ताजा अपडेट »

टीकाको अघिल्लो दिन जब जवान छोराको शव आयो...

शनिबार, २६ असोज २०८१, १० : ५५
250 Shares
शनिबार, २६ असोज २०८१
250 Shares

दमौली । तनहुँको व्यास नगरपालिका–२ दमौली निवासी २९ वर्षीय विराट पन्थ पाइलट पढ्न दक्षिण अफ्रिका पुगेका थिए । एक वर्षअघि त्यहाँ पुगेका पन्थले १० महिने कोर्ष पूरा गरिसकेका थिए । आठ महिनापछि उनी पाइलट बन्दै थिए ।

छोरोको पाइलट बन्ने सपना पूरा हुने क्रममै रहेकाले यसपटकको दसैँ पनि विगतको भन्दा थप उल्लासमय हुने अपेक्षामा रहेकाे थियो पन्थ परिवार ।  तर त्यो  अपेक्षा भने सीमित हुन पुगेको छ । विजयादशमीको पहिलो दिन अर्थात् घटनास्थापनमा भएको दुर्घटनामा परी विराट सधैँका लागि उतै अस्ताए ।

यता नेपालमा पन्थ परिवार दसैँका लागि घटस्थापनाकाे दिन जमराको चाँजोपाँजो गर्दै थिए । उता असोज १७ गते घटनास्थापनाका दिन बिराट आफैँले चलाएको कार दुर्घटनामा परी सधैँका लागि अस्ताएकाे त्यहीबेला खबर आयो, । साथीको जन्मदिन मनाउन जाँदै गर्दा दुर्घटनामा परी उनकाेको निधन भएको जनाइएको छ ।
    
सबै कानुनी प्रक्रिया पूरागरी पन्थको शव बडादसैँको नवौँ दिन शुक्रबार राति दमौली स्थित घरमा ल्याइ राति नै दमौलीस्थित मादीसेती घाटमा दाहसंस्कार गरिएको छ । दसैँका बेला खुसीयाली हुनुपर्ने परिवार यतिबेला शोकमा डुबेकाे छ । बुबा अधिवक्ता गोविन्द पन्थ र आमा टीकादेवी पन्थलगायत परिवार शोकको पीडा व्यक्त गर्ने अवस्थामा छैनन् । आफन्त ईश्वरराज पन्थले भने, “ठूलो सपना बोकेर घर छोडेको छोराको शव आँगनमा आउँदा कस्तो भयो होला एक अकल्पनीय घटनाले सबैलाई विक्षिप्त बनाएको छ ।”

छिमेकी नन्दन श्रेष्ठले विराटको अकल्पनीय अवसानले आफूहरू स्तब्ध भएको बताए । “आशाका मुनामा तुषारापात भएको छ । परिवारको सपना सपनामै रहेको छ । आत्मा अमर छ, शरीरमा आत्माको यात्रा अनन्त छ । बाबु विराटको आत्माले शान्ति पाओस्”, उनले भने।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।