनि आलोचित भएपछि विवादित अंश सम्पादन गरेर पुनः युट्युबमा अपलोड गर्नुपरेको थियो । “निश्चित उमेर समूहलाई लक्षित गरेर गाउँदा कतिपय गीत समाजलाई पाच्य नहुँदो रहेछ, श्रोता-दर्शकको आलोचना र सुझावले मलाई नयाँ ढङ्गले अघि बढ्न प्रेरणा दिएको छ”, उनले भने ।

चलचित्र ‘द ब्रोकन हर्ट’मा अभिनय गरेका थापाले चलचित्र अभिनयको क्षेत्रलाई भने सोचे जसरी अगाडि बढाउन सकेका छैनन् ।अभिनय सँगसँगै गायनमा लागेपछि उनले साङ्गीतिक यात्राका क्रममा देश तथा देशाबाहीर घुम्ने अवसर पाएका छन।अष्ट्रेलियादेखि जापान र हङ्कङदेखि इराकसम्मका सहरमा थापाले आफ्नो साङ्गीतिक प्रस्तुति दिइसकेका छन । देशभित्रका मेला-महोत्सवमा पनि उहाँलाई भ्याइनभ्याइ हुने गरेको छ ।

उनलाई युट्युबबाट पनि राम्रो कमाइ हुन्छ । ‘दुर्गेश थापा’ नामको युट्युबमा सस्क्राइबरको सङ्ख्या दस लाखबढी पुगेको छ । ‘विन्ध्यवासिनी म्युजिक अवार्ड’, ‘ज्योति अवार्ड’लगायत दर्जनौँ अवार्ड तथा पुरस्कारबाट थापा सम्मानित भएका छन ।


---

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।